काठमाडौं : साहित्यकार प्रेमा शाहको निधन भएको छ । साहित्कार शाहको उपचारकै क्रममा साल्ट लेक सिटीस्थित इन्टर माउन्टेन हस्पिटलमा बिहिबार निधन भएको हो । उनी नेपाली चलचित्रकी अभिनेत्री जल शाहकी आमा हुन्।
उनी बाल साहित्यमा पनि उत्तिकै सक्रिय थिइन् । शाहले २०४५ सालको ‘मैनाली कथा पुरस्कार’ समेत प्राप्त गरेकी छिन्।

विक्रम संवत् २००२ सालमा बीरगञ्जको श्रीपुरमा उनको जन्म भएको थियो । मदन मेमोरियल स्कुल पढ्दै गर्दा ०१६ मा साहित्यिक पत्रिका ‘शारदा’मा उनको ‘प्रतिक्रिया’ शीर्षकको पहिलो कथा छापिएको थियो । त्यसपछि उनले विभिन्न पत्रिकामा कथा र लेखहरु लेखिन् ।
उनका पहेँलो गुलाफ (कथा सङ्ग्रह २०२३), बिषयान्तर (कथा सङ्ग्रह २०२८), मम्मी (उपन्यास २०४०), आकाश विभाजित छ (उपन्यास स्सयुक्त लेखन २०३२), ‘रामेको कथा’ (बालउपन्यास २०४२) लगायत कृति प्रकाशित छन्।
उनका ६ वटा वालकथा र ३ बाल उपन्यास पनि प्रकाशित छन् ।



