बलिउड अभिनेता सञ्जय दत्त यतिखेर अलि त्रसित देखिन्छन् । रणवीर कपुरको अभिनय देखेर सञ्जयलाई खतरा महसुस भइरहेको छ— भारतीय मिडिया यही लेख्छन् । सञ्जयले कयौं पटक आफ्नो असुरक्षा खुलेर व्यक्त गरेका छन्, तर ठट्टाको रूपमा । आफ्नो बायोपिक ‘सञ्जु’को टिजर सार्वजनिकीकरणका बेला एकपटक फेरि सञ्जयले आफ्नो यो असुरक्षा प्रकट गर्दै निर्देशक राजकुमार हिरानीसँग ‘मुन्ना भाइ’को सिरिजमा आफ्नो भूमिका देखाउने प्रस्ताव राखे ।
‘सञ्जु’को टिजर उद्घाटनका क्रममा सञ्जय दत्त उपस्थित थिएनन् । तर, पनि उनले यो शुभ अवसरमा सबैलाई सन्देशमार्फत बधाई भन्ने पक्कै दिए । उनले भने, “तपाईंहरूले फिल्मको टिजर हेरिसकेपछि कस्तो लाग्यो मलाई भन्नुहोला । मलाई त अझैसम्म विश्वास लागेको छैन कि मेरो जीवनीमा कुनै फिल्म बन्दै छ । म टिजर प्रदर्शनका बेला तपाईंहरूकै साथमा हुन चाहन्थें तर म यतिखेर शुटिङका कारण देशभन्दा बाहिर छु । मैले टिजर र शुटिङका केही दृश्य हेरेको छु । म यो विश्वासका साथ भन्न सक्छु कि रणवीर ठ्याक्कै मजस्तै देखिएका छन् ।”
अन्त्यमा सञ्जयले राजुलाई सम्बोधन गर्दै भनेका छन्, “राजु ! ‘मुन्ना भाइ’मा रणवीरलाई नलिनू है ।”
त्यसो त सञ्जयले यी कुरा ठट्टामा भनेका थिए तर उनले रणवीरलाई लिएर आफू असुरक्षित रहेको बताउँदै आएका छन् । उनले आफूभित्रको डर अरुसामु व्यक्त गरेको यो पहिलो पटक थिएन । हिरानीका अनुसार सञ्जयले यस्तै कुरा पहिला पनि धेरै पटक भनिसकेका छन् । हिरानी भन्छन्, “यो फिल्ममा मुन्ना भाइको शुटिङकोे एउटा दृश्य छ, जुन फिल्मको कथामा समेटिएको छ । त्यसमा हामीले सुनील दत्त साहेब र सञ्जय अर्थात् बुवा र छोराको पहिलो भेटलाई समावेश गरेका छौं ।”
राजुसँग यसको रमाइलो किस्सा छ । भन्छन्, “स्पेसल इफेक्ट प्रयोग गरेर त्यो दृश्य बनाइयो । मलाई त्यसमा ठूलै आत्मवश्विास थियो । बडो आत्मविश्वासका साथ सञ्जयलाई देखाउन गएँ । मैले सोचेको थिएँ— सञ्जयले केही प्रतिक्रिया दिन्छन् । किनकि त्यो दृश्य मैले जसलाई देखाउँदा पनि सकारात्मक प्रतिक्रिया दिएका थिए । सबैलै प्रशंसा गरेका थिए । तर, सञ्जयले त्यो दृश्य हेरेर कुनै प्रतिक्रिया दिएनन् । मैले दोहो¥याएर उनलाई नजिकबाट ती दृश्य हेर्न अनुरोध गरें । दोस्रो पटक हेर्दा पनि सञ्जयको प्रतिक्रिया निराशाजनक नै देखियो । मैले सञ्जयलाई सोधें, “के भयो, तिमीलाई चित्त बुझेन ?” जवाफमा सञ्जयले भने, “मलाई लाग्दैन कि यो मेरो लागि राम्रो खबर हो ।”
हुन त राजकुमार हिरानीले यो कुरा स्पष्ट भनेका छन्— सञ्जयले जति पनि कुरा भनेका छन्, सबै ठट्टामा भनेका छन् । तर, बलिउडमा जब आफूसँग पहिल्यै काम गरेका निर्देशकको लगाव अरु कुनै कलाकारसँग हुन्छ, तब सञ्जयजस्ता कलाकारलाई ईश्र्या हुन्छ । त्यसो त सञ्जयको आक्रोश त्यतिखेरै अगाडि आइसकेको थियो, जतिखेर उनको बायोपिकमा रणवीरलाई लिइने निश्चित भइसकेको थियो । सञ्जयले रक्सीको नशामा रणवीरमाथि खुब आक्रोश पोखे । किनकि सञ्जयलाई लाग्थ्यो— रणवीर उनको भूमिकाका लागि उचित कलाकार होइनन् ।
सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ जुन २९ जुनमा प्रदर्शन हँुदै छ । फिल्ममा रणवीर कपुरबाहेक अनुष्का शर्मा, मनीषा कोइराला, परेश रावल, तब्बु, विक्की कौैशल, बोमन इरानी, करिष्मा तन्ना, सोनम कपुर, आलिया भट्ट, शरमन जोशी र दिया मिर्जालाई पनि देख्न सकिन्छ ।



