एजेन्सी– मलयालम फिल्म ‘ओरु अदार लभ’ को एउटा गीतको दृश्यबाट १८ वर्षीया अभिनेत्री प्रिया प्रकाश वारियर रातारात सेलिब्रिटी बनिन्। 'मानिक्या मलराया पूवी' बोलको गीतको दृश्यमा प्रियासँग एक युवकले इशाराबाटै रोमान्स गरेको लाखौंले हेरे। तर, ती युवकको भने खासै चर्चा भएन।

प्लस–टु पुस्ताको प्रेमकथाको विषयमा उमर लुलु निर्देशित फिल्म मार्च ३ मा रिलिज हुँदै छ। फिल्ममा अभिनय गर्ने प्राय: कलाकारहरु नयाँ छन्। डेब्यू फिल्मको छोटो दृश्यमा आँखा झिम्काइबाटै प्रिया इन्टरनेट दुनियाँमा छाइरहँदा उनीसँगै देखिएका अर्का नयाँ कलाकारको भने नाम समेत लिइएन। आखिर को हुन् ती युवक? उनको नाम हो, रोशन अब्दुल रहुफ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफ्नो खासै चर्चा नभए पनि रोशन यतिबेला निकै खुसी छन्। किनकि भाइरल बनेको सानो भिडियो क्लिपमा उनको अभिनयलाई कैयौं दर्शकले हेरे। उनी दर्शकबाट माया पाइरहेकोमा धन्यवाद दिन्छन्।

'म अत्यन्तै खुसी छु। किनकि सबैले हृदयबाट मेरो काम पनि मन पराएर माया गरिदिनुभयो।। यसरी नै माया गरिरहनुहोला', उनी भन्छन्।

‘यस्तो होला भनेर चिताएको समेत थिइनँ’

रोशनका विषयमा सामाजिक सञ्जालहरुमा सामान्य अड्कलबाजी गरिए पनि कतै पनि तथ्यसहित आएको थिएन। यसैबीच बिबिसी हिन्दीले उनीसँग प्रत्यक्ष कुराकानी गरेर उनको कुरा बाहिर ल्याएको छ।

यसरी भिडियोबाट चर्चामा पुगिन्छ भनेर कहिल्यै सोच्नुभएको थियो भनेर सोधिएको प्रश्नमा रोशन भन्छन्, 'मैले कहिले पनि सोचेको थिइनँ। मलाई थाहा छैन म के भनूँ। म अत्यन्त खुसी र उत्साहित छु।'

भारतको केरलाको त्रिचुर जिल्लामा बस्ने १८ वर्षीय रोशन बिसिए डिग्री प्रथम वर्षका विद्यार्थी हुन्। उनी 'ओरु अदार लभ' फिल्मका लागि अडिसन मार्फत छानिएका थिए। यो उनको पहिलो फिल्म पनि हो।

बलिउड फिल्म र त्यसमा पनि शाहरुख खानको फ्यान रहेका उनले अहिलेसम्म अभिनयका कुनै क्लास लिएका छैनन्। तर, काम गरेको पहिलो फिल्मको विषयमा राष्ट्रिय-अन्तर्राष्ट्रियरुपमा निकै चर्चा भइरहेको छ।

सार्वजनिक भिडियोले प्रिया प्रकाशलाई रातारात सेलिब्रेटी बनाए पनि तपाईंलाई त्यसको क्रेडिट दिइनन् नि भन्ने प्रश्नमा रोशन उदार देखिए। उनले भने, ‘त्यस्तो होइन। उनी मेरी अभियन पार्टनर हुन्। त्यसैमा खुसी छु।’

भिडियोमा जस्तै रियल लाइफमा पनि आँखाको इशाराबाट रोमान्स गर्ने गरेको छ कि छैन भनेर सोधिएको प्रश्नमा उनी लजाए। हत्तपत्त स्पष्टीकरण दिए, ‘छैन छैन। कहिले पनि यस्तो गरेको छैन। म रियल लाइफमा यति धेरै रोमान्टिक छैन।'

रोशनको पारिवारिक पृष्ठभूमि फिल्मको होइन। यसैले यतिबेला आफन्त र साथीभाइमाझ उनले वाहवाही पाइरहेका छन्।

यदाकदा रियालिटी शोमा गरेको अनुभवले फिल्ममा पाएको अवसर र चर्चाका बीच उनले सोच बनाएका छन्, 'भविष्यमा बलिउड फिल्ममा समेत काम गर्न सक्छु।'