काठमाडौं– गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'शत्रुगते'ले आक्रामक व्यापार गरिरहेको छ।

प्रदीप भट्टराईको निर्देशनमा बनेको फिल्म देशभरका एक सय ६० भन्दा बढी हलमा लागेको थियो। फिल्मले ३ दिनमा ३ करोड २७ लाखको ग्रस कलेक्सन गरेको निर्माता किरण केसीले बताए। प्रदर्शनको पहिलो दिन ७२ लाख, दोस्रो दिन १ करोड ४३ लाख र तेस्रो दिन १ करोड १२ लाखको व्यापार गरेको केसीले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फिल्मको ३ दिनको कमाइबारे निर्देशक भट्टराईले भने, ‘हामी भाग्यमानी रहेछौं, किनकि दर्शकले हाम्रो फिल्मलाई अत्यधिक रुचाइदिनुभयो। छोटै समयमा फिल्मले राम्रो व्यापार गर्न सफल भयो’। उनले शत्रुगतेको सफलता सिंगो नेपाली फिल्म उद्योगकै सफलता भएको भन्दै निकै खुसी लागिरहेको प्रतिक्रिया दिए।

दर्शकको अपेक्षा र स्वाद अनुरुपकै फिल्म बनेकाले छोटो समयमै सफलता पाएको बताउँछन् वितरक गोपालकाजी कायस्थ।

चौथो दिन पनि हलहरुमा दर्शकको चाप उत्तिकै रहेको भन्दै कायस्थले सोमबार फिल्मले ५०–५५ लाखको हाराहारीमा कलेक्सन गर्ने अनुमानित आँकडा सुनाए।

करिब ३ करोड रुपैयाँको लगानीमा बनेको फिल्म नाफा उन्मुख भएको छ। फिल्मले खासगरी राजधानी र बाहिरका मल्टिप्लेक्स हलहरुमा दर्शकको भीड पाएको छ।

मल्टिस्टारर फिल्म 'शत्रुगते'मा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, किरण केसी, राजाराम पौडेल, बसुन्धरा भुषाल, शिवहरि पौडेल, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतका कलाकारहरुको अभिनय छ।