विराटनगर, २६ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता कार्यदलले मोरङका १७ मध्ये १६ स्थानीय तहको एकता प्रक्रिया टुंग्याउने सहमति गरेको छ ।
शनिवार बसेको जिल्ला कार्यदलको बैठकले विराटनगर महानगरपालिकाबाहेक स्थानीय तहमा एकता प्रक्रिया टुंगो लगाउने सहमति गरेको हो । कार्यदलमा १६ स्थानीय तहमध्ये पूर्वनेकपा एमालेले नौ तह र पूर्वमाओवादी केन्द्रले सात तहको नेतृत्व लिने सहमति भएको हो । विराटनगर महानगरपालिकाको विषयमा केन्द्र र प्रदेशसँगको समन्वयमा टुंगोमा पुग्ने सहमति पनि भएको नेकपा मोरङका नेता तथा कार्यदलका सदस्य ऋषिकेश पोखरेले बताउनुभयो ।
स्थानीय तहसम्म पार्टी एकता नहुँदा पार्टीको काम कारवाही सुस्त र जनसम्बन्धसमेत असर पुग्न थालेपछि एकता प्रक्रिया टुंग्याउन कार्यकर्ताहरुले दवाव दिँदै आएका थिए । कार्यकर्ताहरु कामविहीन भएको र कमिटी प्रणाली पनि हराउँदै जान थालेपछि एकतालाई छिटो टुंग्याउनु पर्ने बाध्यता सिर्जना भएको थियो । पछिल्लो चार दिनदेखि नेकपा मोरङका प्रमुख नेताहरुसहित कार्यदलका सदस्यहरु सहमतिका लागि छलफलमा सक्रिय थिए ।
भावी नेतृत्वले आगामी दिनमा स्थानीय राजनीतिमा पर्ने प्रभाव समेतलाई बिचार गरेर कार्यदलले भागबण्डा टुंग्याएको बताइएको छ । कार्यदलले पूर्वनेकपा एमालेले सुन्दरहरैंचा नगरपालिका, पथरी नगरपालिका, उर्लाबारी नगरपालिका, रतुवामाई नगरपालिका, सुनवर्सी नगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिका, मिक्लाजुङ गाउँपालिका र कानेपोखरी गाउँपालिकाको नेतृत्व लिने सहमति गरेको छ । यसैगरी पूर्वनेकपा माओवादी केन्द्रले बेलबारी नगरपालिका, लेटाङ नगरपालिका र रंगेली नगरपालिका, केराबारी गाँउपालिका, बुढिगंगा गाउँपालिका, जहदा गाउँपालिका र धनपालथान गाउँपालिकाको नेतृत्व पाउने सहमति गरेको छ ।
कार्यदलका सदस्य पोखरेलले विभिन्न सैद्धान्तिक दृष्टिकोणबाट स्थानीय तहको नेतृत्वको विषय टुंग्याएको बताउनुभयो । उहाँका अनुसार उत्तरी मोरङ र राजमार्गमा आधारित आठ स्थानीय तहमध्येबाट पूर्वएमालेले पाँच र पूर्वमाओवादी केन्द्रले तीन तहको नेतृत्व गर्ने सहमति भएको छ । यसैगरी मध्यभागमा रहेको दुई तहमध्ये एक/एक तह र दक्षिण क्षेत्रका ६ तहमध्ये तीन/तीन तहको नेतृत्व पूर्व दुई पार्टीहरुले गर्ने गरी निर्णय गरेको जानकारी दिनुभयो । महानगरपालिकाको विषयमा भने केन्द्रलाई नै निर्णय गर्न दिने सहमति भएको छ ।
कार्यदलको बैठकमा नेकपाका नेता गुरु बराल, केन्द्रीय सदस्यहरु शिवकुमार मण्डल, विनोद ढकाल, गोपी अछामी, महेश रेग्मी, जिल्ला तहका नेताहरु ऋषिकेश पोखरेल, गणेश उप्रेती, कुशल लिम्बु र रामलाल साह लगायतको सहभागिता रहेको थियो । कार्यदलले चैत ३ भित्र सबै तहको नेतृत्वसहित कमिटीमा रहने सदस्यहरुको नाम र संख्या टुंग्याउन ऋषिकेश पोखरेल नेतृत्वको कार्यदललाई जिम्मेवारी दिएको छ । जसमा पोखरेल, गणेश उप्रेती, कुशल लिम्बु र रामलाल साह रहेको बताइएको छ । कार्यदलले नाम र संख्या टुंगो लगाएपछि प्रदेश कमिटिमा सर्वसम्मत प्रस्ताव गर्ने तयारी रहेको बताइएको छ । थाहा खबरबाट










