बिनु पोखरेल
काठमाडौंको टेकु भित्र छिर्ने सानो गल्लीका दायाँ बायाँ पार्टीहरुका चुनाव चिन्हका झण्डा लत्रिरहेका थिए । त्यसको भित्री वस्ती तःबहाल छिर्दा स–साना चोकमा उसैगरी टाँगिएका थिए उम्मेदवारहरुका तस्बिरसहितका तुल ब्यानगर । वस्तीबाट चुनावको रौनकता राष्ट्रिय सभागृहस्थित मत गणनास्थलमा चुलिएको थियो । कोही रेडियो सुन्थे, कोही मोवाइलमा अनलाईन न्युज पोर्टल खोलेर मत गणनाको नतिजा सुनिरहेका भेटिन्थे ।
शुक्रवार बिहानसम्मको नतिजामा मेयरका एमाले उम्मेदवार विद्यासुन्र शाक्य प्रतिस्पर्धी उम्मेदवार भन्दा १५ हजारले माथि थिए । गल्लीको पुरानो पसलमा सेल पकाइरहेकी एउटी दिदी नेवारी भाषामा ग्रहकसँग केही भनिरहेकी थिइन् । ग्रहक टेबुलमा सेल र तरकारी खाइरहेका थिए । उनको कुरा पछि थाहा भयो– ‘मैले भनेकै थिएँ, विद्यासुन्दरले १५ हजार भन्दा बढी भोट ल्याएर जित्छन् ।’ उनैलाई सोधँे– विद्यासुन्दरको घर कुन हो ? उनले छेवैको गेट देखाउदै भनिन्–उ त्यहि हो । सहरका टोल र गल्लीमा पनि चुनावी नतिजाको चर्चा भइरहेका बेला म तःबहालमा सूर्य झण्डा गाडिएको एउटा घरमा छिरेँ सुटुक्क । त्यो घर थियो काठमाडौं महानगरका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यको ।
विद्यासुन्दरको घरको गेटमा गएर मैले नक गरेँ । भित्रबाट अन्दाजी ४० वर्षकी लाग्ने महिला आइन् र सोधिन्– कस्लाई खोज्नु भयो ? मैले विद्यासुन्दर दाइलाई भेट्न आएको सुनाएँ । उनले मलाई पछि लगाउँदै माथि किचेनसम्मै लगिन् । भर्याङ देखि किचेनसम्मै बुद्धूर्तिहरु सजाइएको देखेपछि लाग्यो विद्यासुन्दर बुद्धका भक्त नै रहेछन् ।
उनको बैठकमा प्रवेश गर्दा उनी पनि मोवाइलमा कसैसँग मत गणनाको नतिजा सुनिरहेका थिए । चुनावी नतिजा आउँदै गर्दा भेटघाटहरु बाक्लै हुन थालेकाले मतगणनास्थलमा नबसी उनी आराम गर्न घर आएका रहेछन् । त्यसैले उनी शुक्रवार बिहान अवेरसम्मै सुते ।
विद्यासुन्दरसँग भेट भएपछि पत्नी सुचिता भान्छातिर लागिन् चिया बनाउँछु भन्दै । महानगरका हुनेवाला मेयरसँग पत्नीसँगै राखेर कुरा गर्नु थियो मलाई । त्यसैले कुरा गर्न हामी पनि सँगै गयौं भान्छा कोठातिरै । नेपाली संस्कृति र भाषामा आइए पढिसकेपछि विद्यासुन्दरकी पत्नी सुचिताले विद्यासुन्दरसँग बिहे गरेकी रहिछन् । विद्यासुन्दर राजनीति गर्ने परिवारमा समय दिन नसक्ने ।
त्यसपछि उनको पढाइमा ब्रेक लाग्यो । ०४९ सालकै चुनावमा वडाअध्यक्ष जितेका विद्यासुन्दर टोलबासीको काममा हिंड्ने भएपछि सुचिताको पढाई पनि समाज नै भयो । ‘मैले कलेज पढ्न छोडिदिएँ, उहाँसँग बिहे भएपछि समाज पढ्न थालेँ’ उनले भनिन्, ‘पुस्तक पढ्नु भन्दा समाज पढ्नु निकै गाह्रो रहेछ । जहिल्यै सामाजिक काममा खट्नु पर्ने । मेरो अभ्यास पनि त्यतैतिर हुन थाल्यो ।’ अहिले सुचितालाई पढ्न मन लागेका पुस्तक किनेर ल्याइदिने काम विद्यासुन्दरले गर्दा रहेछन् ।
कस्तो छ त महानगरका यी मेयरको बानी ? मेरो मनमा जिज्ञासा थियो । तर, त्यसैबेला फोन आयो विद्यासुन्दरलाई । उनी कुरा गर्दै तलतिर झरे । १० कक्षामा पढ्दै गरेकी छोरी आइपुगिन् सुचिताको अघिल्तिर कपाल बाटिदिन भन्दै । उनी छोरीको कपाल सुम्सुम्याउँदै थिइन् । मैले मौका सोधेँ– ‘कस्तो छ बानी विद्यासुन्दर दाइको ?’
‘एउटा कुराको ध्यान्नमा लागेपछि अरु केही थाहा नपाउने’ सुचिताले भनिन्– ‘पढिरहेका बेला बम नै पड्क्यो भने पनि थाहा पाउनुहुन्न । समयमै घर नआउने, कहिलेकाहीँ त उकैछिनमा आउँछु भनेको मान्छे पूरै रात नआउँदा दिक्दाी लाग्दो रहेछ सुचितालाई । ‘छोरी विरामी परेका बेला समेत गाउँ टोलकै काम भनेर हिंड्ने, कतिपय बेला त निकै अप्ठ्यारो पर्छ नि’ उनले भनिन्, ‘अहिले त म पनि अभ्यस्त भइसकेँ ।’
कसरी होमिए राजनीतिमा ?
मोवाइलको कुराकानी सकेर फेरि फर्किए विद्यासुन्दर । उनको वाल्यकालबारे केही कुराकानी भए । शाक्य परिवारमा जन्मेका हुनाले उनको बाल्यकाल बुद्धको उपदेश सुन्दै हुर्कियो । थाहा पाउँदा देखि हातमा बुद्ध धर्मको ग्रन्थ लिएका उनलाई एउटै कुराले सधैं झकझक्याउँदो रहेछ– सकै सबैको भलो गर्नु, नसके कसैको कुभलो नगर्नु । ‘मैले पनि सकेसम्म अरुको भलो नै गरेँ जस्तो लाग्छ, कुभलोचाहीँ जानेर कसैको पनि गरेको छैनँ’ उनले आफ्नो राजनीतिलाई ब्यवहारमा अनुवाद गर्ने कोसिस गरे ।
वाल्यकालका कतिपय चोटहरुले उनलाई बुद्धको शरणमा पुर्याएको रहेछ । उनी सम्पन्न परिवारकै वालक थिए । जन्मेको केही समयपछि नै आमाको देहान्त भएकाले उनले आमाको अनुहार देख्न पाएनन् । ‘आमा नभएको वालक परिवार भन्दा बाहिर नै रत्तिने रहेछ’ उनले आफ्नो वाल्यजीवनबारे कुरा खोले, ‘मलाई बुवाले माया गर्नुहुन्थ्यो तर, म घर बाहिरका मान्छेसँग मात्रै संगत गर्थेँ ।’
घरमा केही नपुग्दो भए पनि उनी टोलका केटाकेटीहरुसँगै रमाउने र धेरैजसो घरबाहिरै बस्थे । किशोर भएपछि पनि उनी टोलका अरु साथीहरुसँगै बस्न थाले । आफूले जान्ने भएपछि उनी साथीहरुसँगै बस्ने र क्लवमा काम गर्ने गर्न थाले ।
एक सम्पन्न परिवारका सदस्य भएर पनि उनी क्लवमा बसेर नाली सोहोर्ने, टोल बढार्ने, गाउँका केटाकेटी राखेर निःशुल्क ट्युसन पढाउने काम गर्थे । पढ्न नपाएकाहरुलाई स्कूल भर्ना गरिदिने, घरमा बिजुली नपाएकाहरुलाई तार किनेर विजुली जोडीदिने यस्ता जस्ता काम उनले युवा कालमा गरे ।
बुद्धको अनुयायी शान्त हुनु पर्ने किन विद्रोही स्वभावको छन् त विद्यासुन्दर ? उनी वचनमा भन्दा काममा मान्छेको परीक्षण हुन्छ भन्नेमा विश्वास राख्दा रहेछन् । काम मात्रै गर्ने र बोल्न त्यति अघि नसर्ने उनको बानी रहेछ । त्यसैले काठमाडौं महानगरको २१ नम्बर वडामा उनले लगातार वडाअध्यक्ष जिते । ‘हुन त राजनीतिमा बोल्ने कुरा धेरै हुन्छ भन्छन् तर, म बोल्न त्यति जान्दिनँ, कहाँ के काम गर्नु पर्छ भन्ने चाहीँ थाहा पाउँछु’ विद्यासुन्दरले भने, ‘मैले बुद्ध दर्शन पढेर सिकेको कुरा पनि यत्ति हो– अरुको भलो हुने केही गर ।’ समाजको भलाईसँग जोडिने विचारले नै उनी राजनीतिमा तानिए ।

२०४६ सालमा प्रजातन्त्रका लागि काठमाडौंमा आन्दोलन चलिरहेको थियो । मान्छेले विचारको स्वतन्त्रता पाउनु पर्छ भन्ने लागेर स्वतन्त्र रुपमा उनी आन्दोलनमा होमिएका थिए । आन्दोलन सफल हुँदै गर्दा उनी एमालेको युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा संगठित भए । सामाजिक अभियानमा भिजेका युवा भएकाले उनी युवा संघ काठमाडौंको संस्थापक कोषाध्यक्षको जिम्मेवारीमा आए । मिजासिला र सबैलाई समान ब्यवहार गर्ने शाक्यको संगठनात्मक काम झनै उत्कृष्ट थियो । त्यो तीन बर्षको कामले उनलाई एमालेले राम्रो काम गर्ने युवाका रुपमा मुल्यांकन गर्यो । ०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनमा उनलाई काठमाडौंको वडा नम्बर २१ को अध्यक्षका रुपमा अघि सार्यो । उनी भारी मतले बिजयी भए । वडाअध्यक्ष चुनिएपछि त उनी यति प्रिय बने कि टोलका भोज र गुठी पनि उनी बिना अपुरै हुन थाले । त्यहि लोकप्रियताले फेरी उनि ०५४ सालमा पनि वडाअध्यक्ष निर्वाचित भए ।
अहिले पनि शाक्यलाई काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दर्ता गर्ने दिन अवेर मात्र उम्मेदवार बनाउने निर्णय गरेको थियो । एकातिर सत्तारुढ कांग्रेस र माओवादीको गठबन्धन अर्कातिर उम्मेदवार बन्ने ढिलो निर्णय । त्यसका बाबजूद पनि उनले सत्तारुढ गबन्धनलाई भारी मत अन्तरले हराए । चुनावमा दिग्विजय पाए, काठमाडौं महानगरको मेयर बने ।
भोट दिनेले पछुताउनु पर्दैन
विद्यासुन्दर वाकपटु भएका नेता होइनन् । खुलेरै भन्छन्– म प्रचारमा होइन काममा विश्वास गर्छु । काठमाडौं महानगरमा कसरी काम गर्ने भन्नेमा पनि उनका आफ्नै योजना रहेछन् । ‘भाषण गर्दिनँ, काम मात्रै गर्छु’ उनले भने, ‘मैले काठमाडौंका समस्या के हुन् भन्ने थाहा पाएको छु, थाहा पाउनु आधा सफलता हो । म काम गरेर पूरा सफल हुन चाहन्छु ।’ आफ्नो कार्यकालमा महानगरमा धेरै फरबदल ल्याउने उनले सुनाए र भने– ‘आजको काठमाडौं कस्तो छ, यसको दस्तावेज राख्नुस् र यसको तस्बिर खिचेर राख्नुस्, म बिदा हुँदा अर्काे तस्बिर दिएर जान्छु । मलाई मत दिनेलाई पछुताउनु पर्ने बनाउँदिनँ ।’
विद्यासुन्दरले देखेको काठमाडौं
विद्यासुन्दरले विश्वनिकेतनमा स्कूले जीवन विताउँदा काठमाडौ भित्रका नदिहरु सफ थिए । महानगरको मेयरमा उम्मेदवार भएपछि उनको सपनामा बारम्बार किशोर कालमा पौडी खेलेको बागमती आउनेगरेको उनले सुनाए । ‘बागमती यति प्रदुषित थिएन, विष्णुमति मनोहरा पनि संङ्ला नदि थिए’ उनले सुनाए, ‘विश्वनिकेतनमा पढ्दा पौडी खेलेको बागमतीलाई फेरि उही रुपमा फर्काउनु पर्छ भन्ने मनमा खेलिरहेको छ ।’
उनले आफ्नो वाल्यकालको काठमाडौं सम्झे । काठमाडौंलाई आधुनिक सहर बनाउने र प्राकृतिक सम्पदाहरुको सरंक्षण गर्ने उनको अर्काे सपना छ । ‘कत्रो थियो र काठमाडौं ? तिनै ढुंगे धाराका पानीले पुग्थ्यो, आकाश निलो र सफ देखिन्थ्यो, वरिपरी जंगल थियो’ उनले सुनाए, ‘अव सहरलाई आधुनिक पनि बनाउनु छ र प्राकृतिक सुन्दरता पनि रक्षा गर्नु छ ।’ अहिले जनसंख्याको बाक्लो चापले सार्वजनिक जग्गा मासिएको र बालबालिकाहरुले दशैं तिहारमा चंगा उडाउने ठाउँ पनि नभएको उनी वताउँछन् । ‘समय त लाग्छ, तर, हामी ब्यवस्थित गर्छाैं’ उनले भने, ‘नगरवासीको साथ लिएर हामी काठमाडौंलाई सुन्दर बनाउँछौं ।’
पुराना र ऐतिहासिक सम्पदाहरु आधुनिक सहरमा जोगाउन नसके पनि यहाँको सभ्यता जोगाउन ढुंगे धारालाई ब्यवस्थित गर्ने, सडकलाई धुवाँ र धुलोबाट मुक्त गर्ने, सवारी साधनको र मान्छेको आवतजावत गर्ने छुट्टै एरिया बनाउने उनको योजना छ । ‘मान्छे हिंड्ने ठाउँ छैन, त्यहीँ गाडी छ, त्यही मान्छे हिंडिरहेको छ, यसलाई अव बदल्नु पर्छ’ उनले भने । अव काठमाडौं पहिलेको जस्तो लहलह बाली झुलेको फाँटमा बदलिन सक्दैन । यहाँको बस्तीलाई ब्यवस्थित बनाएर सहरलाई आधुनिक र सुविधा सम्पन्न बनाउने उनको ध्याउन्न छ ।
को हुन् विद्यासुन्दर ?
विद्यासुन्दर पिता हेरारत्न शाक्य र माता मंगलशोभा शाक्यको कोखबाट विं.सं. २०२० जेठ ९ गते जन्मेका थिए । उनी जन्मेको केही समयपछि नै आमाको निधन भइसकेको छ भने बुवाको पनि वाल्यकालमै निधन भयो । विद्यासुन्दरका दुई सन्तान छन् ।
शाक्यले त्रिपुरेश्वरको विश्वनिकेतन माध्यामिक विद्यालयबाट विद्यालय तहको र शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकसम्मको अध्ययन पूरा गरे । ०४६ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा उनले बिभिन्न मोर्चामा रहेर काम गरे । आन्दोलनमा उनी पटक–पटक प्रहरीको निशानामा परे र कष्टडीमा पनि बसे । कर्मस पढेका उनले लेखापालको काम गरे । पशु उपचारको तालिम लिएर उनले भेटेरीनरी औषधी पनि बेचे । राजनीतिमा ब्यस्त हुन थालेपछि उनले लेखापाल र पशुउपचार गर्ने काम पूर्ण रुपमा छोडे । १५ वर्ष अघि देखि उनी एमाले काठमाडौं जिल्ला कमिटीको सचिव छन् ।
चक्रपथ



