विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आइतबार दुबईमा केन्यासँग भएको अभ्यास खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।
विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत सातौं चरण खेल्न युएईमा रहेको नेपाल दोस्रो अभ्यास खेलमा विजयी भएको छ।
नर्सरी ओभल क्रिकेट मैदानमा भएको खेलमा केन्याले दिएको १ सय ११ रनको लक्ष्य नेपालले १९.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा शरद भेषावकरले नटआउट ३१ र आरिफ शेखले नटआउट ४ रन जोडे। ओपनिङमा आएका भेषावकरले ५० बल खेलेर ३ चौका प्रहार गरेका थिए ।
टस जितेर फिल्डिङ रोजेको नेपालले केन्यालाई ३२.२ ओभरमा १ सय १० रनमा अलआउट गर्यो । पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरेको केन्याका मध्यक्रमका ब्याट्सम्यान सस्तैमा आउट भए।
केन्यालाई सस्तैमा रोक्ने क्रममा नेपालका ललितसिंह भण्डारीले ४ विकेट, सन्दीप लामिछानेले २, करण केसी, सागर पुन र आरिफ शेखले समान १–१ विकेट लिए।
खेलमा नियमित कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ललाई आराम दिइएको थियो। यसअघि नेपाल पहिलो अभ्यास खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएको थियो।
डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीच मंसिर २० र २२ गते प्रतिस्पर्धा हुनेछ। खेल आबुधावीको शेख जायेद रंगशालामा हुनेछ।



