काठमाडौं, १९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले अहिलेको परिस्थितिमा हिंसाको बाटोबाट कहिं पनि पुग्न नसक्ने बताएका छन् ।

देशमा अहिले ठूलो कम्युनिष्ट पार्टीको खाँचो रहेको बताउँदै अध्यक्ष प्रचण्डले ढिलो–चाँडो विप्लव पनि नेकपामै सामेल हुन आउने बताए । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पोलिटब्युरो सदस्य पदम राईलाई आइतबार नेकपा प्रवेश गराउँदै दाहालले हिंसाले गन्तब्यमा नपुगिने बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले अरु व्यक्ति र पार्टीलाई पनि पूर्वाग्रह नराखी नेकपामा मिसिन आग्रह गरे । राई चन्द समूहमा सरकारसँग वार्ता गर्नुपर्छ भन्ने लाइनमा थिए । यही कारण उनलाई चन्द समूहले हालै पार्टीबाट निलम्बन गरेको थियो ।

सुरक्षा खोज्दै नेकपा आएको होइन : पदम राई यता नेकपा प्रवेश गरेका पदम राईले नेकपामा आफू सुरक्षा खोज्दै नआएको बताएका छन् । एकीकृत जनक्रान्तिका नाममा आफू विप्लव समूहमा आवद्ध भएको तर, पछिल्लो समय पार्टीको गतिविधिले मन नछोएको उनले बताए ।

हिजो सशस्त्र द्वन्द्वमा १७ हजार मान्छे गुमाएको भन्दै उनले अब फेरि त्यस्तो नहोस् भन्ने चाहेको बताउँदै भने, ‘त्यही क्रममा मैले वार्ताको पहल गरें । सोमप्रसाद पाण्डे हुँदै नेकपाको नेतृत्वलाई भेटें ।’

त्यो भेटमा आफूहरुले बाहिरबाट सोचेको जस्तो होइन रहेछ भन्ने लागेपछि नेकपामा आएको उनले बताए । राईले भने, ‘बदला त लिन सकिएला, तर राष्ट्रलाई फाइदा हुँदैन भन्ने मैले बुझें ।’ पूर्व राज्यमन्त्री समेत रहेका राईलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलले पार्टी प्रवेश गराएका छन् ।