नेकपा (एमाले) केन्द्रीय सदस्य रघुवीर महासेठले मधेशी मोर्चाले चुनावमा भाग लिने प्रतिबद्धता जनाए आफूहरु संविधान संशोधन प्रस्तावमा लचक हुन सक्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले यस्ता बताएका हुन् । उनले मधेसी मोर्चा जसरी पनि चुनावमा आउनुको विकल्प नभएको भन्दै सहमतिमा अघि बढ्न सुझाव दिए । ‘भोलि यो पार्टीका कारण हामी चुनावमा जान पाएनौं भनेर पछुताउने काम नहोस्, बेलैमा विचार गर्नुृहोस्,’ उनले भने, ‘मधेशी मोर्चाले पहिलो संविधान संशोधनमा पनि दुई वटा विषय पारित भए हामी मान्छौं भन्नुभयो, दुईवटा विषय पारित हुँदा पनि उहाँहरुले पछि फेरि अर्को बखेडा झिक्नुभयो।’
उनले यो पटक संविधान संशोधन प्रस्तावमा उल्लेख गरिएका चार वटा विषयहरुमध्ये प्रदेशको सिमांकनको बारेमा प्रमुख तीन दल कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रवीच समान धारणा रहेको स्पष्ट पारे।
मोर्चाका नेताहरुले चुनाव नचाहे पनि जनताले चुनाव चाहेको स्पष्ट पादै उनले भने– ‘ मोर्चाभित्र पनि अनिल झाजी जस्ता थुप्रै नेताहरु चुनावको पक्षमा हुनुहुन्छ, तर के गर्नु उहाँ त केवल विद्यार्थी मात्रै हो, हेडमास्टरले भनेको कुरा मान्नैपर्यो, नमानेपछि फेरि अप्ठ्यारो पर्छ।’
उनले मोर्चाका नेताहरुलाई नितान्त नेपाली भएर नेपालको समस्याबारे सोच्न समेत आग्रह गरे। ‘मधेस बिग्रियो भने नेपाल नै बिग्रिन्छ,’ उनले भने ।
उनले मधेस नेपाल भएको भन्दै मधेसका जनता देशप्रति निकै उत्तरदायी भएको दाबी गरे । उनले मोर्चाका नेताहरुले छिमेकीको सल्लाह लिएर चलेको आरोप समेत लगाए। ‘विदेशीले नेपालको आत्मसम्मानमा चोट पुर्याउने काम गरेका छन्,’ उनले भने, ‘नाङ्गो हस्तक्षेप हामी सहन सक्दैनौँ ।’
उनले मोर्चाका नेताहरु भारतीय नेताहरुबाट निर्देशित भएको भन्दै भने–‘आन्दोलन गर्ने हो भने नेपालमा गर्नुहोस्, प्रतिष्पर्धा गर्नुहोस, हामी यहाँ आफ्ना कुरा राखेर जनतामा जाऔं न, किन दिल्ली, युपी र विहारमा गएर क्लास लिनुहुन्छ ?’



