लालबाबु पण्डित एमालेमा मात्र होइन राष्ट्रिय रुपमै चर्चा कमाएका व्यक्ति हुन् । मधेसी मोर्चाका गतिविधिलाई खुलेर आलोचना गर्ने पण्डित मधेसलाई अलग राष्ट्र बनाउँने मोर्चाका केही नेताहरुको अभिव्यक्तिको कठोर आलोचक पनि हुन् । पण्डितसँग एमालेले भर्खर सम्पन्न गरेको मेची–महाकाली राष्ट्रिय अभियान, त्यसले तराई–मधेसमा पारेको प्रभाव, सप्तरी घटनापछि मधेसमा एमालेको ‘पोजिसन’ लगायतका बारेमा केन्द्रित भएर  गरेको कुराकानीः

नेकपा (एमाले¬)को मेची–महाकाली राष्ट्रिय अभियान भर्खर सम्पन्न भएको छ । यो अभियानको मूल्याङ्कन कस्तो रह्यो ?

गत फागुन २१ देखि झापाको काँकडभिट्टाबाट सुरु मेची–महाकाली राष्ट्रिय अभियान कञ्चनपुर आएर सकिएको छ । यो अभियानका क्रममा निकै उत्साहजनक सहभागिता देखियो । जसका कारण हामी निकै उत्साहित भएका छौँ । यो अभियानले सामाजिक सद्भाव विथोल्न खोज्ने, राष्ट्रलाई विखण्डनतर्फ लैजान खोज्ने, साम्प्रदायिक सद्भाव विथोल्न खोज्ने तत्वहरुलाई परास्त गरेको छ ।

यो अभियानले नेपालको सार्वभौमिकता र राष्ट्रिय एकतालाई अझ मजबुत बनाउने मात्र होइन संविधान कार्यान्वयन गर्ने कुराको पनि ग्यारेण्टी गरेको छ । त्योसँगै सामाजिक सद्भावको विकास गर्न पनि यो अभियानले सहयोग गरेको छ । यो अभियानले स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचन गर्दै संविधान कार्यान्वयन गर्ने कुराको पनि ग्यारेण्टी गरेको छ ।

यो अभियानले मुलुकलाई शान्ति, स्थिरता कायम गर्दै सम्वृद्धिको दिशामा अघि बढ्न पनि सहयोग गरेको छ । के पहाडी, के हिमाली, के मधेसी, के राई, के लिम्बु, के पूर्वीया, के पश्चिमा अहिले सबैको चाहना भनेको शान्ति, स्थिरता र संम्वृद्धि हो । यो पूरा गर्नका लागि पनि एमालेको अभियान सहयोगी बनेको छ । यो एमालेको मात्र अभियान नभएर राष्ट्रिय अभियान बनेको छ । खुशी, सम्पन्न र नयाँ नेपालको परिकल्पना सबै नेपालीले गरेका छन् । यो सपना पूरा गर्ने पार्टी एमाले हो भन्ने सन्देश पनि अभियानले दिएको छ । अभियानका क्रममा लाखौँको उपस्थिति र एमाले प्रवेशको लहरले पनि त्यही कुराको संकेत गरेको छ । हामी आफैँले पनि त्यो सपना पूरा गर्नका लागि यो सकारात्मक पाइला हो भन्ने ठानेका छौँ ।

तर, अभियानका क्रममा अभियानलाई विथोल्ने प्रयासहरु पनि त भए नि ?

हो, केही ठाउँमा हाम्रो शक्तिलाई देखेर केही विखण्डनकारीहरुले त्यस्तो प्रयास पनि गरेकै हुन् । संकुचित सोच, संकुचित विचार भएका त्यस्ता व्यक्तिहरुले छिट्टफुट्ट रुपमा गरेका ती प्रयासलाई पनि हामीले परास्त गर्न सफल भयौँ । समित, जातिय, क्षेत्रीय र साम्प्रदायिक कुरा गर्नेहरु कमजोर हुँदै गएको र राष्ट्रिय मूल भावना भएको एमालेले सकारात्मक पाइला चाल्दा आत्तिएर गरेका केही प्रयासलाई हामीले गम्भीर रुपमा लिएका छैनौँ ।

कमजोर भएकाहरुले एमालेको विरोध गरेर आफू बलशाली बन्न खोजेको देखियो । तर, स्थानीय स्तरमै एमालेले अभियान लिएर गएको अवस्थामा स्थानीयस्तरको उत्साहजनक सहभागिताले उनीहरु झन्–झन् कमजोर भएको हामीले महशुस गरेका छौँ । मलाई लाग्छ, उनीहरुले पनि त्यो महशुस गरेका छन् ।

त्यसैले म उनीहरुलाई भन्न चाहन्छु । सक्ने भए पवित्र भावनाले एमालेकै जसरी राष्ट्रका हितमा काम गर्नु नभए विरोध मात्र गर्दा जनताले अब पत्याउनेवाला छैनन् । एमालेले राष्ट्रिय झण्डा बोकेर राष्ट्रियताको आवाजलाई बलियो बनाएको छ ।

तराईका केही क्षेत्रमा त एमालेको अभियानलाई लक्षित गरेर पेट्रोल बम प्रहार गर्नेसम्मका हर्कत भए नि ?

एमालेको अभियानबाट आत्तिएकाहरुले केही ठाउँमा पेट्रोल बम, सुतली बम प्रहार गर्ने, भाला हान्ने, लाठी देखाएर तर्साउनेसम्मका हर्कत गरेकै हुन् । केही ठाउँहरुमा कालो झण्डा देखाउने जस्ता तल्लोस्तरका हर्कतहरु पनि उनीहरुले गरे । उनीहरुलाई म भन्न चाहन्छु । यस्ता हर्कत गरेर समय बर्बात गर्नुको कुनै अर्थ छैन । बरु राष्ट्रिय झण्डा बोकेर एमालेकै जस्तो अभियानमा अघि बढ्दा राम्रो हुन्छ । जनताले पनि विश्वास गर्छन् । यो नेपालको पनि हितमा हुनेछ ।

एमालेले त राष्ट्रिय झण्डा उठाइसक्यो । राष्ट्रिय झण्डा बोकेर एमाले राष्ट्रिय एकताको अभियानमा अघि बढिसक्यो । यो अभियानमा अवरोध गर्नेसँग सामना गर्न एमाले तयार भएर नै अघि बढेको छ । नेपाल र नेपालीको सम्वृद्धि चाहनेहरुसँग भने एमाले हातमा हात मिलाएर अघि बढ्न तयार छ ।

एमालेको यो अभियानले राष्ट्रिय रुपमा मात्र होइन अन्तराष्ट्रिय रुपमा पनि सकारात्मक सन्देश दिएको छ । विश्वभरी रहेका नेपालीहरुले समेत एमालेको यो अभियानको खुलेर प्रशंषा गरेका छन् । उनीहरुले पनि एमालेको यो अभियानले देशलाई संविधान कार्यान्वयनको दिशामा अघि बढाएको भन्दै खुशी व्यक्त गरेका छन् ।

प्रदेश नम्बर दुईमा एमालेप्रति गरेको मोर्चाको व्यवहारलाई चाहिँ कसरी लिनु भएको छ ?

सप्तरीको राजविराजमा एमालेको नेतृत्वलाई नै समाप्त गर्ने योजनासहित जुन घटना भयो त्यो खेदजनक छ । एमालेले त्यसलाई आतंकपूर्ण घटनाका रुपमा लिएको छ । त्यो आतंकपूर्ण घटनामा संलग्नहरुलाई म आग्रह गर्न चाहन्छु । अब त्यस्ता घटनालाई त्यागेर सकारात्मक बाटोमा नआउने हो भने त्यसले उनीहरुकै लागि घातक हुनेछ । राजनीतिक प्रतिस्पर्धा गर्नेले गैरराजनीतिक बाटो समात्दाको परिणाम राजविराज घटना हो । म फेरि पनि उनीहरुलाई आग्रह गर्न चाहन्छु । गैरराजनीतिक बाटोबाट राजनीतिक प्रतिष्पर्धा सम्भव छैन ।

अहिले मधेसी मोर्चाका नेताहरुले सप्तरी घटनामा मृत्यु भएका पाँच जनाको लाशमाथि राजनीति सुरु गरे भन्ने पनि आरोप छ नि ?

मेधसी मोर्चाका नेताहरुले आफ्ना कार्यकर्ता र सुभेच्छुकलाई गलत ठाउँमा प्रयोग गरेर राजनीति गरिरहेका छन् । यो उनीहरुको उदेश्य नै गलत छ । आफ्नो विचारलाई बहुमतमा लैजान राजनीतिक गतिविधि गर्न पाइन्छ । तर, बहुमतको निर्णय नमान्ने भन्दै अल्पमतलाई बहुमत ठानेर गलत हर्कतको बाटो समात्नु हुँदैन । कसैको बहकाउमा लाग्दाको परिणाम सकारात्मक हुँदैन । नेपाल र नेपालीको भविष्यका निम्ति मधेसी मोर्चाले चालेको कदम ठीक छैन । उनीहरुले यसलाई सोच्न जरुरी छ ।

सप्तरी घटनापछि एमालेले प्रदेश नम्बर दुईका सबै कार्यक्रम स्थगन गरेको छ । एमाले अब प्रदेश नम्बर दुईमा फर्किन्छ ?

एमालेले राष्ट्रिय अभियानलाई पूर्णरुप दिन्छ । प्रदेश नम्बर दुईमा दुःखद् अवस्था सिर्जना भएका कारण केही समयका लागि त्यहाँका कार्यक्रम स्थगन गरेको हो । एमाले विचारका आधारमा चल्ने पार्टी हो । यो मुठभेडमा रमाउने पार्टी होइन । त्यसैले त्यहाँ त्यस्तो घटना भएपछि मुठभेड गर्नुहुँदैन भनेर कार्यक्रम स्थगन गरेको हो । एमालेको कञ्चनपुरसम्मको अभियान पूरा भएको छ । अब एमाले नयाँ सोचका साथ प्रदेश नम्बर दुईमा जान्छ । एमालेले प्रदेश नम्बर दुईको मैदान मोर्चाका लागि खाली गरको होइन । सबै ठाउँमा एमाले पुग्छ । एमाले प्रदेश नम्बर दुईमा छिट्टै आउँदैछ ।

प्रदेश नम्बर दुईमा एमाले जाँदा फेरि मुठभेड होला नि ?

एमाले कुनै पनि उदण्डतालाई स्वीकार गदैन । एमाले आफ्नो बाटोमा निर्भीकतापूर्वक मधेसी जनताको बीचमा जान्छ । मधेसी मोर्चा फेरि पनि हाम्रो अभियान विथोल्ने गरी गलत बाटोमा आयो भने हामी ठीक बाटोमा ल्याउन सामना गरेरै अघि बढ्छौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah