बाँकेमा खोपको मात्रा भन्दा कम सिरिन्ज आएको छ । स्वास्थ्य कार्यालय, बाँकेले सिरिन्ज कम आउदा खोप लगाउन समस्या हुने जनाएको छ। स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले खोपको मात्रा भन्दा ११ हजार सिरिन्ज कम आएको जानकारी दिए । ‘खोपको मात्राजति नै सिरिन्ज आउनु पथ्र्यो ।’ कार्यालय प्रमुख शाहले भने, ‘केही दिनमै सिरिन्ज आएन भने खोप लगाउनै समस्या हुन्छ।’
खोप पठाइदिने, सिरिन्ज नपठाउने कार्यले खोप अभियानलाई प्रभावित पारेको छ । सिरिन्जको अभाव भएपछि स्वास्थ्य कार्यालय, बाँकेका खोप अधिकृत नरेश श्रेष्ठ र जनक गिरीले प्रदेशमा गएर तीन हजार ६ सय सिरिन्ज बोकेर आएका थिए । स्वास्थ्य कार्यालये बढीमा हप्ता दिनभित्र सिरिन्ज नआएमा खोप खेर जान सक्ने सम्भावना रहेको जनाएको छ। सरकारले सबै नागरिकलाई खोप लगाउने अभियान चलाएको छ । खोपको मात्रा बढाउनकै लागि सार्वजनिक स्थलमा जादा खोप कार्ड देखाउनु पर्ने भनिएको छ । एकातिर खोपको कभरेज बढाउने अभियान चलाएको सरकारले अर्कोतिर सिरिन्ज पुरयाउन सकेको छैन ।स्वास्थ्य कार्यालय, बाँकेका खोप अधिकृत नरेश श्रेष्ठका अनुसार, बाँकेमा ८२ प्रतिशतले खोपको पहिलो मात्रा लगाएका छन् र ५४ प्रतिशतले दोस्रो मात्रा लगाएका छन् । ४ हजार चार सय ८० जनाले बुष्टरमात्रा लगाएका छन् । खोप लगाउने उमेर समूहका चार लाखमध्ये अझै ७० हजार ५ सय ४८ जनाले एउटा पनि खोप लगाएका छैनन् । बाँकेको नरैनापुरमा खोपको कभरेज सबै भन्दा कम २७ प्रतिशत रहेको छ । राप्तीसोनारी, बैजनाथ, डुडुवा र जानकी गाउँपालिकामा पनि खोपको कभरेज कम नै रहेको छ । खोपको कभरेज कम भएका पालिकामा विशेष फोकस गर्ने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले खोपको कभरेज भएको बस्ती, टोल, समुदायमा विशेष फोकस गरेर घरघरमै पुगेर खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । स्वास्थ्य कार्यालय, बाँकेले १४ गतेपछि खोप कम लगाएको बस्तीमा पुगेर खोप लगाउने तयारी गरेको छ । त्यसकै लागि स्वास्थ्य कार्यालयका प्रमुख शाहलगायतको टोली नरैनापुरमा पुगेको छ । यस्तै स्वास्थ्य कार्यालयले अबदेखि भेरोसेल लगाउन बन्द गरी कोभिडशिल्ड लगाउने जनाएको छ । सीमावर्ती जिल्ला भएकाले बाँके कोरोनाको दोहोरो चपेटामा पर्ने गर्दछ । कोरोना शुरु भएदेखि बाँके जिल्लामा कोराना संक्रभित शून्यमा झरेको छैन । शून्यको नजिक पुगिसकेको बाँकेमा फेरि संक्रमितको संख्या उकालो लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर