एजेन्सी। बलिउड अभिनेत्री अनुष्का शर्माको फिलम ‘परी’माथि प्रतिबन्ध लगाइएको छ । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीसँग विवाह गरेपछि यो अनुष्काको पहिलो फिल्म थियो । यद्यपि फिल्मलाई पाकिस्तानमा मात्र प्रतिबन्ध लगाइएको हो । अन्य देशमा भने यो फिल्म प्रदर्शन हुनेछ ।
पाकिस्तानी संचारमाध्यमका अनुसार फिल्मको स्क्रिप्ट र संवाद इस्लामिक मान्यताको विरुद्ध भएका कारण पाकिस्तानी सेन्सर बोर्डले फिल्ममाथि प्रतिबन्ध लगाएको हो । अर्कोतर्फ विराट कोहलीले भने फिल्मको विषयमा अनुष्काको निकै प्रशंशा गरेका छन् । उनले ट्वीटरमार्फत भनेका छन् ‘परी मेरी पत्नीको अहिसम्मको सबैभन्दा उत्कृष्ट काम हो ।’ यो हरर फिल्म आज रिलिज भएको हो ।
पाकिस्तानी मिडियाका अनुसार त्यहाँका चलचित्र वितरकहरु पनि सेन्सर बोर्डको निर्णयप्रति सहमत छन् । फिल्म वितरक संघका अध्यक्ष चौधरी एजाज कामराले भने ‘कुनै पनि फिल्म हाम्रो संस्कृति र इस्लामिक संस्कृति विरुद्ध छ भने त्यसलाई प्रतिबन्ध लगाउनुपर्छ ।’ पाकिस्तानी मिडियाका अनुसार फिल्ममा कुरानका आयातलाई हिन्दू मन्त्रसँग मिलाइएको छ । यसमा कुरानका आयातलाई कालो जादूको लागि प्रयोग गर्दै मुस्लिमलाई नकारातमक तरिकाले पेश गरिएको छ ।
-डिसी नेपाल बाट



