सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिँदै आएको स्वास्थ्य बीमा सेवा आगामी जेठ १६ गतेदेखि स्थगित हुने भएको छ ।
स्वास्थ्य बीमा बोर्डले बढ्दो वित्तीय सङ्कटलाई मुख्य कारण देखाउँदै निजी क्षेत्रका स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने आकस्मिक बाहेकका अन्य सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको हो ।
किन लिइयो यस्तो निर्णय ?
बोर्डले निजी अस्पतालहरूलाई जारी गरेको पत्रमा स्वास्थ्य बीमा बोर्डको बढ्दो वित्तीय सङ्कटलाई मध्यनजर गर्दै यो कदम चालिएको उल्लेख छ । पछिल्लो समय बीमा कार्यक्रम अन्तर्गत अस्पतालहरूलाई भुक्तानी गर्नुपर्ने रकमको दायित्व बढ्दै गएको र कोषमा पर्याप्त रकम अभाव हुँदै गएका कारण बोर्डले निजी क्षेत्रसँगको सहकार्यमा केही समयका लागि रोक लगाएको बोर्डले जनाएको छ ।
सर्वसाधारणमा कस्तो प्रभाव पर्ला ?
यो निर्णयसँगै जेठ १६ गतेदेखि नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका देशभरका निजी अस्पताल, मेडिकल कलेज तथा नर्सिङ होमहरूमा बीमा कार्ड प्रयोग गरेर गराइने ओपीडी लगायतका नियमित उपचार सेवाहरू बन्द हुनेछन् । यद्यपि आकस्मिक सेवा भने निजी अस्पतालमा पनि बीमा अन्तर्गत नै सुचारु रहनेछन् ।
सरकारी अस्पतालहरूमा भने स्वास्थ्य बीमा अन्तर्गतका सबै सेवाहरू साबिक बमोजिम नै सञ्चालन हुनेछन् । निजीमा सेवा बन्द भएसँगै सरकारी अस्पतालहरूमा बिरामीको चाप थप बढ्ने निश्चित देखिएको छ ।



