मलेसियामा जारी एसिसी यू–१९ एसिया कपमा नेपालले भारतविरूद्ध ऐतिहासिक जित हात पारेको छ।

कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनले नेपालले भारतलाई १९ रनले हराउँदैं इतिहास रचेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपालले भारतलाई कुनै पनि प्रतियोगितामा पराजित गरेको यो पहिलो पटक हो।

नेपालले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको भारत ४८.८ ओभरमा १ सय ६६ रन बनाएर अलआउट भयो।

भारतका लागि ओपनर तथा कप्तान हिमांशु रानाले सर्वाधिक ४६ रन जोडे। ३८ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरेका थिए। आदित्य ठाक्रेले १३ रन बनाए भने मनोज कर्ला ३५  र सलमान खान १ रनमा आउट भए।

अनुज रावलले १८ रन जोडे भने तनुस कोइटेन शून्य रनमा आउट भए।

अभिशेक शर्माले २७ रन बनाउँदा मन्दीप सिंह शून्यमा आउट भए।

नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए। पवन सर्राफ र सहाब अलामले २–२ विकेट लिए। सन्दीप लामिछाने र कमलसिंह ऐरीले १–१ विकेट लिए।

यसअघि मलेसियाको बायुमास ओभलमा टस जितेको भारतले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो।