बिनु पोखरेल

देशदर्शन गर्न काठमाडौं आएका बृद्धबृद्धाहरुको ठूलो भीड लागेको थियो बुधवार एमाले केन्द्रीय कार्याल धुम्बाराहीमा । जेष्ठ नागरिकहरुलाई देश दर्शनका लागि विदाई गर्ने कार्यक्रममा पपुगेका थिए एमाले अध्यक्ष केपी ओली । ओली पुग्दा जेष्ठ नागरिकहरु कार्यालयको ठूलो हलमा बसेका थिए भने अघिल्तिर मञ्चमा थिए मनमोहन अधिकारी स्मृति प्रतिष्ठानका अध्यक्ष तथा पूर्वमन्त्री भरतमोहन अधिकारी र सानु श्रेष्ठ लगायत एमाले नेता ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ओली पुग्नासाथ मञ्चको अघिल्तिर स्वयंसेवकहरुले ठूलो केक ल्याएर राखे । कार्यक्रमका उद्घोषकले त्यसैबेला ओलीको ६६ औं जन्मदिन परेको सुनाए । हलमा बसेका बृद्धबृद्धाहरुले परर्र ताली ठोके । ओलीले जन्मदिनको केक जेष्ठ नागरिकहरुलाई अघिल्तिर राखेरै काटे । सभाहलमा अगाडि बसेका सिन्धुलीका ८७ वर्षीय कृष्णहरि अधिकारी उठेर आए र रक्षावन्धन मन्त्र पढ्दै ओलीलाई केक खुवाए अनि दीर्घायुको आशिर्वाद दिए ।

देशदर्शनका लागि मंगलवार नै राजधानी आइपुगेका ८७ वर्षीय अधिकारीले मन्त्र पढे– ‘येनवद्धो वलिराजा दानवेन्द्रो महावल, तेन त्वां प्रतिबध्नामी रक्षेमा चलामा चल ।’

अधिकारीले मन्त्रोच्चारण गर्दै ओलीलाई केक खुवाएपछि सबै बृद्धबृद्धाले फेरि ताली बजाए । अनि सुरु भयो जेष्ठ नागरिकको देश दर्शनको विदाई कार्यक्रम । फागुन ११ गते ओलीको जन्मदिन परेको थाहा पाएपछि उनीहरुले जन्मदिवस समेत मनाउने कार्यक्रम बनाएका थिए ।

जेष्ठ नागरिकहरुलाई देशदर्शनका लागि विदाई मनतब्य राख्दै ओलीले पनि पितृलाई देवता मान्ने नेपाली संस्कृतिलाई आफ्नो पार्टीले जिवन्तता दिएको वताए । एमाले नेतृत्वको नेपालकै पहिलो कम्युनिस्ट सरकार मनमोहन अधिकारीको नेतृत्वमा बन्दा बृद्धभत्ता सुरु गरेको स्मरण गर्दै ओलीले पूर्वीय संस्कृतिका विशेषताहरु पनि वताए ।

‘यो तपोभूमिमा नै हो श्रवणकुमारले मातापितालाई देवताको रुपमा सेवा गरेका । पितृलाई देवता मान्ने यही संस्कृतिलाई पहिलो पटक बनेको एमालेको सरकारले जोगाउनु पर्छ भनेर बृद्धभत्ताको कार्यक्रम ल्याएको थियो’ ओलीले भने, ‘मनमोहन अधिकारीलाई मनै नपराउनेहरुले पनि मनमोहन विर्सन सक्दैनन् ।’

मनमोहन अधिकारीले सुरु गरेको बृद्धभत्तालाई गतसाल बनेको ओली नेतृत्वको सरकारले मासिक २ हजार रुपैया पुर्याएको थियो । ओलीले एमालेप्रति त्यसबेला भ्रम छरिएको स्मरण पनि गरे । ‘त्यसबेला एमालेले जित्यो भने ६० वर्ष नाघेपछि गोली ठोकेर मार्छ, मन्दिरहरु भत्काइदिन्छ भनेर पोष्टर नै बनाएर टाँसिएको थियो’ ओलीले स्मरण गरे, ‘तर, एमालेले त ६० वर्ष नाघेपछि भत्ता दियो र जेष्ठ नागरिकहरुलाई देशदर्शन गराउन पो थाल्यो ।’

उनले गतसाल आफ्नो सरकारले जेष्ठनागरिक भत्ता बढाउँदा देशको ढुकुटी रित्याएको आरोप विपक्षीले लगाएको पनि सम्झे । ‘जेष्ठ नागरिकहरुलाई सहयोग गर्दा ढुकुटी रित्यायो भन्नेहरुलाई सम्झंदा कहिलेकाहीँ त डर लाग्छ– तिनीहरुले आफ्ना बाबुआमालाई खान त दिन्छन् ?’

सामाजिक सुरक्षाभत्ता दिन थालेपछि कहिले मर्ने दिन आउँछ भनेर निराश बन्ने गरेका जेष्ठ नागरिकहरु पनि बृद्धभत्ता आउने दिन गन्न थालेको वताए । ‘यसले बाँच्ने इच्छाशक्ति बढाएको छ’ ओलीले भने, ‘कहिले मर्ने दिन आउला भन्ने निराशाबाट अब बृद्ध भत्ता पाउन यति वर्ष बाँकी छ भन्ने सोचाइमा पुर्याएको छ ।’

बुधवार राजधानीबाट विदाई गरिएका जेष्ठ नागरिकहरु देश दर्शन गरी फागुन १७ गते राजधानी फर्कने छन् ।