काठमाडौं, ११ चैत । एमाले र माओवादी केन्द्रको एकीकरणपछि नेकपाको केन्द्रीय कमिटी ४ सय ४१ सदस्यीय बनेको थियो । ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा २ सदस्य रिक्त भइसकेको छ भने एक सदस्यमाथि भ्रष्टाचार आरोप लागेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रप्रसाद अधिकारीको हवाई दुर्घटनामा निधन भएपछि एक केन्द्रीय सदस्य पदरिक्त भएको छ ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयअन्तर्गत समाज कल्याण परिषद्ले भृकुटीमण्डपको जग्गा भाडामा दिंदा ३१ करोड रुपैयाँ अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेपछि पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेलाई पनि केन्द्रीय सदस्यबाट हटाउनुपर्ने दबाब नेकपामाथि परेको छ । अख्तियारले मुद्दा दर्ता गरेपछि कर्मचारी निलम्बन हुने भएकाले न्यौपानेलाई केन्द्रीय सदस्यमा राख्दा पार्टीले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लाग्ने भएकाले उनलाई पदमुक्त गर्ने तयारीमा नेकपा छ ।
न्यौपानेले चुरेभावर पार्टीलाई २०७४ मंसिरको चुनावअघि एमालेमा बिलय गराएका थिए । पार्टी एकीकरणपछि बनाइएको केन्द्रीय सदस्यको सूचीमा उनको नाम थिएन । तर सर्कुलरमा सोभियत ढकालको नाम काटेर न्यौपानेको राखिएको थियो । रिक्त तीन केन्द्रीय सदस्यको टुंगो पार्टीले कहिले लगाउने त्यो अन्योल नै छ, आजको साँघु साप्ताहिकमा समाचार छ ।
समिम मियाँ अन्सारी मुस्लिम आयोगको अध्यक्ष भएकाले उनको पदरिक्त भएको छ । आयोगको अध्यक्षका लागि कुनै पार्टीको सदस्यता लिनु नहुने भए पनि उनी केन्द्रीय सदस्यबाट राजीनामा नै नदिई आयोगको अध्यक्षमा संवैधानिक परिषदबाट सिफारिस भएका थिए ।
नेकपाको एकीकरण भएको १० महिना पनि बढी अवधि गुज्रिदा पनि मातहतका कमिटीहरुको एकताले पूर्णता पाएको छैन । पोलिटब्यूरो नै गठन भएको छैन । जिल्ला, भातृसंगठन, स्थानीय तहमा एकता नहुँदा कार्यकर्तामा चरम निराशा पैदा भएको छ । २०७५ जेठ ३ मा मदन आश्रित स्मृति दिवसको अवसर पारी नेकपाको एकता घोषणा भएको थियो ।










