लामो समयसम्म पार्टी एकताले पुर्णता पाउन नसक्दा नेता कार्यकर्ता नै अन्योलमा परेको महसुस गरी अध्यक्षद्वय ओली र प्रचण्डले आगामी बैशाख ९ गतेभित्रै पार्टी एकताको अन्तिम टुंगो लगाउने गरी गृहकार्य अघि बढाउनु भएको हो काठमाडौं, चैत २९
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले पार्टी एकता टुंग्याउने अन्तिम गृहकार्य थाल्नुभएको छ ।
लामो समयसम्म पार्टी एकताले पुर्णता पाउन नसक्दा नेता कार्यकर्ता नै अन्योलमा परेको महसुस गरी अध्यक्षद्वय ओली र प्रचण्डले आगामी बैशाख ९ गतेभित्रै पार्टी एकताको अन्तिम टुंगो लगाउने गरी गृहकार्य अघि बढाउनु भएको हो ।
अव एकतामा ढिलाइ नगर्ने निश्कर्षका साथ प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डले चन्द्रागिरीमा गोप्य छलफल गर्नुभएको छ । एकता प्रक्रिया टुङ्ग्याउन बिहीबार रातभर दुई अध्यक्ष ओली र प्रचण्डसहित महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापाले बृहत छलफल गर्नुभएको हो ।
अध्यक्षद्वयले यसअघि प्रदेश तहको एकता टुंगो लगाउन गठित दुई सदस्यीय कार्यदलका सदस्य रहेको कारण थापा र पौडेललाई पनि बैठकमा राख्नुभएको हो । थापा यसअघि एकता टुङ्ग्याउन गठित नौ सदस्यीय कार्यदलका संयोजक र महासचिव पौडेल सदस्य हुनुहुन्थ्यो ।
दुई अध्यक्षले केन्द्रीय सदस्यको कार्यबिभाजन, र एकता प्रक्रियाका बाँकी काम टुंग्याउने लगायतका विषयमा लामो छलफल गर्नुभएको हो । उक्त छलफलमा जिल्ला नेतृत्व र भातृसंगठनको नेतृत्वको टुंगो लगाउने विषयमा समेत छलफल भएको छ ।
नयाँ वर्ष लागेसँगै एकताका बाँकी काम टुंगयाउने गरी अध्यक्ष ओली र प्रचण्डले अन्तिम गृहकार्य गरिरहनुभएको खुमलटार निकट स्रोतले जनाएको छ । एकताको बिषयमा टुंगो लगाउने छलफलका लागिथ प्रधानमन्त्री ओली बिहीबार साँझ पाँच बजेपछि चन्द्रागिरी पुग्नुभएको थियो ।
अध्यक्ष प्रचण्डसहितका अन्य नेताहरु त्यसअघि नै चन्द्रागिरी पुग्नुभएको थियो । नेताहरुले एकताको बिषयमा लभगभ निश्कर्षतिर पुगिएको जनाउ दिइसक्नु भएको छ । अध्यक्ष प्रचण्डले गृहजिल्ला चितवन पुगेर पार्टी स्थापना दिवस अप्रिल २२ अर्थात बैशाख ९ गतेभित्र एकताको टुंगो लगाइसक्ने घोषणा गर्नुभएको थियो ।
गत जेठ ३ गते पार्टी एकता गर्दा तीन महिनाभित्र सवै तहको साँगठानिक एकता टुंग्याउने घोषणा गरिए पनि नेताहरुको आन्तरिक द्वन्द्धले हालसम्म जिल्ला र जनसंगठनको एकता टुंगो लागेको छैन । कार्यदलमाथि कार्यदल बनाउँदै जाँदा भदौं ६ भित्र टुंगो लगाउनुपर्ने साँगठानिक एकता अझै हुन सकेको छैन ।
झण्डै एक बर्ष एकता हुन नसक्दा जनसंगठनहरु निस्कृय बन्न पुगेका छन भने जिल्ला तहमा पनि खासै गतिबिधि हुन सकेको छैन । पछिल्लो समय प्रदेश कमिटीले आफ्नो गतिबिधि अघि बढाएर स्थानीय तहसम्म एकता गरिरहँदा पार्टी र सरकारको मुख्य आधार मानिने जनसंगठनहरु एकता हुन नसक्दाको मारमा परेका छन । पछिल्लो छलफलसँगै एकताले पुर्णता पाउने आशा जगाएको छ ।










