झापाको दमकमा जारी दमक गोल्डकपको शनिबारको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । आर्मीले आयोजक दमक ११ लाई ६–० ले पराजित ग¥यो ।
दमक बहुमुखी क्याम्पसको मैदानमा भएको खेलमा नवयुग श्रेष्ठले छैटौं मिनेटमै गोल गरेका थिए । दोस्रो गोल खेलको २० औं मिनेटमा कप्तान भरत खवासले गरेका थिए । उनले दमकका गोलकिपर विकेश माझीसंगको वान टू वानको अवस्थामा गोल गरेका थिए । लगतै २२ औं मिनेटमा पुनः नवयुगले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए । ५३ औं मिनेटमा आर्मीका लागि विमल पाण्डेले चौथो गोल गरेका थिए ।

त्यस्तै ६८ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गरेका थिए । खेलको ८५ औं मिनेटमा नवयुगले टिमका लागि छैटौं तथा व्यक्तिगत ह्याट्रिक पूरा गरेका थिए । शनिबारको खेल एकपक्षीय जस्तै रह्यो । आयोजक दमकका खेलाडीहरुले गोल फर्काउने प्रयास गरिरहेपनि सफल हुन सकेनन् । जितसंगै आर्मी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीले मनाङ मस्र्याङ्दी क्लब र सरस्वती क्लबबीचको विजेतासंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । खेलमा विजेता आर्मीका नवयुग श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले नगद ११ हजार रुपैया प्राप्त गरे ।

बैशाख २८ गतेसम्म चल्ने प्रतियोगितामा १० टिमको सहभागीता रहने प्रचारप्रसार संयोजक चन्द्र खत्रीले बताए । गोल्डकपको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख रुपैया प्राप्त गर्ने छ । गोल्डकपमा आइतबार थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । गोल्डकप दमक नगरपालिकाले आयोजना गरेको हो ।
https://youtu.be/LLlVYMmvA6g



