नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ठूलो देशको अहंकार छाडेर नेपाल र नेपालीसँग माफी माग्नुपर्ने बताएकाछन् । नेपाली भूमिमा आएर नै माफी माग्नु पर्ने उनले बताएकाहुन् । कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीबाट मारिएका गोबिन्द गौतमलाइ क्षतिपूर्ति समेत दिनु पर्ने बताउदै उनले भने -,मैले प्रधानमन्त्रीलाई व्यक्तिगत रुपमा पनि भनेको छु, तपाईंले भारतसँग माफी माग्न भन्नुपर्छ, क्षतिपूर्ति माग्नुपर्छ ।
शहीद गौतमको परिवारलाई एमालेले सम्मानस्वरुप ५ लाख रकम उपलब्ध समेत गराएको छ । ओलीले गौतमका छोरीहरुको शिक्षादिक्षाका लागि चिन्ता नलिन आग्रह गर्दै ओलीले भने-,अरु कोही छैन भने एमाले छ । राज्यले अहिलेसम्म कुनै वास्ता नगरेको र क्रिया खर्च समेत उपलब्ध नगराएको अवस्थामा ओलीको यो कदमको सबैले प्रशंशा गरेकाछन् ।
नेकपा (एमाले) ले फागुन २१ गते पूर्वको झापाबाट सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गतको अन्तिम सभा आज कञ्चनपुरको महेन्द्रनगरस्थित खुल्ला मञ्चमा सम्पन्न भएको छ । धनगढीमा सभा सकेर महेन्द्रनगर जाँदा अभियानको केन्द्रीय टोलीलाई राजमार्गको किनारामा बसेका ठूलो जनसमुदायले हार्दिक स्वागत गरेका थिए ।
सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमाले कमजोर भयो भने देश कमजोर हुने बताए । ‘एमालेसँग देशलाई कमजोर बनाउन चाहने तत्व कति आतंकित हुँदा रहेछन् भन्ने देख्नुभयो होला नि ?,’ उनले भने, ‘हामी पूर्वबाट हिँडेपछि भाला, लाठी, ढुंगामुढा बोकेर आए । हामीले संघर्ष गरेर ल्याएको लोकतान्त्रिक परिपाटीविपरीत प्रस्तुत भए । शान्तिपूर्ण रुपमा सभ ागर्न नदिने तत्वलाई जनताले चिनेका छन्, चिन्छन् ।’
उनले एमालेका नेताहरुमाथि सांघातिक आक्रमण गर्ने, नेताहरुको हत्या गर्ने उनीहरुको प्रयास सफल नभएको पनि दाबी गरे । ‘हामीमाथि आक्रमण गर्न प्रहरीले दिएन भनेर प्रहरीमाथि आक्रमण भयो,’ उनले भने, ‘ काठमाडौंँको आरामदायी सोफामा बसेका, एसी लगाएका, कानमा फोन लगाउनेहरुले आक्रमण गर्न आदेश दिन्छन् । ४८ जना प्रहरी घाइते बनाइयो । हत्याको जिम्मा तिनले नै दिनुपर्छ ।’
उनले एमाले जहाँ पुग्यो, त्यहाँ बन्द किन ? भनी प्रश्न पनि गरे । ‘किनभने, सूर्य जहाँ पुग्छ, त्यहाँ उज्यालो हुन्छ । त्यही भएर तिनीहहरु आत्तिएका छन्,’ उनले प्रश्नको जवाफ आफैँ दिदै भने, ‘म भन्न चाहन्छु, हत्केलाले आफ्नो आँखा छेक्न सकिएला, सूर्यलाई छेक्न सकिन्न । यस्ता षड्यन्त्रलाई पराजित गरेर दृढतापूर्वक अघि बढ्ने जनतालाई धन्यवाद दिन्छु ।’



