सिगांपुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो चौथो खेलमा सिंगापुरलाई २२ रनले हराएको छ । नेपालले सिंगापुरलाई जितका लागि १६९ रनको लक्ष्य दिएको थियो ।
१६९ रनको लक्ष्य पछ्याएको सिगांपुर ४६.५ ओभरमा अल आउट भयो । उसले सबै विकेट गुमाएर १४६ रन जोड्यो । सिगांपुरका लागि सुरुवाती ब्याट्सम्यानहरुले राम्रो सुरुवात गरेपनि मध्यक्रमका ब्याट्सम्यानहरु नेपालको बलिङ सामु धेरै टिक्न सकेनन ।
नेपालको जितमा कप्तान संदिप लामिछानेले चार विकेट, किशोर महोतोले दुई, पवन सराफले दुई तथा दिपेन्द्र सिंह ऐरीले एक विकेट लिए ।
टस जितेर ब्याटिङ गरेको नेपालले यस प्रतियोगिताको आफ्नो चौथो खेलमा ४६.५ ओभरमा सवै विकेट गुमाउँदै १६८ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । उनले ८३ बलमा दुई छक्का र दुई चौकाको मद्यतमा ५४ रन बनाए । प्रारम्भिक ब्याट्सम्यान सन्दिप सुनारले एक छक्का र दुई चौका हान्दै २६ र प्रकास केसीले २३ रन बनाए ।
बलिङतर्फ सिंगापुरका लागि वीर विक्रम विश्वासरेले तीन तथा आर्यमान सुनिल र अहान गोपीनाथले समान दुई÷दुई विकेट लिए । विश्वासरेले १० ओभरमा दुई मेडन राखि २९ रन दिए । आर्यमानले पाँच ओभरमा २३ रन तथा गोपीनाथले १० ओभरमा ३१ रन खर्चे ।
पहिलो खेलमा नेपालले सिगांपुरलाई पाँच विकेटले हराएको थियो । दोस्रो चरणको पहिलो खेलमा जित हासिल गरेपनि नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । यसअघिको खेलमा अफगानिस्तानले मलेशियालाई १० विकेटले हराएको थियो ।
चार टोलि सहभागी प्रतियोगिता अफगानिस्तान ८ अंकका साथ शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको नेपाललको ६ अंक मात्र छ । सिगापुरलाई हराए पनि नेपालको विश्वकप यात्रा भने अझै कठिन देखिन्छ ।
आगामी बर्ष न्यूजल्याण्डमा हुने विश्वकपमा छनौट हुन नेपालले बाँकी दुई खेल जितेर मात्र पुग्दैन ।अफगानिस्तान र मलेशियालाई भारी रनरेटले हराउनु पर्नेछ । नेपालले आगामी सोमबार मलेशिया तथा मंगलबार अफगानिस्तानसँग खेल्नेछ । जारी प्रतियोगितामा अफागानिस्तान सबैभन्दा बलियो देखिएको छ ।



