सरकारले स्थानीय तहको निर्वाचनमा सुरक्षाका लागि नेपाली सेनासँग सहयोग लिने भएको छ । केन्द्रीय सुरक्षा समितिले निर्वाचनसम्वन्धी विशेष प्रस्ताव पास गर्दै नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी तथा म्यादी प्रहरी गरी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो ।
समितिले मुलुकको सुरक्षा अवस्थालाई ध्यान दिएर सुरक्षाकर्मीलाई तोकिएको भन्दा पनि बढी खटाउने निर्णय पनि गरेको छ । सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले आफ्नै सुरक्षा संयन्त्र परिचालन गरी सुरक्षा योजना बनाइरहेका छन् । ती निकायले राष्ट्रिय अनुसन्धान विभागले तयार पारेको सूचनालाई समेत विश्लेषण गरेर सुरक्षा योजना बनाउने भएका छन् ।
यतिबेला चार वटै सुरक्षा निकाय पूर्वी पहाड र तराईाका जिल्लामा हुन सक्ने संभावित सुरक्षा खतरा र त्यसको समाधानमा केन्द्रित रही सुचना संकलन गरिरहेका छन् । केही दिनअघि गृहमन्त्रलायमा बसेको सुरक्षा समितिले घोषित मिति मै स्थानीय तहको निर्वाचन हुने भएकाले सोहीअनुसार कार्ययोजना बनाएर कार्यक्षेत्रमा लाग्न सुरक्षा निकायले आफ्नो काम अघि बढाएको छ ।
आगामी ३१ बैशाख २०७४ मा घोषित स्थानीय तहको निर्वाचनमा सबै सुरक्षा निकाय गरी २लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भारत भ्रमणमा जानुअघि बसेको सो बैठकले निर्वाचनको आवश्यक तयारी पुरा गरेर योजनाअनुसार अघि बढ्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको हो ।



