काठमाडौँ /त्यसबेला हाम्रो घर काठमाडौंको किलागलमा सङ्गीतको महफिल चलिरहन्थ्यो। बुवा आशागोपाल गुरुवाचार्य स्वयम् धुरन्धर सङ्गीतज्ञ हुनुहुन्थ्यो, सितारवादनमा ओस्ताद। घरनजिकैको मच्छिन्द्र बहालमा हरेक साँझ भजनको कार्यक्रम चल्थ्यो। त्यहाँ कार्यक्रम सकेर कलाकारहरू हाम्रो घरमा आउँथे र फेरि अर्को महफिल सुरु हुन्थ्यो।

त्यतिबेला कलाकारहरूले गाँजा खानु खासै नयाँ कुरा थिएन। एकदुई चिलिम गाँजा सुइँक्याइसकेपछि राती अबेरसम्म हाम्रो घर सङ्गीतले गुन्जायमान भइरहन्थ्यो। हाम्रो घरमा शास्त्रीय सङ्गीत धुरन्धर स्रष्टा–कलाकारहरूको नियमित जमघट हुन्थ्यो। त्यो समय सम्झिँदा म आज पनि स्मृतिको एउटा न्यानो अनूभुतिले लफक्कै भिज्छु।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मेरा माइला दाइ नारायणगोपालले त्यही सङ्गत र वातावरणमा स्वतःस्फूर्त स्वरीय ज्ञान र शिल्प सिक्नुभयो। यद्यपि, पिताजी आफू सितारवादनका ओस्ताद भएकाले नारायणगोपाल दाइलाई पनि त्यसैमा अभ्यास गराउन चाहनुहुन्थ्यो।तर सान्दाइ (हामी नारायण दाइलाई घरमा सन्दाइ भनेर बोलाउँथ्यौँ र टोलियाहरू सान्बाबु भन्थे) लाई कालान्तरमा स्वरसम्राट हुनु रहेछ, त्यसैले, उहाँ वाद्यवादनमा भन्दा गायनमा बढी रुचि राख्नु हुन्थ्यो। २०१४ सालतिर त उहाँ गायनमा राम्रैसँग परिचित भइसक्नु भएको थियो।

मलाई सम्झना भएसम्म पछि माणिकरत्न र प्रेमध्वजले उहाँलाई रेडियो नेपालमा पुर्याउनु भएको हो। तर योभन्दा झन्डै पाँच वर्षअघि नै उहाँले मञ्चमा गाएर प्रसिद्धि कमाइसक्नु भएको थियो।