बिष्णुप्रसाद पोखरेल
दमक । झापामा निर्माण मजदूर तथा पेन्टिङ गर्ने कामदारहरुको अभाव भएको छ । निर्माण मजदूरहरुको अभावले बिकास निर्माण लगायत घर तथा भवन बनाउने कामहरु समेत प्रभावित भएको निर्माण ब्यवसायिहरुले जनाएकाछन् । यता बनिसकेका घरहरुमा पेन्टिङ लगाउने कामदार नपाउदा रङरोगनको काम पनि प्रभावित भएको बताईएको छ ।
पूर्वी नेपालमा बसोबास रहेका एकलाख भन्दा बढि भुटानी शरणार्थीहरु तेश्रो देश पुर्नबास भएपछि झापामा मजदुरको चरम अभाव शुरु भएको बताइन्छ । झापाको दमक र मोरङको पथरीमा रहेका भुटानी शरणार्थी शिबिरका २५ हजारभन्दा बढि शरणार्थी ५ बर्षअघिसम्म कुनै न कुनै रुपमा शिबिर बाहिर आएर मजदुरी गर्दै आएका थिए । अहिले उनिहरु तेश्रो देश पुर्नबास भइसकेकाछन् ।
निर्माण ब्यवसायि संघ झापाका सह कोशाध्यक्ष चन्द्र खत्रीका अनुसार निर्माणको काममा मजदूरको अभाव हुने गरेको छ । भारतीय मजदूरहरुमा निर्भर रहने अवस्था आएको बताउदै मजदूरहरु नपाइदा निर्माण ब्यवसायिलाइ काम गर्न समस्या हुने गरेको खत्रीले जनाउनु भयो । उहाँका अनुसार झापामा दैनिक निर्माणको क्षेत्रमा मात्र झापामा दैनिक १५ हजारभन्दा बढि मजदूर आवश्यक पर्ने अनुमान गरिएको छ ।
भारतीय मजदुरमा झापाको निर्माणको काम निर्भर रहने अवस्था आएको र बालबालिकाको प्रयोग समेत बढ्न थालेको बताइएको छ । निर्माण ब्यवसायि नन्दिप्रसाद अधिकारीका अनुसार मजदुर अभावले गर्दा मजदूर खोसाखोस हुने अवस्था समेत सिर्जना भएको छ । निर्माण मजदुर अभाव हुदा धेरै निर्माणका कामहरु ढिला हुने गरेको र कतिपय शुरु हुनसाथ रोकिएका पनि उहाँ बताउनु हुन्छ ।
रङ रोगनमा पनि समस्या
झापामा रङ रोगन गर्ने मजदूरहरुको पनि अभाव रहेको छ । लामो समयदेखि दमकमा रङ रोगनको ब्यवसाय गर्दै आउनु भएका दमक उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य समेत रहनु भएका नबिन कुमार अग्रवालका अनुसार रङ रोगन गर्ने मजदूरहरु अभावले ब्यापार नै संकटमा पर्ने अवस्था रहेको छ । रङ किन्न आएका उपभोक्ताहरुले रङ रोगन गर्ने ब्याक्ति पनि खोजिदिन भन्ने गरेको तर नपाउदा रङ नै नलिइ जाने गरेको अग्रवालको भनाइ रहेको छ । भारतबाट आएका मजदूरहरुको पनि टुङ्गो नहुने गरेको र स्वदेशी मजदूर पाइनै छाडेको उहाँको भनाइ रहेको छ । दमकमा मात्र दैनिक ४ देखि ५ सयजनासम्म रङ रोगनका लागि मजदुरको आवश्यक पर्ने गरेको अग्रवाल बताउनु हुन्छ ।
मजदूरको पारिश्रमिक बढ्यो
निर्माणको क्षेत्रमा मजदूरको अभाव भएपछि रहेका सिमिति मजदूरले पारिश्रमिक भने धेरै पाउन थालेकाछन् । लामोसमयदेखि निर्माण मजदूरको क्षेत्रमा कार्यरत रहेका भवानी बराइलीका अनुसार पहिला साहुले दैनिक ४ देखि ५ सयदिन पनि अटेर गर्ने गरेकोमा अहिले ८ सय देखि १ हजारसम्म दिने गरेको उहाँ बताउनुहुन्छ । पहिला मजदूरलाइ बेवास्था गर्ने निर्माण ब्यवसायिहरु अहिले मजदूरलाइ मान सम्मान गर्ने क्रम पनि बढेको बताईन्छ । बाल मजदूरहरुलाइ पनि अहिले निर्माण ब्यववसायिले ५ देखि ६ सय रुपियासम्म दिने गरेको बताइन्छ । बिपन्न समुदायका परिवारले आफ्ना छोराछोरी लिएर नै निर्माणको काम आउने गरेकाछन् ।
महिला मजदूरलाइ बिभेद कायमै
निर्माणको क्षेत्रमा काम गर्ने महिला मजदूरले भने अझै पनि पुरुष सो सरह पारिश्रमिक भने पाउन सकेका छैनन् । एकै ठाँउमा एउटै कामको पनि फरक ज्याला हुने गरेको छ । दमकको निर्माणको क्षेत्रमा ५ बर्षदेखि कार्यरत रहनु भएका एक महिलाका अनुसार पुरुष मजदूरलाइ ८ सयदेखि १ हजार पाउने गरेकामा आफूहरुलाई ६ सयदेखि ८ सयभन्दा बढि नदिने गरेको ति महिला मजदूर बताउनुहुन्छ । नाम नबताउने उहाँका अनुसार यस बिषयमा आवाज उठाउदा निर्माण ब्यवसायिहरु मिलेर काम नै नदिने गरेको समेत अवस्था रहेको छ । पुरुष मजदूरको् तुलानामा महिला मजदूरको संख्या अत्यन्त न्यून रहेको छ ।
मजदूरको तथ्याङ्क छैन
स्थानीय सरकारको रुपमा रहेको स्थानीय तहले अहिलेसम्म आफ्नो क्षेत्रमा रहेका मजदूरहरुको तथ्याङ्क राख्न सकेको छैन । के कति मजदूरहरु आफ्नो क्षेत्रमा कार्यरत रहेकाछन् भन्ने कुनै निकायमा पनि याकिन तथ्याङ्क नरहेको पाइन्छ । दमक नगरपालिकाका इन्जिनियर तिर्थनारायण श्रेष्ठका अनुसार भुकम्प प्रतिरोधात्मक निर्माणको कामका लागि पछिल्लो समयमा तालिम प्रदान गर्न शुरु गरिएपछि तालिम लिएका मजदूरहरु बाहेक अरुको तथ्याङ्क राखिएको छैन । निर्माण क्षेत्रका मजदूरहरुको तथ्याङ्क र उनिहरुको अवस्थाको बिषयमा बिवरण राख्नु आवश्यक रहेको उहाँको भनाइ रहेको छ । यस बिषयमा नगरपालिकाले चासो दिने उहाँले जनाउनु भयो ।
गोरखापत्र दैनिक



