प्रदेश नम्बर २ मा स्थानीय तह निर्वाचन सम्पन्न हुनुअघि कांग्रेस नेताहरुको दावी थियो, ‘निर्वाचन हुन बाँकी १ सय ३६ मध्ये कम्तिमा एक सय सिट जितेर नेपाली कांग्रेस पहिलो दल बन्नेछ।’
कांग्रेसका बरिष्ठ नेता बिमलेन्द्र निधिदेखि महामन्त्री शशांक कोइराला र युवा नेता विश्वप्रकाश शर्मासम्मले यस्तो दावी गरेका थिए।
बाँकी प्रदेशमा त्यसअघि नै दुई चरणमा भएका निर्वाचनमा २ सय ७५ तहमा प्रमुख जितेर पहिलो दल बन्न सफल एमालेले कांग्रेसले झैं सय सिट नै जित्ने दावी त गरेको थिएन। तर बरिष्ठ नेता माधव नेपालदेखि सचिव योगेश भट्टराई लगायतका नेताहरुले ६०–७० सिटमा विजयका साथ प्रदेश–२ मा पनि एमालेको अग्रता कायमै रहने ठोकुवा गरेका थिए।
नयाँ शक्तिका रामचन्द्र झा र रामकुमार शर्मा, राष्ट्रिय जनता पार्टी (राजपा) का अनिश अन्सारी, नेपाल लोकतान्त्रिक फोरमका रामेश्वर राय यादवजस्ता प्रभावशाली मधेशी नेताहरुको पार्टी प्रवेशपछि माओवादी केन्द्रपनि प्रदेश–२ को निर्वाचन परिणाम आफ्नो पक्षमा आउने अपेक्षा गरिरहेको थियो। ४०–५० स्थानीय तहमा जितसहित प्रदेश–२ को पहिलो दल बन्ने आन्तरिक विश्लेषण माओवादी केन्द्रले गरेको थियो।
प्रदेश–२ को सबैभन्दा ठूलो दल बन्ने दावी राजपा र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले पनि गरेका थिए। मधेश प्रदेशको रुपमा चिनिएको र संविधान जारी भएपछि त्यसविरुद्ध आन्दोलनको नेतृत्व गरेकाले प्रदेश–२ मा सबैभन्दा धेरै सिट जितेर पहिलो ठूलो दल बन्नुपर्ने चुनौति र दवाव यी दुवै मधेश केन्द्रित दललाई थियो।
तर २ असोजमा प्रदेश–२ मा भएको निर्वाचन परिणाम उनीहरु सबैको दावी र अपेक्षा गरेभन्दा विपरित आएको छ। १० असोज साँझसम्म घोषित परिणाम अनुसार समग्र परिणाममा एमालेलाई मात गर्ने गरी न नेपाली कांग्रेसले विजय हासिल गर्न सक्यो, न बाँकी पाँच प्रदेशमा बढत हासिल गरेको एमालेले यहाँपनि त्यस्तै नतिजा निकालेर यो प्रदेशको पनि सबैभन्दा ठूलो दलको मान्यता पाउन सक्यो।
मधेश भूमिमा मधेशकेन्द्रित दलहरु पनि पहिलो शक्ति बन्ने अवसरमा चुकेका छन्। ४०–५० तहमा विजय हासिल गरेर पहिलो दल बन्ने माओवादी केन्द्रको आन्तरिक विश्लेषणले पनि व्यवहारमा मूर्तरुप पाउन सकेन। त्यहाँ उपरोक्त सबै दलहरुले दर्जन भन्दा बढि स्थानीय तहमा जीत त निकालेका छन्। तर त्यहाँको परिणाम उनीहरुका लागि ‘नखाउँ भने दिनभरिको शिकार …’ उखानजस्तो हुन पुगेको छ।
कांग्रेस–एमालेः जितसहितको हार
पहिलो र दोस्रो चरणको निर्वाचनमा २ सय ७६ स्थानीय तहमा प्रमुख जितेर एमाले पहिलो दल बनेको थियो। प्रदेश २ मा भएको निर्वाचनमा उसले १८ तहसहित कूल २ सय ९४ स्थानमा विजय हालिस गरिसकेको छ भने बाराको कलैया उपमहानगरपालिकामा झिनो मतान्तरका साथ अग्र स्थानमा छ।
उता, ३९ तह जितेर प्रदेश २ मा पहिलो दल बनेको नेपाली कांग्रेस चाहिँ समग्र मत परिणाममा २ सय ६५ स्थानका साथ दोस्रो नम्बरमा छ। प्रदेश २ को निर्वाचन परिणामपछि पनि एमाले पहिलो ठूलो दलको हैसियतमा नै छ। समग्र परिणाम अनुसार पहिलो ठूलो दल भएपनि एमाले नेताहरुमा अघिल्ला दुई निर्वाचनमा जस्तो उमङ्ग र हुंकार छैन। उनीहरु पहिलो ठूलो पार्टीको हैसियत कायमै रहेकोमा खुसी मनाउन सकिरहेका छैनन्।
कारण के हो भने, समग्र परिणाममा त उ पहिलो देखियो। तर प्रदेश–२ मा भने पाँचौ स्थानमा खुम्चिन बाध्य भयो। प्रदेश–२ मा एमाले नेपाली कांग्रेस भन्दा २१ स्थानले पछि परेको छ। यसैगरी फोरम भन्दा ७ र राजपा भन्दा ६ कम छ भने माओवादी केन्द्र भन्दा तीन तह कम जितेको छ उसले। त्यसैले, समग्र निर्वाचन परिणामबाट ठूलो दल बनेपनि एमाले नेताहरुको दिल खुस छैन।
प्रदेश–२ मा पनि पहिलो दल बन्न सक्दा आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जीतको मनोविज्ञान सहित प्रतिस्पर्धामा उत्रन सहज हुने एमाले नेताहरुको विश्लेषण थियो। जीतको मनोविज्ञान सहित प्रतिस्पर्धा गर्दा परिणामपनि सकरात्मक आउन सक्थ्यो। तर, त्यो अवसर प्रदेश–२ को निर्वाचनपछि उसले गुमाउन पुगेको छ।
तर खुसी कांग्रेसका नेताहरुमा पनि देखिन्न। हो, यो निर्वाचनमा नेपाली कांग्रेस प्रदेश–२ को सबैभन्दा ठूलो दल बनेको छ। दोस्रो ठूलो दल बनेको फोरमले भन्दा उसले १६ स्थानीय तहमा नेतृत्व हासिल गरेको छ भने यो निर्वाचन परिणामपछि समग्र नजितामा एमालेसँग उसको अन्तरपनि साँघुरिएको छ।
अघिल्ला दुई निर्वाचन परिणाममा कांग्रेस एमालेभन्दा ५० सिटले पछि परेको थियो। प्रदेश–२ को निर्वाचनपछि त्यो अन्तर अव २६ मा झरेको छ। यो त्यति ठूलो अन्तर पनि होइन। एकातिर अन्तिम प्रदेशको निर्वाचनमा पहिलो पार्टीको ताज, अर्कोतिर एमालेसँगको अन्तरमा पनि कमी। तरपनि कांग्रेस नेताहरु किन खुसी हुन सकेका छैनन् भने, समग्र परिणाम अनुसार पहिलो ठूलो दलको ताज अझै एमालेकै शीरमा छ।
नेताहरुले दावी गरेजस्तो यदि यो निर्वाचनमा कांग्रेसले सयवटा स्थानीय तहमा विजय हासिल गर्न सकेको भए अघिल्ला दुई निर्वाचन परिणामबाट एमालेले पाएको पहिलो ठूलो पार्टीको ताज कांग्रेसको शीरमा पर्ने थियो। एमालेले अपेक्षा गरेको जीतको मनोविज्ञान सहित कांग्रेस चुनावमा जान पाउने थियो। प्रदेश–२ मा कांग्रेस पहिलो त भयो तर, समग्र परिणाममा पहिलो हुने गरी स्थानीय तह जित्न उ असफल रह्यो।
यसबाहेक कांग्रेसले आफ्नो परम्परागत किल्ला ठान्दै आएको केही नगरपालिकाहरु गुमाउन पुगेको छ। प्रदेश–२ को एकमात्र महानगरपालिकामा विजय हासिल गर्नेमा कांग्रेस अत्यन्त विश्वस्त थियो। यसैगरी यो प्रदेशको सबैभन्दा चेतनशील मानिने जनकपुरमा पनि विजय हासिल गर्न सकिनेमा नेताहरु निकै नै आशावादी देखिन्थे। यो चुनावका कमाण्डर मानिएका विमलेन्द्र निधिले आफूलाई जनकपुरमा नै केन्द्रित गरेका थिए।
तर राजपासँगको प्रतिस्पर्धामा ठूलो मतान्तरका साथ उसले जनकपुर गुमाएको छ भने एकमात्र महानगरपालिका विरगञ्जपनि गुमाउँदै छ। कांग्रेस उम्मेदवार अजय द्धिवेदी फोरम उम्मेदवार विजय सरावगीभन्दा निकै पछि पर्दै गएका छन्। मतगणना शहरी क्षेत्रमामात्र बाँकी रहेको र त्यहाँ फोरम उम्मेदवारको निरन्तरको बढत हेर्दा के देखिन्छ भने अब त्यहाँ कांग्रेसको पुनरागमन असम्भव जस्तै छ। पुनरागमन भइहाल्यो भने त्यो आश्चर्य हुनेछ।
प्रदेश–२ मा पहिलो दल बनेपनि अपेक्षा गरे अनुसार जित हासिल गर्न नसक्नु, जनकपुरमा कांग्रेसको लज्जास्पद पराजय र विरगञ्जपनि गुम्ने सम्भावना कांग्रेसका लागि निकै ठूलो चोट हो। मधेश केन्द्रित दलहरुलाई पछि पार्दै प्रदेश–२ को ठूलो दल बनेपनि फोरम र राजपाले जितेका स्थानीय तह जोड्ने हो भने कांग्रेस दोस्रो स्थानमा देखिन्छ। त्यसैले पनि कांग्रेस नेताहरु जीतको जश्न मनाउन सकिरहेका छैनन्।
निर्वाचन परिणामले यदि कसैको राजनीतिक प्रतिष्ठामा ठेश पुगेको छ भने पूर्व उपप्रधान तथा गृहमन्त्री रहेका कांग्रेसका कार्यबाहक सभापति विमलेन्द्र निधि र एमाले बरिष्ठ नेता माधव नेपाललाई पुगेको छ। निधिले जनकपुर गुमाएका छन् भने नेपालको गृहजिल्ला रौतहतमा एमालेले स्थानीय तहको एउटा प्रमुख पनि जित्न सकेन। बलियो किल्ला मानिएको चन्द्रपुर नगरपालिका समेत आपसी अन्र्तद्वन्द्वका कारण गुमाउन पुगेको छ एमालेले।
त्यसैले प्रदेश–२ को ठूलो दल र समग्र परिणाममा ठूलो दल बनेको एमाले दुवै यो जीतलाई जीत मान्न सकिरहेका छैनन्।
मधेशी दल–माओवादीः गर्व गर्न नसक्ने जित
प्रदेश–२ को निर्वाचनमा फोरम दोस्रो ठूलो दल बन्न सफल भएको छ भने राजपा तेस्रो ठूलो दल। हालसम्मको नतिजामा २९ तहमा विजय हासिल गरिसकेको फोरम विरगञ्ज महानगरपालिकामा अग्रस्थानमा छ भने राजविराज नगरपालिकामा अग्रतासहित राजपाले २४ तहको प्रमुखमा विजय हासिल गरिसकेको छ।
मधेश आन्दोलनको असफलता, राजपाका प्रमुख नेताहरुको पलायनका बाबजुद उनीहरुले यो निर्वाचनमा प्राप्त गरेको स्थान अप्रत्यासित नै हो। अझ फोरम र राजपाले जितेका स्थानीय तह जोड्ने हो भने पहिलो बनेको कांग्रेस भन्दा निकै धेरै हुन आउँछ। यसो पनि भन्न सकिन्छ, प्रदेश–२ मा कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेपनि जित चाहिँ मधेश केन्द्रित दलहरुको नै भएको छ।
जस्तो, फोरमले विजय हासिल गरेका २९ र राजपाले विजय हासिल गरेका २४ तह जोड्ने हो भने कूल जीतको संख्या ५३ तह हुन जन्छ। त्यसबाहेक विरगञ्जमा फोरमको र राजविराजमा राजपाको अग्रता छ। एमाले र माओवादी केन्द्रजस्ता ठूला दलहरुलाई समेत उनीहरुले पछि पारिसकेका छन्। तर, कांग्रेस–एमालेमा जस्तै ‘जीतको जश्न’ उनीहरुले पनि मनाउन सकिरहेका छैनन्।
खासमा यही प्रदेश नगुमोस् भनेर नै अन्यत्र बहिस्कार गरेको राजपा संविधान संसोधन असफल भएपनि प्रदेश २ मा चाहिँ प्रतिस्पर्धा गर्ने निर्णयमा पुगेको थियो। प्रदेश–२ मा जित हासिल गर्ने अपेक्षाका साथ फोरमपनि सुरुदेखि निर्वाचनमा सहभागी हुन पुगेको थियो। मधेश प्रदेशको रुपमा चिनिने यही प्रदेश उनीहरुको आधार हुनुका नाताले पनि यहाँ बहिस्कार गर्ने छुट उनीहरुलाई थिएन। आफ्नै आधारभूमिमा हुन लागेको निर्वाचन बहिस्कार गर्दा दीर्घकालिन असर पर्ने भय र विश्लेषण उनीहरुको थियो, जुन सही पनि हो।
तर आफ्नै आधार क्षेत्रमा मधेश केन्द्रित दलहरुले अपेक्षा गरे अनुसारको स्थान हासिल गर्न सकेनन्। मधेश आन्दोलनको उद्गमस्थल मानिने सिरहाको लाहानमा मधेश ‘मधेश विरोधी’ करार गरिएको एमाले शानदार मतान्तरका साथ विजयी भयो। एकातिर मधेशमा नै पहिलो दल बन्न नसकेको स्थिति, अर्कोतिर लाहानमा हार, यही कारण फोरम र राजपा क्रमशः दोस्रो र तेस्रो ठूलो दल बनेपनि नेताहरु उत्सवको मुडमा देखिएका छैनन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रदेश–२ को निर्वाचन अघि तीब्र दौडाहामा थिए। नयाँशक्ति र राजपाका शीर्ष नेताहरुको पार्टी प्रवेशपछि प्रचण्ड कति उत्साही देखिएका थिए भने, मौन अवधि सुरु हुनुअघि प्रदेश–२ मा अप्रत्यासित परिणामका साथ माओवादी केन्द्र नै पहिलो हुने दावी गरेका थिए। माओवादी नेताहरु के बताउँछन् भने, प्रदेश–२ मा देखिएको उभारबाट साँच्चिकै पार्टी पहिलो हुने भित्री विश्वास प्रचण्ड लगायतका शीर्ष माओवादी नेताहरुलाई थियो।
पहिलो संविधान सभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको माओवादी केन्द्र मधेश आन्दोलनका कारण प्रदेश–२ मा झण्डै बढारिएको थियो। तर स्थानीय तह निर्वाचनमा त्यहाँ उसले २१ तहमा विजय हासिल गरेको छ, ‘कम्युनिष्ट प्रतिद्वन्द्वी’ एमालेलाई मात पनि गरेको छ। उसले हासिल गरेको यो स्थानलाई माओवादी इतर पंक्तिले जीतकै रुपमा व्याख्या गरेका छन्। तर माओवादी नेताहरु चाहिँ यसलाई सिर्फ सन्तोषजनकमात्र भनिरहेका छन्। जीतको रुपमा व्याख्या गर्न सकेका छैनन्।
माओवादी केन्द्रका नेताहरु सिर्फ के कुरामा मात्र हर्षित देखिन्छन् भने, बाँकी ६ वटा प्रदेशमा एमाले भन्दा पछि परेपनि प्रदेश–२ मा चाहिँ एमाले भन्दा उ अघि देखिन्छ। एमालेले १८ तहको प्रमुखमा जीत हासिल गर्दा उ २१ तहमा विजयी बनेको छ। साथै, निर्वाचनपछि एमाले नेताहरुको गिरेको नूर पनि माओवादी केन्द्रका नेताहरुले देख्न पाएका छन्। सिरहामा उ सबैभन्दा ठूलो दलको रुपमा स्थापित भएको छ भने महोत्तरी, सर्लाही, रौतहट, पर्सामा उसले राम्रो नजिता ल्याएको छ।
तीनमध्ये अन्तिम चरणको निर्वाचनमा एमालेमाथि हावी देखिएपनि माओवादी केन्द्र निर्वाचन परिणामबाट त्यति उत्साहित हुन नसक्नुको मूलतः दुई कारण छन्।
एक, प्रदेश र प्रतिनिधि सभाको आगामी निर्वाचनमा यो प्रदेशमा प्रतिस्पर्धा गर्नुपर्ने कांग्रेस र मधेश केन्द्रित दलहरु आफूभन्दा धेरै शक्तिशाली देखिनु। दुई, दोस्रो संविधान सभा निर्वाचनमा विजय हासिल गरेको सप्तरीमा चाहिँ ‘स्वीप आउटु हुनु।
६ निर्वाचन क्षेत्र रहेको सप्तरीमा विगत निर्वाचनमा माओवादी केन्द्र एक्लैले ३ सिटमा विजय हासिल गरेको थियो भने कांग्रेस २ र एमाले १ निर्वाचन क्षेत्रमा सिमित भएका थिए। तर, स्थानीय तह निर्वाचनमा सप्तरीमा माओवादी केन्द्र सून्य हुन पुग्यो। त्यहाँ कांग्रेस, मधेश केन्द्रित दल र एमाले हावी देखिए। त्यसैले अन्यत्रको परिणाम उत्साहप्रद भएपनि सप्तरीको पराजयका कारण माओवादी केन्द्र त्यति उत्साहित देखिन्न।
दुई, माओवादीको आन्तरिक विश्लेषण के थियो भने, प्रदेश–२ मा एमाले यसै पनि कमजोर छ। राजपाका नेताहरुको माओवादी केन्द्रमा प्रवेशपछि मधेश केन्द्रित दलहरुपनि कमजोर बन्नेछन्। त्यसैले निर्वाचनमा सिधा प्रतिस्पर्धा कांग्रेससँग हुनेछ। तर, यसको विपरित निर्वाचन परिणामले के देखायो भने, कांग्रेससँग मात्र होइन, फोरम र राजपासँग समेत उसले आगामी निर्वाचनमा उत्तिकै कठिन प्रतिस्पर्धा गर्नुपर्नेछ यो प्रदेशमा।
निर्वाचन परिणाम अन्त्यतिर पुग्दै गर्दा राजनीतिक विश्लेषक चन्द्र किशोरले आफ्नो फेसबुक वालमा लेखेका छन्, प्रदेश–२ः अपरिभाषित सम्भावनाओंका खुला आकाश। झाले लेखेजस्तै, प्रदेश–२ को सम्भावनामात्र अपरिभाषित छैन, स्थानीय तह निर्वाचनको परिणामपछि आगामी निर्वाचनको परिणामपनि परिभाषित वा यकिन गर्न नसकिने हुन पुगेको छ प्रदेश २ मा।
कारण यही हो कि, कुनैपनि दलले त्यहाँ विजय महसुस गर्न सकेका छैनन्, ताज पहिरिन सकेका छैनन्।



