पोखरा मंसिर । सौन्दर्य प्रतियोगिता आयोजना गर्ने र विजेता घोषणा भएपछि जित्नेले पाउने उपहार नदिएको घटना कहिलेकाही वाहिर आइरहेको विषय हो । यस्ता कतिपय प्रतियोगितामा विजेता हुनका लागि आर्थिक चलखेल सम्मको कुरा पनि कहिलेकाही उठ्ने गरेकै छ । तर पोखरा सभागृहमा शनिवार एउटा यस्तो सौन्दर्य प्रतियोगिता भयो जुन विजेता घोषणा गर्न नपाई आयोजकनै भागे ।

प्रतियोगिताको ताज पहिरिने उद्देश्यले अन्तिम प्रतिश्पर्धामा उत्रिएका युवा युवती त्यति बेला निरास भए जतिवेला अन्तिम समयमा आयोजक गायव भए । प्रतियोगिताको विजेता घोषणा गर्ने समयमा आयोजकनै भागेपछि साझ पोखरा सभागृहमा केहिवेर तनावको अबस्था आयो । नेपाल मोडल्सको ब्यानरमा युवा युवतीका लागि भएको मोडल्स ब्याटल नामक सौन्दर्य प्रतियोगिता विजेतानै घोषणा नगरी अलपत्र परेको हो । प्रतियोगिताका लागि पहिलो चरणमा छनौट भएका ४० युवा युवतीबाट अन्तिम प्रतिश्र्धामा ७ युवती र १० युवा समावेश थिए ।

युवती तर्फ मेलिना सुवेदी, आकृति गुइदेल, लक्ष्मी कोइराला, प्रमिला शर्मा, मनु गुरुङ र युना वस्ती अन्तिम प्रतिश्पर्धामा आएका थिए । यी मध्ये सुवेदी, गुइदेल र कोइराला अन्तिम तीनमा छनौट भैसकेका थिए । त्यस्तै युवा तर्फ संचित सुवेदी, हरि रिजाल, अर्जुन गहतराज, आवास जोशी, रोशन दवाडी, प्रतिक पराजुली, दिपेश वराल, सागर परियार, विशाल रानाभाट र अशोक भण्डारी अन्तिम प्रतिश्पर्धामा थिए । उनीहरु मध्येपनि संचित, हरि र अर्जुन अन्तिम तीनमा छनौट भैसकेका थिए । निर्णायकमा रहेका चलचित्र निर्देशक नेत्र गुरुङ, उषा खड्गी र जिपी तिमल्सिनाले विजेता, फष्ट रनरअप र सेकेण्ड रनरअपको नाम आयोजकलाई बुझाइसकेका थिए ।

विजेता घोषणाका लागि युवा युवती दुबै तर्फका अन्तिम तीन प्रतिश्पर्धीलाई स्टेजमा बोलाउने तरखर हुदै गर्दा एक समुहले स्टेज पछाडि रहेको विजेता ट्रफिनै फुटाइदिए । त्यसपछि सुरु भएको हुलदंगाका कारण आयोजक कार्यक्रम स्थलबाटै वेपत्ता भए । आयोजक नेपाल मोडल्सका जनार्दन लामिछाने सम्पर्क वाहिर गएपछि प्रतियोगि सहित कार्यक्रममा उपस्थित दर्शक अन्योलमा परे । कार्यक्रममा विजेताका लागि तयार पारिएको ट्रफि तथा प्रमाणपत्र सबै बोरामा पोको पारेर लगियो ।

काल्र्सवर्ग वियर, ओखती सावुन र डिस होमको सपोर्टमा गरिएको प्रतियोगितामा एप्पल साइडरले मुख्य सहयोगीको भूमिका निर्वाह गरेको थियो । आयोजकले युवा युवती दुवैतर्फका विजेतालाई जनही ५० हजार रुपैया नगद, एक बर्षसम्म निशुल्क ईन्टरनेट सुविधा, म्यागजिनमा कभर फोटो, म्यूजिक भिडियोमा अबसर दिने तथा अल्ट्रालाईट उडान लगायतका पुरस्कार दिने भनिएको थियो ।

‘तीन महिनाको मेहनत खेर गयो,’ प्रतियोगिताको अन्तिम तीनमा छनौट भएका संचित सुवेदीले भने ‘प्रतियोगिताको तयारीमा लागि ५० हजार भन्दा बढी खर्च भएको थियो । ’ उनका अनुसार प्रतियोगिताका लागि गत असोज महिनादेखि तयारी भैरहेको थियो । प्रतियोगितामा असन्तुष्ट समुहले तोडफोड सुरु गरेपछि डरले आयोजक फरार भएको स्रोतले बतायो । आयोजकलाई सम्पर्क गर्ने प्रयास भने सफल हुन सकेन । अन्तिम समयमा प्रहरीले सबैलाई हलबाट वाहिर निकालेको थियो ।

गोकुल बानियाँ – पिसपोखरा बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय