नेपाली सिने उद्योगका स्टार नायक हुन् राजेश हमाल । ०४६ सालमा ‘युगदेखि युगसम्म’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका उनले अहिलेसम्म झन्डै तीन सय सिनेमामा अभिनय गरिसकेका छन् । त्यसमध्ये ४० प्रतिशत सिनेमा हिट रहेको उनको दाबी छ । नेपाली सिनेमा र उद्योगलाई व्यावसायिक बनाउन पनि हमालको महत्वपूर्ण भूमिका छ । लामो समय एक्लै रहेका उनले तीन वर्षअघि मात्रै बिहे गरे । चलचित्र क्षेत्रमा अढाई दशकभन्दा लामो समय बिताइसकेका हमाल वेला–वेलामा विवाद र चर्चामा पनि आइरहन्छन् । अभिनेता हमालका बानी र स्वभावबारे पत्नी मधु भट्टराईलाई पत्रकार खगेन्द्र पन्तले १०१ प्रश्न सोधेका छन् :

पहिलो भेटमा ‘डान्स गरौँ’ भन्नुभयो १. पहिलोपल्ट कहाँ भेट भयो दुईजनाको ? हयात होटेलमा आयोजित लक्स ब्युटी स्टार कन्टेस्टमा म सहभागी थिएँ । उहाँ त्यो कार्यक्रमको जज हुनुहुन्थ्यो । पहिलोपटक त्यहीँ भेट भएको हो । २. बोलचाल पहिलो भेटमै भयो कि पछि ? त्यही कार्यक्रममै भयो । उहाँले मलाई जजका रूपमा प्रश्न सोध्नुभएको थियो । कार्यक्रम सकिएपछि भएको पार्टीमा ‘डान्स गरौँ’ भन्नुभयो । हिल जुत्ताले मेरो खुट्टामा घाउ भएको थियो, ‘नाच्न सक्दिनँ’ भनेँ । छुट्टिने वेला उहाँले आफ्नो कार्ड दिनुभयो । ३. त्यसपछि कहिले भेट भयो त ? पाँच–सात दिनपछि मैले उहाँको नम्बरमा फोन गरेँ । संयोगले त्यसको भोलिपल्ट उहाँको जन्मदिन रहेछ । झापातिर हुनुहुन्थ्यो । उहाँले ‘भोलि काठमाडौं फर्किंदै छु, भोलि मेरो जन्मदिन पनि हो, सँगै डिनर गरौँ’ भन्नुभयो । म पनि तयार भएँ । हाम्रो पहिलो डेटिङ नै त्यही हो । ४. कहाँ भेट्नुभयो ? सांग्रिला होटेलमा भेटेर डिनर गर्यौँ, धेरैबेर बस्यौँ । म त्यतिवेला महालक्ष्मीस्थान बस्थेँ, उहाँले मलाई ड्रप गरिदिनुभयो । ५. प्रेम प्रस्ताव कसले पहिला राख्नुभयो ? हामीले प्रेम प्रस्ताव नै राख्नुपरेन । व्यवहारबाटै एक–अर्काले बुझ्यौँ । ६. डेटिङ कत्तिको गर्नुहुन्थ्यो ? सांग्रिलाको भेटघाटपछि म धरान फर्किएँ, फोनमा, इमेलमा कुराकानी भइरहन्थ्यो । काठमाडौं आउँदा वेलावेला डिनर, लन्च सँगै गर्ने गरी भेटघाट गथ्र्यौँ । ७. कसैले थाहा पाउला भन्ने डर कत्तिको लाग्थ्यो ? त्यस्तो डर लाग्दैनथ्यो । ८. तपार्इंहरूले बिहे कहिले गर्नुभयो ? १० जेठ ०७१ मा हामीले प्रेमविवाह गरेका हौँ । ९. उहाँले सुहागरातको फोटो पनि सामाजिक सञ्जालमा राख्नुभयो नि ? (हाँसो) राख्नुभएको रहेछ, तर मलाई थाहा थिएन । लन्डनमा दिदी हुनुहुन्छ, उहाँले फोन गरेर भनेपछि मात्रै मैले थाहा पाएँ । १०. तपाईंसँग सल्लाह गर्नुभएको थिएन र ? फोटो खिचेको त थाहा छ, तर राखेको थाहा थिएन । सायद उहाँले आफ्ना फ्यानहरूलाई सन्देश दिन त्यो फोटो राख्नुभएको थियो होला । ११. घरपरिवार, आफन्त, शुभचिन्तकबाट बच्चा कहिले पाउने भन्ने चासो कत्तिको व्यक्त हुन्छ ? हुन्छ । सोध्न थालेका छन् सबैले । १२. उहाँहरूको चाहना कहिलेसम्म पूरा हुन्छ त ? यसबारे त हामीले अहिलेसम्म सोचेकै छैनौँ । सोच्दैनौँ पनि होला त्यतातिर । अहिलेसम्मको हाम्रो कुराकानी–छलफलअनुसार हामी बच्चा नपाउने योजनामै छौँ । टाइम म्यानेजमेन्टका कारणले मात्रै हामीले बच्चा नपाउने सोचेका हौँ । बेडमा गयो कि निदाउनुहुन्छ १३. बिहान कति बजे उठ्नुहुन्छ ? सात बजेभित्र उठिसक्नुहुन्छ । १४. चिया–कफी के रुचाउनुहुन्छ ? उठ्नेबित्तिकै एक लिटर पानी खानुहुन्छ । चिया त उहाँले खानुहुन्न । गाईको दूध पाइयो भने मात्रै चिया खानुहुन्छ । १५. एक्सरसाइज कत्तिको गर्नुहुन्छ ? समय पाउनुभयो भने नियमित गर्नुहुन्छ । घरमै जिमका सामान छन् । धेरैजसो साँझमा एक्सरसाइज गर्नुहुन्छ । १६. योगा पनि गर्नुहुन्छ ? योगा, ध्यान त्यस्तो गर्ने त होइन, तर कहिलेकाहीँ युट्युबमा हेरेर आनन्द लिनुहुन्छ । १७. राति कतिखेर सुत्नुहुन्छ ? काम हेरेर हुन्छ । सामान्यतया ११ बजेभित्र निदाउनुहुन्छ । बेडमा गयो कि निदाइहाल्नुहुन्छ । बेडमा कतिखेर आउनुहुन्छ भन्ने मात्रै हो । मृत्युको समाचारले दुःखी बनायो १८. पत्रपत्रिका कत्तिको पढ्नुहुन्छ ? पाएसम्म पढ्नुहुन्छ । १९. टेलिभिजनमा समाचार कत्तिको हेर्नुहुन्छ ? टेलिभिजन त्यति हेर्नुहुन्न । अचेल अनलाइनहरूमै धेरै समाचार हेर्नुहुन्छ । २०. आफ्नोबारेमा आएका समाचार हेरेपछि कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ? उहाँको अचम्मको बानी छ । कुनै रियाक्ट नै गर्नुहुन्न । समाचार पढेर न खुसी देखिनुहुन्छ, न दुःखी नै । केही दिनअघि ‘राजेश हमालको मृत्यु’ भनेर कसले समाचार हालिदिएछ । त्यसले भने हाम्रा आफन्त र उहाँका फ्यानहरूलाई समेत दुःखी बनायो । २१. त्यस्तो समाचार आएपछि के भन्नुभयो त ? उहाँले त केही भन्नुभएन । हामी त्यही दिन संयोगले डिनरका लागि बाहिर गएका थियौँ । उहाँले फ्यानहरूका लागि हाम्रो फोटो सामाजिक सञ्जालमा राख्नुभयो । खाजामा सात–आठ प्रकारका फलफूल २२. बिहानको खाजामा के रुचानुहुन्छ ? सात–आठ प्रकारका फलफूल खानुहुन्छ, कहिल्यै छुट्दैन । त्यससँगै तीनवटा उसिनेका अन्डा खानुहुन्छ । २३. खानामा के मन पराउनुहुन्छ ? साग, सलाद, दाल, चिकेन, तरकारी खानुहुन्छ । २४. भात, रोटी खानुहुन्न ? उहाँले भात नखाएको त वर्षौँ भइसक्यो । रोटी पनि खानुहुन्न । २५. दिउँसो खाजा के खानुहुन्छ ? दुई बजे लन्च लिन्छौँ । चार बजेपछि हल्का फलफूल लिनुहुन्छ । २६. रातिको खानामा के खानुहुन्छ ? सुप, सलाद, फलफूल लिनुहुन्छ । २७. घरमा खाना कसले पकाउँछ ? मैले नै पकाउँछु । तेल अत्यन्त कम राखेर, नुन नराखेर खाना बनाउँछु । २८. नुन पनि खानुहुन्न ? अहँ, खानुहुन्न । कहिलेकाहीँ अचारमा नुन राख्छु । थोरै खानुहुन्छ । २९. खानामा कमेन्ट गर्ने स्वभाव कत्तिको छ ? केही पनि गर्नुहुन्न । खानामा मात्रै होइन, कुनै चिजमा पनि कमेन्ट गर्ने बानी छैन । ३०. खाना मीठो–नमिठो भएको केही पनि नभन्दा कहिलेकाहीँ रिस उठ्दैन ? म पनि पकाउन एक्सपर्ट होइन, त्यसैले कमेन्ट नगरे पनि खासै नराम्रो लाग्दैन । ३१. कहिलेकाहीँ किचनमा पस्नुहुन्छ कि पस्नुहुन्न ? आउन त आउनुहुन्छ, तर केही गर्नुहुन्न । मलाई पनि उहाँ किचनमा आएको मन पर्दैन । ३२. खाना पकाउन कति रुचि देखाउनुहुन्छ ? खाना पकाउन त कत्ति पनि रुचि छैन । ३३. पकाउन आउँछ कि आउँदैन उहाँलाई ? आउँदैनजस्तो लाग्छ । कलेज पढ्दाचाहिँ चाउचाउहरू पकाउनुहुन्थ्यो रे । ३४. भनेपछि उहाँले पकाएको तपाईंले अहिलेसम्म केही खान पाउनुभएको छैन ? अमलेट खाएकी छु । ३५. तपाईंले पकाएको कुन परिकार उहाँले सबैभन्दा मीठो मान्नुहुन्छ ? हरियो साग, बोइल्ड मटन, चिकेन मन पराउनुहुन्छ ३६. तपाईंले पकाउन सिक्ने सल्लाह दिनुहुन्न ? अहिलेसम्म त दिइएको छैन, अब सोच्नुपर्ला । उहाँको जेमा इन्ट्रेस्ट छ, त्यसमै छाडिदिन्छु । ह्यान्डसम हुनुहुन्छ, जे लगाए पनि सुहाउँ ३७. आफूले लगाउने लुगामा कत्तिको सचेत हुनुहुन्छ ? उहाँले जस्तो लुगा लगाए पनि राम्रो देखिन्छ । सचेत पनि हुुनुहुन्छ । ३८. के लगाउन रुचाउनुहुन्छ ? टी–सर्ट, सर्ट, जिन्स मन पराउनुहुन्छ । औपचारिक कार्यक्रममा जाँदा सुट पनि लगाउनुहुन्छ । ३९. तपाईंले कस्तो लुगामा राम्रो देख्नुहुन्छ ? उहाँको पर्सनालिटी नै राम्रो छ । मिलेको अनुहार, राम्रो हाइट–जिउडाल, त्यसमाथि लोभलाग्दो हाँसो । ह्यान्डसम हुनुहुन्छ, जे लगाए पनि म त राम्रो नै देख्छु । ४०. पहिरनको विषयमा तपाईंले सल्लाह कत्तिको दिनुहुन्छ ? आफैँ भएर केही भन्दिनँ, उहाँले सोधेपछि मात्रै सल्लाह दिन्छु । तर, लुगा लगाउँदा उहाँ आफैँ जिस्किनुहुन्छ । ‘कुन लुगा लगाऊँ ?’ ‘कुन लुगामा राम्रो देखिन्छु’, ‘यो ड्रेसमा त ह्यान्डसम देखिएँ है’ भनेर जिस्किनुहुन्छ ४१. तपाईंको पहिरनबारे उहाँले कत्तिको सल्लाह दिनुहुन्छ ? म आफैँ सोध्छु उहाँलाई । उहाँले पनि सल्लाह दिनुहुन्छ ४२. तपाईंको पहिरनको कत्तिको तारिफ गर्नुहुन्छ ? मुखले खुलेर त तारिफ गर्नुहुन्न, तर उहाँको हेराइबाटै थाहा हुन्छ, ‘आज त राम्रै देखिएछु’ भन्ने । ४३. कस्ता लुगा लगाउन सुझाब दिनुहुन्छ ? तिमीलाई जुन लुगामा रुचि छ, मन परेको छ, त्यो लगाऊ भन्नुहुन्छ । यही लगाउनुपर्छ वा यस्तो लगाउनुहुन्न भन्ने हुन्न उहाँको ४४. लुगामा आइरन गर्न जान्नुहुन्छ कि जान्नुहुन्न ? मैले त अहिलेसम्म आइरन लगाएको देखेको छैन । कलेज पढ्दा लगाउनुहुन्थ्यो कि । सर्टहरूमा कहिलेकाहीँ मैले नै गरिदिन्छु । ४५. आफूले लगाउने लुगा आफैँ किन्नुहुन्छ कि अरूले किनिदिनुपर्छ ? विदेश जाँदा एक सुटकेस भरेर एकैपटक ल्याएर आउनुहुन्छ । ४६. तपाईंलाई सपिङ गर्न कत्तिको सघाउनुहुन्छ ? उहाँलाई अल्छी लाग्छ । एकपटक बैंककमा भने एकछिनका लागि भए पनि जानुभएको थियो, तर हतारो भयो भन्नुभयो । काठमाडौंमा हुँदा मलाई पसलसम्म ड्रप गर्नुहुन्छ । घरखर्च ७०–८० हजार ४७. आफ्नो आम्दानी तपाईंलाई दिनुहुन्छ कि आफैँ राख्नुहुन्छ ? ल्याएर टेबुलमा राख्नुहुन्छ, अनि मैले नै राखिदिन्छु । घरमा एउटै ठाउँमा राख्ने गरिन्छ पैसा, आवश्यकताअनुसार जसलाई चाहिन्छ, उसले चलाउँछ । ४८. आफूले खल्तीमा कम्तीमा कति बोक्नुहुन्छ ? ९–१० हजारजति बोक्नुहुन्छ । ४९. घरखर्च चलाउन कति चाहिन्छ भन्ने उहाँलाई थाहा हुन्छ कि हुँदैन ? पहिला त हुँदैनथ्यो होला, बिहेपछि थाहा पाउन थाल्नुभएको छ (हाँसो) । मैले भन्ने गरेकी हुन्छु नि त यति खर्च भयो भनेर । ५०. महिनामा कति रकम चाहिँदो रहेछ राजेश हमालको घर चल्न ? कम्तीमा ४० हजारजति त खानामा मात्रै खर्च हुन्छ । घरखर्चका लागि मात्रै कम्तीमा ७०–८० हजार चाहिन्छ । ५१. उहाँको धेरै खर्च केमा हुन्छ ? खानामा धेरै हुन्छ । एकदम स्तरीय खाना रुचाउनुहुन्छ । ५२. उहाँको नाममा बैंक ब्यालेन्स कति छ भन्ने तपाईंलाई थाहा छ कि छैन ? थाहा छैन । थाहा भए पनि किन बताऊँ ? (हाँसो) ५३. बताउनुस् भनेको होइन, तपाईंलाई थाहा छ कि छैन भनेर सोधेको हो । सबै त थाहा छैन, एउटा बैंकको चाहिँ थाहा छ (हाँसो) । त्यो पनि उहाँले बताएर होइन, मैले बैंकको स्टेटमेन्ट हेरेर थाहा पाएकी हुँ । ५४. उहाँलाई थाहा नदिएर हेर्नुभएको ? बैंक स्टेटमेन्टहरू उहाँले एउटा ब्यागमा राख्नुहुन्छ, मैले ब्याग खोलेर हेरेकी थिएँ । पछि उहाँले ‘मेरा कागजपत्र किन हेछ्र्यौ, नचलाऊ न’ भन्नुभयो ५५. पैसाको बारेमा परिवारमा कहिल्यै किचलो भएको छ कि छैन ? कहिल्यै भएको छैन त्यस्तो त । उहाँको रिस डेन्जर छ ५६. रिसाउने बानी कति छ ? रिसाउनुहुन्न । तर, रिसाएपछि उहाँको रिस डेन्जर छ, निकै डर लाग्छ । उहाँको भन्दा म नै धेरै रिसाउँछु ५७. कस्ता कुरामा रिसाउनुहुन्छ ? उहाँका सामान चलायो भने रिसाउनुहुन्छ । एकपटक हाम्रो बिहे नहुँदै उहाँलाई नसोधीकन किताब लिएर गएकी थिएँ, थाहा पाएपछि निकै कराउनुभयो । ५८. रिसाएपछि के गर्नुहुन्छ ? कराउने गर्नुहुन्छ । अरुबेला भने निकै कुल हुनुहुन्छ । मनै परेन भने धेरै दिन नबोलेर पनि बस्न सक्नुहुन्छ । ५९. रिसाएपछि कसले पहिला फकाउँछ ? मैले नै फकाउनुपर्छ नि । उहाँ त फकाउने नै गर्नुहुन्न । नबोलेरै आठ–नौ दिनसम्म पनि बस्न सक्नुहुन्छ । तर, मलाई छटपटी हुन्छ, अनि फकाउँछु । म रिसाएँ भने पनि उहाँ झन् डबल रिसाउनुहुन्छ, अनि मैले नै फकाउनुपर्छ । ६०. के भनेर फकाउनुहुन्छ ? उहाँको गल्ती रहेछ भने सम्झाउने कोसिस गर्छु । हग गर्छु, किस गर्छु (हाँसो), त्यही त हो नि ६१. बाहिरको रिस घरमा कत्तिको रिफ्ल्याक्ट हुन्छ ? त्यो त कहिल्यै गर्नुहुन्न । बाहिर काम गर्दा तनाव हुन्छ होला । तर, अहँ, घरमा केही देखाउनुहुन्न । बरु, हाँसेर बस्नुहुन्छ ६२. परिवारका सदस्यलाई गाली कत्तिको गर्नुहुन्छ ? उहाँका सामान चलायो, रुटिन डिस्ट्रब भयो भने रिसाउनुहुन्छ । ६३. तपाईंलाई कहिल्यै पिट्नुभएको छ कि छैन ? छैन । ६४. तपाईंले नि ? कहिलेकाहीँ जिस्केर ‘तपाईं कत्तिको स्ट्रोङ हुनुहुन्छ’ भनेर मुड्कीले हान्छु । ६५. माया गरेर तपाईंलाई के भनेर बोलाउनुहुन्छ (हाँसो), बाहिर त ‘मधु’ भनेर बोलाउनुहुन्छ, जिस्क्याएर जे पायो त्यही भन्नुहुन्छ । तपाईंलाई बताउनै मिल्दैन । ६६. तपाईंले नि ? ‘राजा’ भन्छु । ठकुरीहरूमा राजा नै चल्छ । बर्थ डे विस गर्नुहुन्न ६७. तपाईंलाई उपहार कत्तिको दिनुहुन्छ बिहेअघि दिनुहुन्थेन, बिहेपछि वेला–वेलामा दिनुहुन्छ ६८. उपहारमा कस्ता चिजहरू दिनुहुन्छ ब्याग, जुत्ता, सनग्लास, पफ्र्युमलगायतका सामान दिनुहुन्छ । एकपटक उहाँले ल्याइदिएको लुगा फिट भएन । त्यसपछि लुगा कम ल्याउनुहुन्छ । ६९. जन्मदिन, म्यारिज एनिभर्सरी, भ्यालेन्टाइन डेमा विस गर्नुहुन्छ कि बिर्सनुहुन्छ ? विस गर्नुहुन्न, तर सरप्राइज दिएर बाहिर लैजानुहुन्छ । खासमा मैले बर्थडे सेलिब्रेट नै गर्दिनँ । भ्यालेन्टाइन डे घरमै मनाउँछौँ, सबै भ्यालेन्टाइन डे छ (हाँसो) । एनिभर्सरीमा उहाँलाई मन पर्ने परिकार पकाएर सेलिब्रेट गर्छौँ । ७०. उहाँले ल्याइदिएको तपाईंलाई सबैभन्दा मन परेको उपहार कुन हो ? उहाँले दिनुभएका सबै उपहार मन पर्छन्, सबै राखेकी पनि छु । ७१. तपाईंले कत्तिको दिनुहुन्छ ? बिहेअघि त दिन्थेँ । तर, अचेल दिएको छैन (हाँसो) ७२. तपाईंले दिएको उहाँले एकदमै मन पराएको उपहार कुन हो ? बिहेअघि नै साइकल गिफ्ट गरेकी थिएँ । उहाँले धेरै चलाउनु पनि भयो । २५–३० को उमेरमा बियर धेरै खानुभयाे ७३. चुरोट–खैनी खानुहुन्छ कि खानुुहुन्न ? खानुहुन्न ७४. कहिल्यै खानुभएन, कि छोडेको ? कहिल्यै खानुभएन रे । ७५. रक्सी कत्तिको खानुहुन्छ ? २५–३० वर्षको उमेरसम्म बियर धेरै खानुहुन्थ्यो रे । अचेल खानुहुन्न । कहिलेकाहीँ पार्टीमा वाइनको गिलास हातमा लिनुहुन्छ । मलाई खान मन लाग्यो र खाऊँ भन्यो भने एक गिलाससम्म वाइन खानुहुन्छ । ७६. दुईजना मातेर कहिलेकाहीँ ठाकठुक कत्तिको पर्छ ? मात्ने गरी कहिल्यै खाएको थाहा छैन । घरमा खाँदा त सधैँ रोमान्टिक मात्रै हुन्छौँ । लुगा कहिल्यै धुनुभएन ७७. सहयोगी कत्तिको हुनुहुन्छ ? घरायसी काममा बाहेक सल्लाह–सुझाब दिने तथा अरू काममा सहयोग गर्नुहुन्छ । ७८. कहिल्यै तपाईंका लुगा धोइदिनुभएको छ ? (हाँसो) आफ्नो त धुनुहुन्न, मेरो लुगा के धोइदिनुहुन्थ्यो र ! ७९. घरमा सहयोग माग्नेहरू कत्तिको आउँछन् ? एकदम धेरै आइरहेका हुन्छन् ८०. कस्तो सहयोग माग्ने धेरै हुन्छन् ? कतिले काममा लगाइदिनुपर्यो भन्छन्, कोही पैसा माग्ने पनि हुन्छन् । फेसबुकबाट ‘मलाई घरमा काम गर्न राख्नुपर्यो’ भन्ने केटीहरू पनि हुन्छन् ८१. राख्नुभएको छ त त्यस्ता केटीहरूलाई ? फेसबुकबाट त्यस्तो भन्ने केटीहरूको कसरी विश्वास गर्न सकिन्छ र ? काम गर्ने कि फेसबुक चलाएर बस्ने ? अचेल सबैलाई कहाँ विश्वास गर्न सकिन्छ । ८२. पैसा माग्नेलाई कत्तिको सघाउनुहुन्छ ? सकेको सहयोग गर्नुहुन्छ । राम्रो नाच्न आउँदैन ८३. सिनेमा हेर्न कति मन पराउनुहुन्छ ? हेर्नुहुन्छ, तर हलमै गएर प्रायः कम हेर्नुहुन्छ । ८४. कस्ता सिनेमा रुचाउनुहुन्छ ? रियालिस्टिक । लाइफस्टाइलसँग जोडिएका सिनेमा मन पराउनुहुन्छ ८५. बुढाबुढी हलमै पुगेर सिनेमा कत्तिको हेर्नुहुन्छ ? कहिलेकाहीँ जान्छौँ । ८६. टेलिभिजनमा सिरियल हेर्नुहुन्छ कि हेर्नुहुन्न ? हेर्नुहुन्न, न्युज मात्रै हेर्नुहुन्छ । म पनि हेर्दिनँ । ८७. गीत कत्तिको सुन्नुहुन्छ ? त्यति धेरै त सुन्नुहुन्न । एउटा अंग्रेजी गीत छ, उहाँले वेला–वेला सुन्नुहुन्छ ८८. नाँच्न आउँछ कि आउँदैन ? त्यति धेरै त आउँदैन, तर त्यस्तै मन पर्छ मलाई । ८९. तपाईं राम्रो नाच्नुहुन्छ कि उहाँ ? म त झन् उहाँको जत्ति पनि जान्दिनँ । पत्रकारले चिनेनन्, विदेशी केटी भने ९०. देशको स्टार कलाकार हुनुहुन्छ, महिला फ्यान पनि धेरै होलान् नि ?

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

धेरै छन् नि । ९१. उनीहरूको बारेमा तपाईंलाई बताउनुहुन्छ कि बताउनुहुन्न ? सबै कुरा भन्नुहुन्न । सधैँ मलाई बताएर साध्य पनि हुँदैन । ९२. महिला फ्यानले पेटमा बच्चा चिनो दिनसमेत प्रस्ताव गरेको उहाँले नै मिडियालाई बताउनुभएको छ । अरू धेरै प्रेम प्रस्ताव गर्ने फ्यानहरू पनि होलान् । तपाईंले चासो दिनुहुन्न ? बिहे हुनुभन्दा पहिला त चासो राख्थे, तर अचेल धेरै कम भएको छ । शंका लाग्ने तरिकाले चाहिँ कहिल्यै सोचिन्न । ९३. बिहेअघि चाहिँ किन नि ? चिन्ता हुन्थ्यो नि यत्रो सुपरस्टार मान्छे । प्रेमप्रस्ताव राख्ने थुप्रै केटीहरू हुन्छन्, बिहे पनि भएको छैन, आफू असुरक्षित त छैन भन्ने चिन्ता लाग्ने रहेछ क्या । सबैलाई लाग्छ नि यस्तो चिन्ता त । ९४. तपाईंहरूको अफेयर लामो समय गुपचुपमै रह्यो नि, मिडियाबाट कसरी बच्नुभयो ? हामी सँगै हुँदा पनि मिडियाका साथीहरूले देखेका हुन्थे । फोटोहरू पनि खिचेका थिए । तर, म केही बोलिनँ । उनीहरूले हामीलाई चिनेनन् । बरु, भोलिपल्ट ‘राजेश हमाल विदेशी केटीसँग देखिए’ भनेर समाचार आयो । समाचार पढेर आफैँलाई खुब हाँसो लाग्यो । ९५. बिहेअघि उहाँको नाम धेरै महिलाहरूसँग पनि जोडिएको थियो नि ? उहाँको राम्रो बानी के छ भने पहिला उहाँसँग अफेयर भएकाहरूको बारेमा पनि सबै बताउनुभएको थियो । त्यस्तो सम्बन्ध भएका एक–दुईजना मात्रै हुनुहुन्थ्यो, दुवै जना विदेशी हुनुहुन्थ्यो । दुवैलाई म चिन्छु । ९६. नेपाली सिने क्षेत्रकै हिरोइनहरूसँग पनि उहाँको नाम जोडियो नि ? नाम त जोड्नेले अहिले पनि जोडिरहेका हुन्छन् नि । समाचार–गसिपमा आउने त्यस्ता कुराहरू मैले पनि सुनेकी हुन्छु । तर, उहाँले हाम्रो रिलेसनलाई अप्ठ्यारो नपार्ने सबै कुरा बताउनुभएको छ । उहाँ त्यस्तो मान्छे होइन । ९७. यस्तै कुराले बुढाबुढीबीच कहिल्यै खटपट परेको छ कि छैन ? छैन । ९८. उहाँको न्युड फोटो पनि सार्वजनिक भयो नि एकपटक ? थाहा छ, उहाँले नै बताउनुभएको थियो । डाक्टरलाई देखाउन उहाँले फोटो खिच्नुभएको फोटोको नेगेटिभ घरबाटै थाहा नदिएर लगिएको हो रे। राजनीतिप्रति धेरै चासो छ ९९. घरमा भएका वेला राजनीतिक कुराकानी कत्तिको गर्नुहुन्छ ? उहाँलाई राजनीतिमा एकदमै रुचि छ । कुराकानी पनि गर्नुहुन्छ । मलाई पहिला केही थाहा हुँदैनथ्यो, रुचि पनि थिएन । अचेल उहाँले भनेपछि बुझ्न थालेकी छु । १००. तपाईंको कुरा कत्तिको मान्नुहुन्छ ? भन्न त जे कुरामा पनि ‘ओके’ भन्नुहुन्छ । तर, आफूलाई ठीक लागेको गर्नुहुन्छ । मैले भनेको पनि गर्नुहुन्छ, तर समय लगाउनुहुन्छ । मलाई तत्काल हुनुपर्ने हुन्छ । १०१. रोमान्टिक कत्तिको हुनुहुन्छ ? एकदम रोमान्टिक हुनुहुन्छ । बरु, म मुढी छु । घरमा त उहाँ जतिवेला पनि रोमान्टिक मुडमा देखिनुहुन्छ । जिस्क्याउने, नाचेर देखाउने, जोक सुनाउने गर्नुहुन्छ । एक्सरसाइज गर्दा सास फुल्यो भने गीत गुनगुनाउन थाल्नुहुन्छ । तर, यही गीत भन्ने हुँदैन, आफैँ बनाएर फन्नी गाउनुहुन्छ । नयाँ पत्रिकाबाट