१३ फागुन– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर दवाव, चुनावप्रति जनताको समर्थन र पश्चिमा लोकतान्त्रिक मुलक समेतको समर्थनमा चुनाव घोषणा गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंलाई प्रधानमन्त्री बनाइदिने भारतसँग भने बाटो छुट्टिने मोडमा आइपुगेका छन् ।
गत कात्तिकमा प्रधानमन्त्री दाहालले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्नासाथ त्यसको समर्थनमा वक्तब्य निकालेको भारत चुनाव घोषणापछि दायाँ जाउँ न बायाँ जाउँको अवस्थामा पुगेको छ । नेपाल भित्र भारत समर्थित विरादरीले स्थानीय चुनावको विरोध गरिरहेको छ । आफू चुपचाप बस्ने तर, बाबुराम, मोर्चा र दुवैको विस्तारित स्वरुप रहेको संघीय गठबन्धन मार्फत मेलैमारी वक्तब्य निकाल्न लगाउँदै भारतले आफ्ना कदम के हुन्छन् भन्ने जनाउ दिइरहेको छ । उसको विवशता भनेको लोकतान्त्रिक चुनावको खुलेर विरोध गर्न नसक्नु र उ समर्थित विरादरीको नेपाल भित्र जनस्तरमा प्रभाव निरन्तर ओरालो लाग्नु नै हो ।
भारतसँग बाटो छुट्टिने क्रमको पहिलो किस्तामा दाहालले मधेसी मोर्चाको चुनाव बिथोल्ने धम्की ब्यहोरिरहेका छन् । पहिले अस्पष्ट वक्तब्य निकालेका बाबुरामले दोस्रो किस्तामा उपेन्द्र यादवसँग मिलेर चुनाव भाँड्नेस्तरको अर्काे वक्तब्य फ्याँके । भारत समर्थित विरादरीको तेस्रो किस्ता आज बसेको संघीय गठबन्धनको बैठक मार्फत बाहिर आयो जसमा सरकारले धोका दिएको आरोप लगाउँदै गठबन्धनले सरकारलाई दिएको समर्थन फिर्ता लिने धम्की दियो । यही बिन्दु हो जहाँबाट भारत र दाहालको बाटो छुट्टिन्छ ।
चुनाव घोषणापछि मधेसी मोर्चा र संघीय गठबन्धनको हातमा घुक्र्याउनका निम्ति समेत कुनै एजेण्डा बाँकी छैन । अहिले उनीहरुले राख्ने माग संविधान संशोधनको एक सुत्रीय एजेण्डा हो । संसदको अहिलेको समीकरणमा संशोधन पास हुन सक्दैन भन्ने जान्दा जान्दै त्यही माग राखीरहनुको उद्धेश्य स्थानीय चुनाव भाँड्नु भन्दा अर्काे छैन । तत्काललाई दाहालको विकल्पमा भारतीय इच्छा अनुरुपको अर्काे गठबन्धन बन्न सम्भव छैन । त्यसैले समर्थन फिर्ता लिने मोर्चाको धम्की साँच्चै हो वा अर्काे घुक्र्याँईं, केही दिन भित्रै प्रष्ट हुनेछ । तर, मोर्चाको नयाँ धम्कीले केपी ओलीको राजनीतिक जीत तर्फ मुलुक अग्रसर भएको छ, जुन हुनु नै थियो ।










