
काठमाडौ । नेपालमा करिब एक लाख २० हजारको हाराहारीका मानिसले पूर्णरूपमा दृष्टि गुमाएका छन् । जसमध्ये ११ लाख मानिस अन्धोपनको सिकार भएका छन् । ६६ प्रतिशत अन्धोपनको उपचार गर्न सकिने तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानको तथ्यांकअनुसार झण्डै ६५ प्रतिशत मानिसले मोतिबिन्दुका कारण दृष्टि गुमाएका छन् । विगतको तुलनामा ७ प्रतिशतले मोतिबिन्दुको समस्या न्यूनीकरण भएको तथ्यांकमा उल्लेख छ । पुरुषको तुलनामा महिलाहरू बढी अन्धोपनको सिकार भएको जनाइएको छ । दृष्टिविहीनमध्ये ५३ प्रतिशत महिला छन् । तर, मोतिबिन्दु रोग लागेका व्यक्तिहरूको उपचार हुन निकै मुस्किल रहेको प्रतिष्ठानका कार्यक्रम उपनिर्देशक नवीनकुमार राईले बताए । उनले ग्रामीण भेगमा रहेका महिला, बालबालिका तथा जेष्ठ नागरिक यस्ता रोगको सिकार भएको बताए। उनका अनुसार गरिबी, अशिक्षा र जनचेतना पुग्न नसकेकाले गाउँगाउँका मानिसहरू ३ मिटरको दूरीबाट औंला गन्न नसक्ने अवस्थाका छन् ।
प्रतिष्ठानका अनुसार कुल जनसंख्याको २ दशमलव ५ प्रतिशत मानिस दृष्टिविहीन छन् । ८५ देखि ९० लाखले सेवा पाउनुपर्नेमा हालसम्म ३० लाखले मात्रै आँखा सेवा लिइरहेका छन् । नेपालमा हालसम्म २ सय १५ जनामात्रै नेत्र विशेषज्ञ छन् । ५ सयको हाराहारीमा नेत्र विशेषज्ञ थप गर्न सकिए केही मात्रामा भएपनि उपचार सेवा धेरै ठाउँमा पु¥याउन सकिने प्रतिष्ठानका उपनिर्देशक डा। रोहित सैजुले बताए । उनले विभिन्न रोगका कारण दृष्टि गुमाएको भएमा अप्रेसनपछि दृष्टि फर्काउन सकिने उनले बताए ।
उनका अनुसार लगातार चुरोट सेवन गर्ने व्यक्ति, उच्च रक्तचाप, मधुमेह र सुगर भएका व्यक्तिमा दृष्टिविहीन हुन सक्ने बढी सम्भावना देखिन्छ । त्यसैले यसबाट बच्न खानपानमा ध्यान पु¥याउनुका साथै लागेका लतसमेत पूर्णरूपमा छोड्नुपर्ने उनको भनाइ छ । मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीले आँखा अस्पतालमा गएर आँखाको जाँच गराइहाल्नुपर्ने समेत उनले बताए ।
प्रतिष्ठानले हालसम्म ५० लाखलाई सेवा दिएको छ भने ३ लाख २० हजारजनाको सफलतापूर्वक शल्यक्रिया गरेको जनाएको छ । एक लाख एक हजार पाँच सयजनालाई अन्धोपन भएको चिकित्सकहरूको भनाइ छ । उनीहरूका अनुसार अन्धोपन भएका हरेक पाँचजना मध्ये ४ जनाको उपचार सम्भव छ । प्रतिष्ठानको उक्त तथ्यांकअनुसार अन्धोपन भएकामध्ये ३५ हजार पाँच सय २५ जनामा मोतिबिन्दु र यससम्बन्धी रोगहरू, ९ हजार एक सय ३५ जनामा आँखाको पर्दाजन्य रोग, पाँच हजार ७५ जनामा जलबिन्दु, ६ हजार ९० जनामा आँखाको नानीमा हुने अन्धोपना, चार हजार ६० जनामा दृष्टिदोष भएको छ ।
सरकारी अस्पतालले ६ प्रतिशत, निजी अस्पतालले ५ प्रतिशत, विभिन्न आँखासम्बन्धी क्याम्पले २५ प्रतिशत, गैरसरकारी संघसंस्थामार्फत सञ्चालित संस्थाले ६३ प्रतिशत आँखा उपचार सेवा दिइरहेको तथ्यांक छ । आँखा धमिलो भई हेर्न गाह्रो हुनु, दैनिक कार्य गर्नमा समस्या भएमा, बारम्बार टाउको दुख्नु, नजिक, टाढा वा दुवै दूरीका बस्तुहरू धमिलो देख्नु, निकै नजिकबाट टिभी हेर्ने गरेमा तुरुन्तै चिकित्सक तथा नेत्र विशेषज्ञहरूसँग गएर परामर्श लिइहाल्नुपर्ने कन्सल्टेन्ट डा। रबा थापाले बताइन् । आँखाको नियमित रूपमा परीक्षण गराउनुका साथै आफूले सिकेका कुराहरू आफ्ना समुदायमा समेत बिरामीहरूले साटासाट गर्नुपर्ने उनले बताइन् । भनेजस्तो जनचेतना नपुगेकै कारण मानिसहरूले आफ्ना दृष्टि गुमाउनु परिरहेको उनको भनाइ छ ।
नवजात शिशुको समेत दृष्टि गुम्न सक्ने भएकाले गर्भवती महिलाले गर्भावस्थामै नियमित परीक्षण गरिरहनुपर्ने नेत्र विशेषज्ञहरूको सुझाव छ । यतिमात्रै नभएर शिशु जन्मने बित्तिकै शिशुको आँखा परीक्षण गराउनुपर्नेमा उनीहरूले जोड दिए । हालसम्म प्रतिष्ठानबाट २२ सयजनाले लेजर प्रविधिबाट आँखाको उपचार गरेको जनाएको छ । यो सेवा निकै महंगो भएपनि निकै उपयुक्त भएको पनि प्रतिष्ठानले जनाएको छ । विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरूको छाता संगठन अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सीले सन् २०२२ सम्ममा अन्धोपनलाई घटाएर २५ प्रतिशतसम्म पु¥याउने लक्ष्य लिएको छ ।