सूर्य थापा एमालेका प्रभावशाली नेता हुन् । पत्रकारिता प्रष्ठभूमिका थापा एमाले प्रचार विभागका उप प्रमुख हुन् । खरो स्वाभावका थापा स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । अध्यक्ष केपी ओलीका निकट विश्वास पात्र उनी गत सोमबार एमालेको मेची महाकाली अभियानका क्रममा सप्तरीको राजविराजमा आयोजित सभा विथोल्न खोज्ने मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीचको भिडन्तका प्रत्यक्षदर्शी हुन् । थापाले उक्त घटनामा आफ्नो पार्टीको कुनै दोष नरहेको दाबी गरे । राजनीतिका नाममा विदेशीको इशारामा चलेको आपराधिक समूह र गृहमन्त्री विमलेन्द्र निधिको इसारामा सप्तरीको घटना भएको बताए । उनले मधेसमा जान कसैको अनुमती लिनुनपर्ने भन्दै संविधान कार्यान्वयन र परिवर्तन संस्थागत गर्न चालिएको अभियान बिथोल्न खोज्ने अपराधीलाई पानी मुनि गएपनि नछोड्ने चेतावनी दिए । थापासँग मेची-महाकाली अभियान र सप्तरी घटनाबारे लामो कुराकनी गरेको छ । प्रस्तुत छ, थापासँग गरेको कुराकानीको सम्पादित अंशः - सप्तरी घटनापछि स्थगन भएको मेची–महाकाली अभियान फेरि सुरु गर्न लाग्नुभयो, के फेरि मधेसमा अर्को नरसंहारका लागि वातावरण बनाउन खोज्दै हुनुहुन्छ ?

एमालेको शान्तिपूर्ण कार्यक्रमको विरोध गर्ने विवेकहीन मानिसहरुको यस्तो प्रतिक्रिया छ । नेपालमा संविधान जारी भएपछि संविधान कार्यान्वयन र परिवर्तनका एजेण्डा संस्थागत गर्ने उद्देश्य राखेर यति ठूलो संख्यामा जनपरिचालन अरु कसैले गरेको छैन । हामीले यो काम ग¥यौं र गरिरहेछौं। तर, जनतामा जाने हैसियत नभएकाहरु र राजनीतिक आवरणमा आपराधिक गतिविधि गर्ने गिरोहका मानछेहरुलाई एमालेको पक्षमा जनसागर उर्लिएको, जनताले एमालेको कुरा सुनेको, एमालेको कुरा मन पराएको र एमालेको अभियानमा स्यम् समाहित भएको देखेर सह्य भएन र सप्तरी घटना मञ्चन गराइयो । सप्तरीमा घटेको दुःखद घटनाको संवेदनशीलतालाई ख्याल गरेर हामीले तीन दिनका लागि अभियान स्थगन गरेका थियौं । जतिबेला अभियान स्थगनको निर्णय भयो, त्यतिबेलै तीन दिनका लागि नै भनिएको थियो । तसर्थः पूर्वनिर्धारित कार्यक्रमअनुसारै हेटौंडाबाट फेरि अभियान सुचारु गर्न लागेका हौं । हाम्रो अभियान अब हेटौंडाको भुटननदेवी स्कुलबाट चितवनको भण्डारा, भरतपुर, नवलपरासीको कावासोती, भुमही, भैरहवा र बुटवल हुँदै पूर्वनिर्धारित समय र स्थानमा घोषित योजनाअनुरुप संचालन हुन्छ । प्रदेश नं १ मा जस्तै पश्चिम नेपालमा पनि, सशक्त, प्रभावकारी र जनपरिचालनका हिसाबले सिंगो मुलुकलाई झक्झकाउने, ब्यूँझाउने, र सकारात्मक सन्देश दिने गरी अभियान अगाडि बढ्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मधेसी जनताविरुद्ध अभियान सञ्चालन गरेको आरोपबारे के भन्नुहुन्छ ?

हाम्रो अभियान कुनै समुदाय, दल वा व्यक्ति विशेषविरुद्ध होइन, संविधान र मुलुकका पक्षमा हो । संविधान कार्यान्यवनको अनुकूल वातावरण बनाउनका लागि हो । आफूलाई स्वघोषित बुद्धिजिवी दाबी गर्नेहरु र एमालेको आलोचना गरेर जिविकिा चलाउने कतिपय मानिसहरुले गरेका अनुचित टिप्पणीहरुबारे हामीलाई केही भन्नु छैन । प्रतिस्पर्धाको राजनीति गर्न डराउने नालायकहरुले यस्ता कुतर्कहरु गरेको सुनिएका छ । म चुनौती दिन चाहन्छु आफूलाई जनताको राजनीति गर्ने शक्ति हो भन्ने प्रमाणित गर्नुपर्ने भए संविधान कार्यान्वयन, मुलुकको विकास र समृद्धिका पक्षमा एमालेको भन्दा धेरै मानिस समर्थनमा उतारेर त्यस्तै अभियान चलाए भइहाल्छ । त्यतिबेला हामी विरोध होइन, प्रतिवाद र विरोध होइन, फूलमालाले स्वागत गर्न तयार छौं ।

सप्तरी घटनाले उत्पन्न गराएको उत्तेजना कम नहुँदै फेरि मधेसमा अभियान चलाउने कुराले थप भिडन्तहरु निम्तेला भन्ने लाग्दैन ?

मधेसी मोर्चाका नाममा विदेशीको दलाली गरेर, दशगजामा बसेर आफ्नो मातृभूमिमाथि ढुंगा बर्साउने तत्वहरुले हामीलाई कुनै प्रकारका धम्की नदिए हुन्छ । त्यो एउटा आपराधिक र नालायक जत्थाका रुपमा पतन भइरहेको तथाकथित मोर्चा मात्रै हो । सप्तरीमा हाम्रो कार्यक्रमलाई हिंसात्मक बनाउने, हाम्रा नेताहरुको सामूहिक हत्या गन खोज्र्ने, गौर, रंगेली र टीकापुरजस्तै हिंसात्मक काण्ड घटाउने योजना असफल भएपछि मर्माहत भएका ततवहरुले अर्को षड्यन्त्र नगर्लान् भन्न सकिंदैन । तर हामीले देश र जनताको लागि हाम्रो राजनीति गर्ने हो, अरुहरुका खुद्रा पसलको चिन्ता लिने फुर्सद छैन ।

संविधानले ग्यारेण्टी गरेको शान्तिपूर्ण कार्यक्रम गर्ने अधिकार सबैलाई छ । तर, जनता मारेर कसका लागि अभियान चलाउन खोज्नुभएको हो ?

हाम्रो अभियानको कार्यक्रम अवधिभर झपादेखि सप्तरीसम्म नै कहीं केही भएको थिएन । सप्तरीमा पनि हामीले कार्यक्रम सकेर फर्कने क्रममा हाम्रो पछाडिको टोलीमाथि गहुँबारी हुँदै सडकमा आएर आक्रमण गर्न खोजेपछि प्रहरीले मोर्चाका कार्यकर्तालाई लखेट्यो र रोक्यो । तर उनीहरुले प्रहरीमाथि नै हिंसात्मकआक्रमण गरे । प्रहरीले अर्काे टीकापुर घटना नहोस भनेर आत्मसुरक्षाको लागि मधेसी मोर्चाको आक्रमणको विरोधमा प्रत्याक्रमण मात्रै गरेको हो । के एउटा जिम्मेवार पार्टीको शान्तिपूर्ण कार्यक्रम बिथोल्न प्रेसर कुकर र बियरका बोत्तललाई बम बनाएर पड्काउन आउनेहरुलाई गोली नहानेर फूलमालाले स्वागत गर्नुपथ्र्यो वा ङिच्च दाँत देखाएर लाचारी प्रकट गर्नुपर्दथ्यो ? शान्तिपूर्ण कार्यक्रम लिएर पार्टीहरु जनतामा नजाउन भन्नका लागि गरिएको दुष्प्रयासलाई चुपचाप सहेर आफूहरु एकै चिहान बन्नुपर्दथ्यो ? त्यहाँका जनसमुदायाहरुलाई माया मात्र गर्नुपर्नेमा हामी हमेशा सचेत रहन्छौं । तर मधेसी जनताको नाममा जमिन्दारी चलाउने, त्यही जमिन्दारीको आड र रवाफमा राजनीति गर्ने, विदेशी शक्तिको चाकडीमा समर्पित हुने र शिखण्डी बन्नेहरु हामी जनतामा जाँदा डराएर आपराधिक घटना गराउने हर्कतमा उत्रिए । जो मुलुकप्रति इमान्दार छ, अहिलेको संविधानको कार्यान्वयनप्रति र परिवर्तनलाई संस्थागत गर्ने प्रक्रियाप्रति इमान्दार छ, त्यस्ता शक्ति वा व्यक्तिले सचेतरुपमा जनतामा जाने कुराको विरोध गर्न सक्दैनन् । एमालेको अभियानले जनताको लागि राजनीति गरिरहेको छु भन्ने झूठो दाबी गरिरहेका ती व्यक्ति वा पार्टीहरुको व्यवहार कति विरोधाभाषपूर्ण छ भन्ने बुझ्न धेरै सहयोग गरेको छ । यथार्थमा तिनीहरुको नकाव उतार्ने काम गरेको छ ।

तपाईंहरुकै शब्दमा भन्ने हो भनेत्यति धेरै अपूर्व जनसमर्थन भएको पार्टी दुई-चार जना अपराधीहरुले कालो झण्डा देखाउँदैमा रातारात भागेर काठमाडौं आउनुचाहिं किन परेको त ?

एमाले कसैले लखेटेर लखेटिने पार्टी होइन भन्ने हेक्का सबैलाई रहोस् । एमालेको अभियान मधेसी मोर्चा वा कसैको विरोधमा थिएन, अब पनि हुँदैन । कुनै किसिमका अप्रिय घटना नहोऊन् र अपराधीहरुले राजनीतिक कभर प्रयोग गर्न नसकुन् भनेरै हामीले सचेततापूर्वक पूर्वनिर्धारित कार्यक्रम स्थल र त्यहाँ जाने बाटोसमेत परिवर्तन गरेका थियौं । राष्ट्रघाती अपराधीहरुले हामीलाई भागेको प्रचार गरेर क्षणिक आत्मरति लिन सक्लान् । तर, एमाले पिठ्यूँ फर्काएर भाग्ने पार्टी होइन । यो तिनीहरुले समयमै बुझून् !

तर, प्रधानमन्त्रीदेखि मधेसी मोर्चाका नेताहरुले अब अभियान रोक्न आग्रह गरिरहका छन्, थप भिडन्त ननिम्त्याऔं भन्ने आग्रह गरिरहेका छन् नि त ?

हामी मधेसी मोर्चासँग अनावश्यक तिक्तता र भिडन्त निम्त्याउन चाहन्नौं । तर एउटा कुरा स्पष्ट होस्, मोर्चाको अरनखटनमा त हामी चल्दैनौं । मधेसी मोर्चा भनेको वर्षातको खहरे हो । त्यसको अस्तित्व कहिले समाप्त हुन्छ भन्ने पर्खिएको् स्थिति हो । राजनीतिक रुपमा एमालेको इतिहास हजुरबा र मोर्चा नाति पुस्ताको जस्तै हो । हाम्रो समाजमा हजुरबाले नातिलाई बाटो देखाउँछ, नातिले हजुरबालाई बाटो देखाउने न चलन छ, न त संस्कार नै ! एमाले कसैको धाक, धक्कुमा डराउने र गल्ने पार्टी होइन । यो यतिबेला त जनताको अपार समर्थन पाएको र सर्बाधिक भरोसा भएको पार्टी हो । कसैका अनुचित आग्रह र धम्कीका सामु झुकेर आफ्नो शान्तिपूर्ण राजनीतिक अभियानको कार्यक्रम स्थगन गरी सिरानी हालेर सुत्ने पार्टी एमाले होइन र हुनसक्दैन ।

आफ्नो राजनीतिक कार्यक्रम गर्न पाइन्छ, तर मधेसी मोर्चालाई उत्तेजित बनाउने भाषण किन गर्नुपथ्र्यो र ?

एमालेले कसैलाई उत्तेजित हुनुपर्ने भाषण वा काम केही गरेको छैन । एमालेले आफू सरकारमा हुँदा वा सरकारबाट हटेपछि देश र जनताको हितमा गरेका कामहरु ज्नताको बीचमा राख्न चाहन्छ र यो अभियान त्यसै प्रयोजनका लागि हो । मधेसी मोर्चाका मानिसहरुले ‘एमाले जनतामा गइदिनुभएन, यदि जान्छ भने हामी झुण्डिएर मर्छौं भन्छन् भने हामीलाई त्यो याचना स्वीकार्य छैन । कोही झुण्डिएर मर्छ भन्दैमा एमालेले आफ्नो कुरा जनतामा नराख्ने र जनतामा नजाने भन्ने त हुन सक्दैन । हामी आफ्ना कुरा लिएर जनतामा जाँदा कोही रिसाउला, कसैले आफूलाई घोचेको ठान्ला वा चित्त दुखाउला ! यसमा हाम्रो भन्नु केही छैन । हामीले समूहगत वा व्यक्तिगत हिसाबले कसैमाथि तथ्यहीन र अपमानित महसुस हुने आलोचना र व्यवहार गरेका छैनौं । एमालेको जनपक्षीय नीति, कार्यक्रम र मुलुकको हितमा लिएका अडानहरु र गरेका कामले उनीहरुलाई घोच्छ भने हामी केही अन्यथा भन्न सक्दैनौं । यसमा त उनीहरुलाई कुनै मलमपट्टी लगाउन सक्दैनौं । हामीलाई नानाथरी भन्नेहरुले एकपटक आफ्नो अनुहार ऐनामा हेरे हुन्छ । यदि उनीहरु सच्चिएर अघि बढ्छन् भने हामीले आलोचना गर्ने ठाँउ नरहनसक्छ ! कसले जितेको र कसले हारेको भन्नेमा जनता स्पष्ट छन् ।

राजनीतिमा एउटै निर्वाचनले पार्टीहरुको लोकप्रियता मापन गर्दैन भन्ने कुराको उदाहरण एमाले आफैं हो । अनि किन मधेसमा गएर हामी जितुवा, तिमीहरु हरुवा भन्नुपरेको ?

मधेसभरि हारेकाहरुलाई कसरी जितुवा भन्ने त ? मधेसभरिमा मोर्चाले जम्मा चार–पाँच सिट जितेको छ । काँग्रेसले ५० भन्दा बढी सिट जितेको छ, हामीले ४० हाराहारी सिट जितेका छौं । यसो भनेर हामीले के फर्जी र गलत कुरा गरेको हो र ? यो त निर्वाचन आयोगले सार्वजनिक गरेको परिणाम नै हो । हाम्रो जित र उनीहरुको हार एउटा इतिहास भइसकेको कुरा हो । यसमा बहस गर्नैपर्दैन । कुनै रुख बाङ्गिएको छ भने त्यसलाई बाङ्गो भन्नै नपाइने ? त्यसलाई हामीले कस्तो सालजस्तो सिधा रुख रहेछ भन्नुपर्ने ? मधेसमा जनताको म्याण्डेट पाएका हामी हौं । हामीले हो त्यहाँका जनताको प्रतिनिधित्व गरिरहेको । उनीहरु (मधेसी मोर्चा) त शून्य हाराहारीजस्तै हा, आफूले सर्मनाक पराजय भोग्ने, श्रीमतिलाई सांसद मनोनयन गर्ने, अनि मधेसी जनताको मसिहा ठान्ने ? अब विदेशीको दानापानी खाएर कसैले मधेसी जनताको ठेकेदारी नगरे हुन्छ । जनताले दिएको आफ्नो हैसियत स्मरण गर, जनताले तिमी मोर्चावालाहरुलाई पत्याएका छैनन् । हामीले यो कुरा भनेका हौं र भन्नु नै पर्छ । मधेसी मोर्चाले मधेसको एक्लो ठेकेदारीको दाबी नगरेको भए हामीले सायद यसो भन्नुपर्थेन । हामीलाई त्यसो भन्न बाध्य पार्ने उनीहरु नै हो । किनभने, जनताले तिरस्कार गरिसकेको शक्ति हो मधेसी मोर्चा । जनताले लज्जाजनक ढंगले हराइसकेपछि श्रीमती र ‘गर्लफ्रेण्ड’हरुलाई समानुपातिक र मनोनयनमा माननीय बनाउनेहरुले मधेसी जनताको नाममा रुवाबासी नगर्दा नै राम्रो हुन्छ ।

राजविराजमा अरुले बोल्ने बेलामा प्रदर्शनकारी शान्तै थिए, जब केपी ओलीले ‘कालो झण्डा बोक्नेहरुतर्फ लक्षित गरेर ‘कालो झण्डा फाल, रातो झण्डा बोक्न आऊ’ भनेपछि हिंसा भड्एिको हो रे नि त ?

अध्यक्षले त्यसढंगले आह्वान गर्नुभएकै हो । हामी रातो झण्डा बोक्ने पार्टीका मानिस हौं । केही मान्छेले कालो झण्डा बोक्दैमा शान्तिपूर्ण राजनीतिमा विश्वास गर्ने हामीलाई केही फरक पर्दैन । रातो झण्डा परिवर्तन, विकास र समृद्धिको झण्डा हो । यो देश बनाउने झण्डा हो । कसैले उक्साएर कालो झण्डा नबोक, त्यो देश बनाउने बाटो र तरिका होइन । देश बनाउने बाटो भनेको रातो झण्डा बोक्ने र मातृभूमिको सेवामा समर्पित हुने तरिका नै हो । यो हामीले सधैं भन्दै आएको हो, कुनै नयाँ कुरा होइन । यो कुरा त हामी अब पनि भनिरहन्छौं । हामीले देश बनाउन सबै मिलौं भन्दा के अन्यथा भयो ? मधेसी मोर्चाका नाममा कालो झण्डा बोकाएर दुरुपयोग भएकाहरुलाई सम्झाई-बुझाई गरेको हो । राम्रो कुरा गर्दा कसैलाई होच्याएको वा अपमान गरेकोजस्तो लाग्छ भने त्यस्तालाई दया मात्रै गर्न सकिन्छ ।

तीन जना पूर्वप्रधानमन्त्री, (केपी, माधव, झलनाथ) दुई पूर्वगृहमन्त्री (वामदेव, भीम रावल), पूर्वसभामुख सुवास नेम्वाङ, कैयौं पूर्वमन्त्रीहरु, बाक्लो संख्यामा पार्टीका केन्द्रीय सदस्य र सांसदहरु सहभागी भएको कार्यक्रममा त्यस्तो अप्रिय घटना हुँदैछ भनेर राज्य संयन्त्रले पक्कै जनाउ दिएको थियो होला । तपाईंहरुको पार्टीपंक्तिको पनि सूचना थियो होला । त्यसो हुँदाहुँदै जबर्जस्ती कार्यक्रम गर्नुपरेकोचाहिं किन भन्ने धेरैको प्रश्न छ ?

ए त्यसो भए तीन जना पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री र सांसदहरु भएको पार्टी किन यसरी जनतामा गएको भन्न मिल्छ ? धेरै पूर्वप्रधानमन्त्री भएको हुनाले जनतामा जान डराउनुपथ्र्यो ? हामी कसैका विरुद्ध मुठभेड गर्न, कसैमाथि आरोप लगाउन, कसैलाई पावर देखाउन अभियानमा गएको त होइन । शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न पाउनु, आफ्ना कुरा जनतामा राख्न पाउनु संविधानले नै प्रत्याभूति गरेको मौलिक र नैसर्गिक अधिकार हो । हाकाहाकी शान्तिपूर्ण कार्यक्रम रोक्ने अपराधीहरु, कानून मिच्ने गैरकानूनी त्त्वहरु, जमिनदारको पक्षमा काम गर्ने तथाकथित मधेसी दलहरु र केही विदेशीका शिखण्डीहरुले धम्की दिए भन्दैमा हामी टोपी हातमा लिएर हिंड्ने ? यसो गर्ने पार्टी एमाले होइन र व्यक्ति पनि एमाले हुनसक्दैन ।

जस्तो अभियानलाई काँकडभिट्टाबाट सुरु गर्नुको साटो पश्चिमको कञ्चनपुरबाट सुरु गरेको भए दुई नम्बर प्रदेशसम्म आउँदा स्थिति यति तनावपूर्ण हुन्थेन कि, निहुँ खोज्ने नियत राखेरै पूर्वबाट अभियान थालियो भन्नेहरु पनि छन्, के भन्नुहुन्छ ?

हाम्रो अभियानको नाम नै ‘मेची–महाकाली राष्ट्रिय अभियान’ हो ।हामीले महाकाली–मेची अभियान भनेका थियौं र ? मेची–महाकाली भन्नुको तात्पर्य मेचीबाट सुरु गरेर महाकालीमा समापन गर्र्ने भन्ने नै हो । यो त लाटोले पनि बुझ्ने कुरा छ । पूर्व –पश्चिम राजमार्गकेन्द्रित अभियान भनेर पर्चा पम्पलेटहरु बाँडिएको छ । डेढ-दुई महिनादेखि प्रचार-प्रसार भएको छ । सञ्चार माध्यममा अभियान किन र केका लागि भनेर बारम्बर सामग्रीहरु छापिएका छन् । कुनै पनि पार्टीले आफ्नो केन्द्रीय योजनाअनुसार शान्तिपूर्ण कार्यक्रम गर्दा अरुलाई किन असह्य भएको ? यो हामीले बुझ्न सकेका छैनौं । एमालेको कार्यक्रममा जनताले साथ दिँदा अरुले किन टाउको दुखाएको ? सक्ने भए हामीले भन्दा धेरै जनता उतारे भइहाल्छ । यदि नसक्ने नै हो भने हामीलाई जनताले पत्याएनन् भनेर चुपचाप लागेर बसे भइहाल्छ । एमालेको राजनीति जनआधारित राजनीति हो । एमालेले विदेशी भूमिमा लुकेर, विदेशीको दाना खाएर देशभक्त नेपालीहरुमाथि ढुंगामुढा बर्साउने र ‘ब्ल्याकमेलिङ’ गर्ने राजनीति गर्दैन । एमाले बलियो जनाधार र स्पष्ट लक्ष–उद्देश्य बोकेर अघि बढेको पार्टी हो । जनताले निरंकुशताबिरुद्धको लडाईंबाट स्थापित गरेका एजेण्डा र कार्यक्रम संस्थागत गर्नको लागि हामीले यो काम गरेका हौं । एमालेले मधेसमा गएर मुलुककको अहितमा, जनताको अहितमा कुनचाहिं काम गरेको छ ? म प्रश्न गर्न चाहन्छु । तर तिनीहरुसँग यसको केही जवाफ छैन । विदेशीको नुन खाएर जिविका चलाउनेहरुले हामीलाई के गर्ने वा के नगर्ने भनेर सिकाउनु पर्दैन । आफ्नो बिल्लीबाँठ हुँदा वा भएर समेत देश र जनताका निम्ति लडेका एमालेका नेता र कार्यकर्ताहरुलाई कसैले अर्ति दिनुपर्दैन । हामीलाई के गर्न हुने र के गर्न नहुने भन्ने खालको निःशुल्क उपदेश अरुलाई दिँदा वा भन्दा राम्रो होला ।

पेलेरै जान्छौं, चार जनाले कालो झण्डा देखाउँदैमा डराउँन्नौ भन्नचाहिं हुन्थे नि कि ? बाटोभरि आतंक मच्चाउनेहरु बढीमा एक सयजना थिए । स्वतन्त्र पत्रकारहरुले यही लेखेका छन् । दुई÷चार जना भएका ठाउँमा, तिमीहरु दुई÷चार जनाले कालो झण्डा देखाउँदैमा अभियान नरोकिन्न । यो देश बनाउने र संविधान कार्यान्वयन गर्ने अभियान हो । यही कुरा हाम्रा नेताहरुले भन्नुभएको हो । यो त एकदम सही कुरा हो । सही कुरा गरेर के गल्ती भयो ? मधेसी मोर्चाले पनि त अप्रिय स्थिति आउनसक्ने भएकाले कार्यक्रम नगर्न आग्रह गरेको थियो रे ? त्यसलाई चाहिं किन वास्ता गर्नुभएको ?

मधेसी मोर्चासँग हामीले कुरा गरेका थियौं । तर गैरकानुनी, आपराधिक, हिंस्रक गतिविधि वा माग स्वीकार्य हुन सक्दैनथ्यो । मधेसी मोर्चा भनेको राजनीतिक पार्टी हो कि एउटा आतंककारी गतिविधि गर्नेहरुको झुण्ड हो ? देशका विरुद्ध लड्न जत्था तयार पार्नेहरुलाई राजनीतिक शक्ति मान्ने कि नमान्ने ? यो प्रश्न र आशंका पैदा भएको छ । हामी सोध्न चाहन्छौं, रिस र आक्रोशले विभिन्न गलत र आपराधिक गतिविधि गर्न खोजिएको हो कि ? सिद्धान्तमा आधारित राजनीति गर्न स्पेश बाँकी रहेन ? हामीले मधेसी मोर्चावालाहरुलाई भनेका हौं – यसो गरेर त तिमीहरु आफ्नै क्रियाकलापका कारण छिट्टै पतन हुनेछौ । जनताले धेरै छिटो तिमीहरुका बारेमा बुझ्नेछन् । त्यसपछि बहकावमा लाग्ने लठैतहहरुसमेत कोही पाउने छैनौ । आफ्ना छोराछोरी भारत, युरोप र अमेरिकामा पढाएर आफ्नो तुच्छस्वार्थका लागि गरिब र निमुखा मधेसी जनताका सन्तानका हातमा लाठी र बम थमाउनेहरुको असलियत एक दिन पटाक्षेप हुन्छ नै ।

तर, एमालेकै जबर्जस्तीले गर्दा सप्तरीमा अप्रिय घटना भयो भन्ने जनमतलाई पनि त तपाईंहरुले सम्मान गर्नुपर्ला नि ?

मधेस भनेको अखण्ड नेपालको भू–भाग हो । यो कुनै विदेशी भूमि त होइन । मधेस जाँदा मधेसी मोर्चासँग अनुमति मागेर, उनीहरुले भीसा दिएर वा कृपा प्रदान गरेर जानुपर्ने हो र ? मधेस उनीहरुको छुट्टै राज्य हो ? ती सबै प्रतिस्र्धात्मक राजनीतिमा टिक्न नसकेपछि अरुमाथि आरोप लगाउनेहरुको गलत रवैयामात्र हो । केपी शर्मा ओली र एमालेलाई जथाभावी गाली गर्ने ? केपी ओलीलाई मधेसी जनताको एक नम्बर दुश्मन जस्तो गरी प्रचार गर्ने ? के त्योचाहिं सम्मानको राजनीति गरेको हो ? जब हाम्रो पार्टी र नेतृत्वमाथि गलत भ्रम छरियो, त्यसलाई चिर्न र स्पष्ट पार्न हामी जनतामा नगएर कहाँ जाने ? के अन्तरिक्षमा जाने ?

मधेसी मोर्चा र तपाईंहरुको राजनीति अनि एकअर्काप्रतिको आरोप÷प्रत्यारोप आफ्नो ठाउँमा होला । तर, निर्दोष जनताको अनाहकमा ज्यान जानु राम्रो हो र ?

घरमा बसिरहेका सर्वसाधारणमाथि प्रहरीले आक्रमण गरेको छैन, यो केबल मिथ्या प्रचारबाजी हो । जो प्रहरीमाथि नै जाइलागेका थिए, तिनीहरुलाई गोली लागेको हो । शान्तिपूर्ण राजनीतिक अभियान गर्न गएको शक्तिका विरुद्ध बाटाघाटामा बम राख्ने, भात पकाउने प्रेसर कुकरलाई बम बनाएर पड्काउने, बियरको बोत्तलमा पेट्रोल भरेर पेट्रोल बम बनाउने र हान्नेहरुमाथि कारबाही हुनुपर्दैन ? के यो देशमा राज्य छैन ? कानून र संविधान छैन ? म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, सप्तरी घटनामा एमालेलाई जबर्जस्ती तानेर तेजोबध गर्ने षड्यन्त्र तत्काल बन्द गरियोस् । सबैलाई आफ्नो राजनीति लिएर जनतामा जाने अधिकार छ । त्यसमा हाम्रो अरु भन्नु केही छैन । एमालेको नीति कसैलाई मन पर्दैन भने जनतामा गएर भने हुन्छ । हामीविरुद्ध जनमत तयार पारेर पराजित गरे हुन्छ । यसमा हाम्रो सहमति नै हुन्छ । तर, भात पकाउने भाँडोलाई बम बनाउँदैमा एमाले तर्सिएर भाग्दैन । काठमाडौंमा सबैभन्दा धनाढ्य भएर गगनचुम्बी महलमा बस्ने, अनि मधेसको प्रवक्ता बन्नेहरु मधेसका असली ठेकेदार ? हामी जनताको मन जितेका शक्ति मधेसविरोधी ? यो हुनसक्दैन ।

सप्तरी घटनापछि एमाले कार्यकर्ताको भागाभाग छ, एमालेजनमा चरम असुरक्षा छ । नेताहरु भागेर काठमाडौं आउने, अनि आफ्ना समर्थकको सुरक्षाचाहिं नगर्ने ?

अहिले पनि आपराधिक जत्थाले हाम्रो पार्टीका कार्यालयहरुमा आगो लगाउने, मधेसका नेता÷कार्यकर्तामाथि कालोमोसो दल्ने, कुटपिट गर्ने काम गरिरहेका छन् । हामी भन्छौं, यस्ता अराजनीतिक हर्कतहरु तत्काल रोकियोस् । एमालेको कार्यालयमा आगो झोसेर, केही निहत्था कार्यकर्ता पिटेर आफू सुरक्षित छु भन्ने भ्रममा कोही नपरे हुन्छ । हामीलाई राम्रोसँग थाहा छ – मधेसी मोर्चाका नाममा राजनीति गर्नेहरु कोबाट पालितपोषित छन्, कहाँकहाँ बस्छन् ? नेपालीमा एउटा उखान छ, ‘जस्तालाई त्यस्तै, ढिँडालाई निस्त भनेजस्तो’ हामीलाई गर्न बाध्य नपारियोस् ! हामी उपयुक्त समयमा अपराधीहरुसँग बदला लिन तयार छौं । हामी त्यस्ता अपराधीहरुलाई पानीमुनि गए पनि छाड्ने छैनौं । एकएक हिसाबकिताब चुक्ता गरिनेछ । टीकापुर घटनाको प्रतिवेदन भर्खरै आएको छ । ढिलै सही । तर, त्यसमा स्पष्टसँग भनिएको छ कि उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेशकुमार सिंहजस्ता उदण्ड र गैरजिम्मेवार मान्छेहरुका उत्तेजक अभिव्यक्तिकै कारण टीकापुरमा नरसंहार भएको थियो । गौर काण्ड कसले गराएको हो भन्ने पनि आइसकेको छ । कुनै दिन सप्तरी काण्डको पनि फेहरिस्त बाहिर आउँछ नै । अनि अपराधिक तत्वहरु के देशभित्र कहींकतै वा पानीमुनि गए पनि जोगिने छन् र ?

मधेसमा अभियान चलाउन बाहिरका मानिसहरु लगेको हुनाले स्थानीय उत्तेजित भएको भन्ने पनि आएको छ नि ?

काँकडभिट्टादेखि राजविराजसम्म आउँदा हाम्रो अभियानमा कति मानिस सहभागी भए भनेर सबैले बुझ्दा हुन्छ । पार्टी अध्यक्षदेखि नेतृत्व तहका सबै नेतागण, पत्रकार, स्वास्थ्यकर्मी, स्वयंसेवक र सुरक्षाकर्मी गरेर एक हजार हाम्रो अभियानको स्थायी टिम थियो । अभियानलाई राम्रो मानेर मानिसहरु बीचबीचबाट पनि केही थपिएका अवश्य थिए । बाँकी सबै त्यहींका स्थानीय जनता थिए । एमाले मधेसी मोर्चाजस्तो बर्षात्को एकाएक उठेको खहरे पार्टी त होइन । यो देशमै व्यापक जनाधार भएको पार्टी हो । सप्तरी कृष्णराज बर्माहरुको पालादेखि कम्युनिष्ट आन्दोलनको राम्रो जनाधार भएको ठाउँ हो । मधेसी मोर्चाले शून्य सिट हासिल गर्र्दा सप्तरीमा हामीले प्रत्यक्षमतर्फ नै एक क्षेत्रमा निर्वाचन जितेका हौं, एउटा क्षेत्रमा थोरै मतान्तरले पराजित भएका  छौं । अरु क्षेत्रमा कुनैमा दोश्रो र कुनैमा तेश्रो स्थानमा आएका थियौं । हामी बाहिरका मानिस लगेर मधेसीलाई देखाउन त्यहाँ गएका त थिएनौं । धेरै दिनदेखिको धम्की र त्रासका बाबजुद एमालेको कार्यक्रममा सहभागी हुन रुचि राख्नेहरु, हामीलाई माया गर्नेहरु र समर्थकहरु हजारौंको संख्यामा स्वतस्फूर्त रुपमा त्यहाँ आएका हुन् । अरुले जस्तो हामीले सीमापारीबाट भाडामा कसैलाई ल्याएका होइनौं । देशभित्रैका जनता परिचालित गरेका हौं र अब पनि त्यसै गर्छौं ।

अब सप्तरीमा जस्तै अप्रिय घटना नहोस् भन्नका लागि के गर्नुहुन्छ ?

एउटा सज्जनको घर चोरी भयो । तर जसको घर चोरी भयो उसैलाई चुकुल राम्रोसँग लगाउनुपथ्र्यो भन्न त सकिएला । तर, चोरलाई नै उन्मुक्ति दिने गरी घरधनीले चुकुल नलगाएको हुनाले चोरी भयो भनेर चोरका पक्षमा पैरवी गर्ने गल्ती कसैले गर्न मिल्दैन । सप्तरी घटना हाम्रो कारणले भएको थिएन । प्रहरीमाथि पेट्रोल बम उनीहरुले नै हानेको हो । बियरका बोत्तल र प्रेसर कुकरलाई बम बनाएर पड्काउने उनीहरु नै हो । युद्धको अभ्यास हामीले होइन, उनीहरुले नै गरेका थिए । हामी भिडन्तको पक्षमा थिएनौं र छैनौं ।

तर, पहिला तपार्ईहरुको तर्फबाट ढुंगा प्रहार भएपछि उताबाट प्रतिकार भएको भन्ने कुरा आएको छ त ?

हामीले एउटा ढुंगा पनि हामीले हानेका छैनौं । कार्यक्रम गरिरहँदा बाहिर उनीहरुले उत्पात नै गरिरहेका थिए, जबर्जजस्ती चलिरहेकै थियो । जब कार्यक्रम सकेर फर्किने क्रममा सबैभन्दा पछाडि रहेका टोलीहरुमाथि लक्षित गरेर उनीहरुले प्रहरीमाथि आक्रमण गरे । प्रहरीले समयमै प्रतिकार नगरेको भए टीकापुरभन्दा बढी सुरक्षाकर्मी त्यहाँ मारिने थिए । पहिला चेतावनी, त्यसपछि अश्रुग्यास, हवाई फायर र त्यतिले पनि स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले बाध्य भएर गोली चलाएको छ । टीकापुरमा जस्तै अपराधीहरुको प्रतिकार नगरेको भए राजविराजमा सयौं प्रहरीको एकै चिहान हुन्थ्यो । के त्यसो गरेर प्रहरीहरुचाहिं अनाहकमा मर्नुपर्ने थिर्यो ? प्रहरीले टीकापुर घटनाबाट पनि त केही सिक्नुपथ्र्यो नि ! जसरी बत्तीमा झुम्मिन र ठोक्किन जाने पुतलीको आफ्नै सर्बनाश हुन्छ, त्यसरी नै प्रहरीमाथि झम्टिन आएका अपराधीहरु मारिन्छन् । प्रहरीमाथि जाइलाग्नेहरु निहत्था र सर्वसाधारण हुन सक्दैनन् । केही मिडियामा प्रहरीले घरघरबाट थुतेर आक्रमण गरेको भन्ने बनावटी र नक्कली रिपोर्टहरु छापिन थालेका छन् । गहुँबारीमा र सडकमा भिडन्त भएको छ । जो मारिएका छन्, ती भिडन्तस्थलमै मारिएका थिए । घरको आँगन र मझेरीमा ढलेका होइनन् । प्रहरीले आफूमाथि बम हान्नेहरुलाई केही नगरी हात बाँधेर बस्नुपथ्र्यो भन्ने तर्क कसैले नगरेकै राम्रो हुन्छ ।

मानिस मारिएकोमा कुनै सहानुभूति छैन, होइन ?

हामीले कुनै विजय उत्सव मनाएर त हिंडेका छैनौ नि ! जो जसरी मारिए पनि ती नेपाली हुन् । मानिस मारिएकोमा हामीलाई हामी दुःखी छौं । तर, के अर्काको शान्तिपूर्ण कार्यक्रममा आएर बलपूर्वक ताण्डवनृत्य देखाउने र बम हान्नेलाई फूलमाला लगाएर अबिरजात्रा गर्नुपर्ने थियो ? जो मरे उनीहरु अरुका लागि किन त्यसरी दुरुपयोग भए ? जुन व्यक्तिहरु गहुँबारी माडेर प्रतिवादमा उत्रिए, त्यसको जवाफ उनीहरुले नै पाए । हामीले त गोली चलाएका होइनौं, एमालेको आदेशमा कोही मारिएका त छैनन् । मानिसहरु प्रहरीको गोलीबाट मारिएका छन् । पहिला एमालेलाई खेद भनेर उक्साउने गृहमन्त्रीले आफ्नै अपिलअनुसार एमाले खेद्न तम्सिएकाहरुलाई गोली हान्ने आदेश प्रहरीलाई किन दिए ? एमालेको प्रतिकार गर भन्ने गृहमन्त्रीको मुखबाट त्यसको जवाफ सुन्न मन छ, अहिले उनी कहाँ छन् ? मधेसी मोर्चावालाहरु प्रधानमन्त्री निर्वाचनमा आई भोट दिएको पार्टी होइन ? अहिले पनि ऊ सत्तापक्षमै छ । उनीहरुको आफ्नै सरकारले गोली हानेर मान्छ मारेको छ । अनि दोषचाहिं एमालेको थाप्लोमा हाल्ने ? हाम्रो आदेशमा त कोही मान्छे मारेको होइन नि ! जबकि मधेसी मोर्चा स्वयम् सत्तारुढ दल हो । उसले जिम्मा लिनुपर्दैन ?

प्रधानमन्त्रीले त गोली नचलाउनु भन्दाभन्दै घटना भएको हो रे ?

प्रधानमन्त्रीको भनाइ र नियतप्रति हामीलाई कुनै शंका छैन । काँग्रेस सभापति शेरबहादुर देउवा र मधेसी मोर्चाका पनि वुद्धि÷विवेक भएका नेताहरुले सही कुरा नै भनेका छन् । जो विदेशीका ‘सिता ताएर गीता गाउने’ छन्, जो देश विखण्डन गर्ने गरी विदेशीको हितमा काम गर्न उद्यत छन् । उनीहरुले यस्ता भ्रामक प्रचार गरेका छन् । एकजना दिनेश यादव भन्ने मानिस पहिले हाम्रै पार्टीका विद्यार्थी नेता थिए । अहिले मधेसी फोरमको जिल्ला संयोजक रहेछन् । उनले भनेको सुनियो– हामीले कार्यक्रम नगर्नुस् भनेर हात जोड्यौं, तर एमालेले मानेन ! यो उनको गोहीको आँशु मात्रै हो । खासमा भन्ने हो भने सप्तरी घटनाका मुख्य मतियारमध्ये ती दिनेश नामका व्यक्ति पनि एकजना हुन् । हामी यस्ता सबै अपराधीहरुको सूची तयार पार्दैछौं । तिनले यस्ता तमाम अपराधको लागि दण्डित बन्नैपर्छ । जोकोही अपराधीहरुले कुनै न कुनै दिन सजायको भागिदार त बन्नैपर्छ । यो तिनलाई हेक्का छैन भने पनि समयमै हेक्का रहोस् !

श्रोत काडमण्डु टुडे