सुशिला पाण्डे

म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग्यबस मैले मधेशदेखि पाहाडसम्म अनि दुर्गम हिमाली जिल्लादेखि राजधानी काठमाडौंसम्म सेवा गर्ने अबसर पाएँ।

मेरा लागि अझ सौभाग्य यो थियो कि मैले मेरो मुलुकका दुर्गम भेगमा बस्ने, राज्यबाट प्रदान गरिने सेबा तथा सुबिधाबाट बञ्चित भएका तथा सामाजिक बिभेदको चक्रब्युहमा फसेका परिवारजनलाई मेरो बुताले भ्याएसम्म स्वास्थ्य सेवा प्रदान गर्न पाएँ।

दुःखको कुरा बिगत ५ बर्ष देखि म आफ्नै मुलुकमा छैन। यसमा मलाई हरदम ग्लानी महसुस हुने गर्छु। मानवताका हिसाबले त मैले जुन सुकै देशको नागरिकलाई स्वास्थ्यसेवा पुर्‍याए पनि आखिर मेरो पेशागत धर्म पुरा होला तर आफ्नै मुलुकका दाजुभाइ तथा दिदी बहिनी बिच रहेर स्वास्थ्य सेवा पुर्‍याउनुको आत्मसन्तुष्टी र पुन्य भने अर्कै हुन्थ्यो जुन मैले अहिले अनुभूती गर्न पाइराखेको छैन। यस अवसरबाट बञ्चित हुँदा मलाई हिनताबोध हुने गर्छ। उत्तर अमेरिकी मुलुक क्यानाडामा रजिस्टर्ड नर्सको रुपमा कार्यरत रहँदा मैले नाम र दाम त नेपालमा भन्दा बढी नै पाएको हुँला तर मैले मेरो आफ्नै मातृभूमीप्रतिको एक नागरिकले निबार्ह गर्नु पर्ने दायित्व निर्बाह गर्न नसक्दा पीडा महसुस गरेको छु। यही पिडाका बिच मेरो मन फेरि मेरो मन डा केसीको सत्याग्रहले नराम्ररी बिझाएको छ। आफ्नो ज्यान दर्जनौं पटक जोखिममा राखेरै भए पनि नागरिक स्वास्थ्यका लागि मर्न तयार हुने उनको सत्याग्रहमा नैतिक समर्थन नगरी मैले बस्न सकिनँ र यो लेख लेख्ने कोशिश गरेको हुँ।

नागरिकले तिरेको करबाट नेताको हाइड्रोसिलको उपचार

स्वास्थ रहन पाउनु मानिसको नैसर्गिक अधिकार हो। यसका लागि उसले उचित स्वास्थ्यसेवा पाउनुपर्छ। यो जीवनको न्युनतम शर्त हो। राज्यले आफ्ना नागरिकहरुलाई  निर्बाध रुपमा गुणस्तरीय स्वास्थ्यसेवा उपलब्ध गराउनु पर्छ। यो उसको पहिलो दायित्व हो। यसबाट उ रत्तिभर भाग्न पाउँदैन। नागरिकहरु यस अर्थमा कर तिर्छन् कि राज्यले उनीहरुबाट उठाएको कर सामाजिक लाभका क्षेत्रमा खर्च हुन सकोस्। यसैकारण हामी कहाँ पनि आम सर्वसाधारण नेपाली नागरिकले राज्यले निर्धारण गरेका सबै प्रकारका करहरु तिरेका छन्। मुल्यअभिबृद्घिकर देखि आयकर सम्म, सम्पत्ती कर देखि सवारी करसम्म जे जति नाम गरेका करहरु छन् ती सबै नागरिकहरुले तिरेकै छन्।

यदि कसैले तिरेका छैनन् भने कि त ती राज्यबाट उच्च सुबिधा पाउने कुलिन व्यक्तिहरु छन् कि त राजनीतिको आडमा लाभ प्राप्त गरेका मानिसहरु नै हुन्। राज्यबाट अनधिकृत रुपमा स्वास्थ्य सेवाका नाममा यदि कसैले लुट मच्चाएका छन् भने ती सबै राजनैतिक पहुँचवाला व्यक्तिहरु नै छन् जसले राज्यलाई कर तिरेका छैनन्। अनि त्यस्ता व्यक्तिहरुले नेपालमा सुलभ स्वास्थ्यसेवा पाएका छैनन् जसले तिरेको करमा नेपालका स्वनामधन्य नेताहरु हाईडोसिलको अप्रेशन गर्न समेत बिदेशको कुनै महगों अस्पताल धाउँने गर्छन्। उनीहरु नियमित स्वास्थ्य परिक्षण गर्नैका लागि राज्यबाट करोडौं रकम निकासा गराएर देश देशाटन गर्न भ्याउँछन्। यसरी नेता र नागरिक दुई भिन्न प्रजातीको मानव भएको यस्तो तल्लो स्तरको सोचाई मैले बिश्वका कुनै पनि प्रजातान्त्रिक मुलुकहरुमा देखेको छैन जहाँ म गएको छु। जुन कुरा मैले विश्वका अन्य मुलुकहरुमा देख्न पाईन आज त्यो निर्लज्जता आफ्नै मुलुकमा देख्दा मन भक्कानिएर आउँछ। मलाई लाग्छ, यहि अत्याचारको परिणतीले नागरिकहरुको राज्य प्रतिको बिश्वास डगमगाएको हो अनि डा केसीको अनसन पनि यहि अत्याचार बिरुद्घको सुसुप्त ज्वालामुखी हो।

डा केसीको माग र दलहरुको अकर्मन्यता

मलाई लाग्छ डा केसीका कुनै पनि माग निजी छैनन्। उनका मागमा राजनैतिक रंग छैनन्। समग्रमा उनले जे भनेका छन् ती सबै नागरिकहरुको सर्बसुलभ स्वास्थसेवाको उपलब्धताका लागि भनेका छन्। दुनियाले बुझेको छ कि कुनै पनि हिसाबले उनका मागहरु व्यबसायिक लाभ हानीबाट अभिप्रेरित छैनन्। हामीले देखेका छौं कि उनले नेपालका तीन वटै प्रमुख राजनैतिक दलको सरकार भएको बेलामा आमरण अनसन बसेका छन्। यस अर्थमा कुनै पनि अमुक दलको सरकारलाई असफल प्रमाणित गर्न उनले अनसन बसेका हैनन्। यस अर्थमा आम नागरिकहरु उनका मागमा सदासयता राख्छन्। सबै नेपालीहरु बहुलाएका पनि छैनन् कि गलत काम गर्ने डा केसीलाई उनीहरु सधैं सहि मात्र देखुन्। यदि  उनका माग भित्र कुनै राजनैतिक आर्थिक लाभका गन्ध हुन्थे भने नागरिकहरु उनका मागको समर्थनमा अन्धो भएर लाग्दैन थिए। त्यसैले डा केसीका तमाम मागहरु स्वास्थ्यसेवामा भएको संरचनागत, नितीगत, व्यबहारगत, तथा राजनैतिक भष्टाचार बिरुद्घका हुन् भन्नेमा कुनै शंका छैन र यस उपर कुनै पनि राजनैतिक दलले आत्तिनु पर्ने कुनै कारण छैन।

बिदेशको स्वास्थसेवा र हाम्रो नियती

बिदेशको स्वास्थसेवाको कुरा गर्दा मनै पोलेर आउँछ। गुणस्तरीय सेवा, विश्वसिलो उपचार पद्घती, उच्चस्तरीय प्रविधी सबै थोक उपलब्ध छ त्यहाँ। कतिपय मुलुकमा हेल्थ  टुरिज्म उनीहरुको आम्दानीको प्रमुख श्रोत बनेको देखिन्छ। बिदेशीहरुलाई स्वास्थ्यसेवा बेचेरै यिनीहरुले अकुत धनसम्मती आर्जन गरेका छन् र आफ्ना नागरिकलाई निशुल्क स्वास्थ्यसेवा दिएका छन्। जहाँ हाम्रै जस्ता मुलुकबाट गरिब जनताले तिरेको करको रकम कुम्ल्याएर आउने नेताहरुले तिरेको महगो सेवा र शुल्कबाटै यिनीहरुले वर्षैनी बिलियन डलर कमाएका हुन्छन्।  आखिर धनी मुलुकका ती आम सर्बसाधारण मानिस जसले गुणस्तरीय स्वास्थ्यसेवा पाएका हुन्छन् तिनीहरु पनि मानिस नै हुन् अनि बिपन्न मुलुकका हामी जस्ता पनि मानिस नै हौं जसले राज्यलाई कर तिर्छौ र बदलामा मृत्युपत्रमा सहि गर्छौ। आखिर नागरिक र नेताका बिचमा यो खपि नसक्नुको बिभेद किन गरिन्छ हाम्रो मुलुकमा ?के यस प्रति हामी सचेत हुनु पर्दैन ? मलाई लाग्छ, डा. केसी यहि अत्याचार बिरुद्घका मसाल हुन्।

स्वास्थ्य सेवा हो कि व्यवसाय हो ?

स्वास्थ्य सेवा हो कि व्यबसाय हो भन्ने मै हामी यसमा प्रष्ट छैनौं। मेरो बिचारमा स्वास्थ्यसेवा व्यबसाय हुनु हुँदैैन थियो। यदि यसलाई “व्यवसाय” नै बनाउने हो भने त व्यापारीहरुले नाफा लिन खेज्ने नै भए। तर मेरो बुझाईमा राज्य व्यापारी नहुनु पर्ने हो। तर हामी कहाँ “स्वास्थ्यसेवा” एक नम्वरको लाभ दिने व्यापार भएको छ । डाक्टरहरु घरानीया ब्यापारी भन्दा धनाध्य भएका छन्। ती डाक्टरहरु जसलाई आम नागरिकहरु भगवान सरह मान्छन् तर तिनै गरिबका निम्ती डाक्टरहरु सम्मको पहुँच अत्यन्त कठिन हुन्छ। सरकारी अस्पतालमा उनीहरु कमै मात्र भेटिन्छन्। अधिकांश नाम चलेका डाक्टरहरुका आफ्नै निजी स्वास्थ्य व्यापार गृहहरु छन्। अरबौंका मालिक छन् नेपालका कैयन डाक्टरहरु , मेडिकल कलेजका संस्थापकहरु, यसका बिचौलियाहरु। राज्यले दिने सेवा गुणस्तरहिन हुने अनि निजी डाक्टर साहेवहरुले लिने मुल्य हजारौंको हुने हो भने आखिर नागरिकहरु जाने कहाँ ? आखिर मानिसहरु स्वस्थ्य भए नै मुलुकको आर्थिक बिकासका लागि योगदान दिन सक्ने हो। यहाँ त न त नागरिकलाई स्वस्थ बन्न दिईन्छ नत स्वास्थ्यको नाममा हुने व्यापारलाई निरुत्साहित गर्न सकिएको छ। यहि नै हाम्रो लागि दुर्भाग्य साबित भएको छ। मलाई लाग्छ डा के सी को मागको चुरो कुरो पनि यसैमा निहित छ। यदि डा केसीले त्यो भन्दा तलमाथि गर्न चाहेका भए उनलाई राज्यद्रोहको मुद्दा लगाएर जेल कोचिदिए हुन्छ। हैन उनी सहि छन् भने राज्यलाई यसरी दोहन गर्ने सुदखोरहरुलाई गोलघरमा सढाईदिए हुन्छ।

धनी मुलुक निःशुल्क स्वास्थ्यसेवा तर गरिब मुलुक सशुल्क स्वास्थ्यसेवा

म अहिले जुन मुलुकमा काम गर्छु त्यहाँ सबैलाई स्वास्थ्य सेवा निशुल्क उपलब्ध छ। सबैलाई समान प्रकारको स्वास्थ्यलाभ प्राप्त छ। चाहे त्यो नेता होस् वा आम सर्बसाधारण। सबैलाई एकै प्रकारको स्वास्थ्यसेवा उपलब्ध छ। कसैले चाहेकै भरमा बढी सेवा सुबिधा लिने भन्ने कुरा कल्पना गर्न पनि सकिदैन। कसैले नचाहदैमा कम सुबिधा लिन पर्ने पनि हुँदैन। जे छ सबैका लागि छ र समान छ। यहाँ कुनै पनि प्रकारको बिभेद छैन। यहाँका नेताहरु अन्य मुलुकमा उपचार गर्न पनि जाँदैनन्। मैले नबुझेको कुरो, सबैलाई समान स्वास्थ्यसेवा किन उपलब्ध छैन हाम्रो मुलुकमा।

यहा डाक्टरहरुले बिरामी हेरे बापत पैसा त पाउँछन् तर त्यो पैसा बिरामीले तिर्नु पर्दैन सरकारले डाक्टरलाई तिरी दिन्छ। यहाँ प्याथोलोजी, रेडियोलोजी, लगायत सम्पुर्ण परिक्षण बापतको खर्च समेत ती ल्याबहरुलाई राज्यले तिरीदिन्छ। नागरिकले केही तिर्नु पर्दैन। व्यक्ति जति पटक बिरामी हुन्छ त्यती नै पटक डाक्टर कहाँ  जान सक्छ। डाक्टरलाई मेरो यो यो परिक्षण गराई देउ भनेर भनेर उसले निस्फिक्री भन्न सक्छ र उसले प्रत्येक पटक ति सुबिधा निर्बाध पाउँछ जसकालागि उसले कुनै मुल्य तिर्न पर्दैन। अनि किन नागरिकहरुको राज्य प्रति आस्था रहदैन ? अनि किन नागरिकहरुले राज्यलाई हाँसी खुशीका साथ कर तिर्न चाहदैन ? किन हुन सक्दैन हाम्रो मुलुकमा यस्तो परिपाटी ? के ले रोक्यो ? पैसाले ? कि जनसशक्तिले ? कि कुनै अदृश्य शक्तिले ? के हामी सँग यसको जवाफ छ ?  छैन। हामीसँग यसको कुनै जवाफ छैन। यसको जवाफ डा केसीको सत्याग्रहको अन्तस्करणमा छ। तर राज्यसँग छैन।

बिदेशमा बिरामीहरुलाई भगबान सरह मानिन्छ। उनीहरु लाभग्राही हुन् भने स्वास्थकर्मीहरु चाँही उनीहरुका सेबक सरह मात्र हुने गर्छन्। हामी कहाँ त्यो संस्कार अझ बस्न सकेको छैन। कुनै पनि बिरामीलाई डाक्टर नर्स वा अन्य स्वास्थ्य कर्मीहरुले अत्यन्त महत्व दिने गर्छन्। यदि कुनै बिरामीलाई डाक्टर र नर्सले उसलाई अपमान गर्यो वा अन्य कुनै प्रकारको बिभेद गर्यो जस्तो लाग्यो भने उसको एउटा सानो कम्प्लेनका भरमा ती डाक्टर वा नर्सको प्राक्टीस लाईसेन्स क्षणभर मै रदद हुनसक्ने कानुनी प्रावधान रहेको छ बिदेशमा। यहाँ बिरामीले आफुलाई यति सम्म सुरक्षित महसुस गर्छ कि उसको आधा जसो रोग त स्वास्थ्यकर्मीको व्यबहारबाट नै कम हुन जान्छ। यति मात्र हैन बिरामीको गोपनीयतामा अलिकती पनि आँच पुर्याउन पाईदैन वा कथम कदाचित पुगिहाल्यो भने उक्त स्वास्थ्यकर्मीको जागिर तुरुन्तै धरापमा परिहाल्छ, वा कुनै पनि बेला ठुलै मुल्य चुकाउनु पर्ने हुन सक्छ। के हाम्रो मुलुकमा हामी स्वास्थ्यकर्मीहरु यसरी नै जवाफदेहि बनीरहेका छौ त। एकपटक हामीहरुले पनि आफुलाई जवाफदेहिताको कसीमा राखेर हेर्नु पर्ने बेला भएको छ। मलाई लाग्छ डा केसीको सत्याग्रहले यस्तो जवाफदेहिताको अपेक्षा गरेको छ हामी स्वास्थ्यकर्मीबाट पनि जसमा हामी आफै पनि धेरै हदसम्म चुकेका छौं।

अन्तमा डा केसीले थालेको सत्याग्रहलाई राजनैतिक आरोप, प्रत्यारोप, आग्रह र पूर्वाग्रह भन्दा माथि उठी नेपालको स्वास्थ्य क्षेत्रमा हाल देखिएका बिकृतीका बिरुद्घ गरिएको शुद्घिकरणको युद्घको रुपमा लिनुपर्छ। यदि उनका माग गलत छन् भने पनि नागरिकहरुले थाहा पाउनु पर्यो कि उनका यी यी मागहरु गलत छन् भनेर। यदि उनी कसैको मतियार भएका हुन् भने राज्यले त्यसको पहिचान गर्नु पर्यो र सबैका सामुन्ने त्यसलाई नङ्ग्याउने हिम्मत गर्नु पर्यो। त्यस्तै पटक पटक आमरण अनसन बसेर यदि उनले राज्यलाई नै चुनौती दिएका हुन् र उनले राज्यद्रोहको अपराध गरेका हुन् भने राज्यले त्यस्ता राज्यद्रोहीलाई हदैसम्मको कार्यबाही गनुपर्यो। उनलाई जेल हाल्नु पर्यो। खुल्ला मञ्चमा लगेर नुनचुक दल्नु पर्यो र भन्नु पर्यो कि उनी हठधर्मी हुन्, निर्बिबेकी हुन्, गती छाडा बज्रस्वाँठ हुन् र यीनकै कारणले गर्दा आज आम नागरिकहरुले अमैनचैनको सास फेर्न पाएनन् भन्नु पर्यो।

मलाई लाग्छ, वर्तमान राज्य संयन्त्रसँग उनसँग पौठेजोरी खेल्ने हिम्मत छैन। यसको कारण प्रष्टै छ कि उनले सत्याग्रहका माध्यमबाट कुनै दल बिशेषको वकालत गरेका छैनन्। कुनै नेताका पछि हिडेका छैनन् र कसैको हनुमान बनेका छैनन्। यदि डा केसीलाई कथम कदाचित केहि भै हाल्यो भने त्यसपाछि आउने आँधीलाई रोक्ने सामथ्र्य बर्तमान राज्यसंयन्त्र सँग हुने छैन। उक्त बेला डा केसीको मुखमा लागेको अक्सिजनको मास्क नै सरकारको आत्महत्याको पासो बन्नेछ। आशा गरौं, यसो हुनु पुर्व नै राज्यले त्यसको समाधान खोज्नेछ र नागरिकहरुले सर्बसुलभ स्वास्थ्यसेवा लिने अबसरको थालनी हुनेछ।

सेतोपाटि बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah