दलहरूबीच लामो समयको रस्साकस्सीपछि राष्ट्रिय दलको मान्यताका लागि तीन प्रतिशतको थ्रेसहोल्ड राख्ने सहमति भएको छ । व्यवस्थापिका संसद्को राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले राजनीतिक दलसम्बधी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक टुङ्गो लगाउँदै राष्ट्रिय दल बन्नका लागि प्रत्यक्षतर्फ एक सिट जित्नुपर्ने वा समानुपातिक तर्फ तीन प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था गरेको हो ।
समानुपातिकतर्फ तीन प्रतिशत थ्रेसहोल्ड राख्नेमा सहमति भएको उपसमिति संयोजक नेपाली काग्रेसका सांसद आनन्द प्रसाद ढुङ्गानाले लोकान्तरलाई जानकारी दिए । राज्यव्यवस्था समितिको बुधवार बस्ने बैठकले यसलाई टुङ्ग्याएर संसदमा पठाउने तयारी रहेको संसद् सचिवालय स्रोतले जानकारी दियो ।
साना दलको विरोधका कारण दलहरूले निर्वाचन कानूनमा थ्रेसहोल्ड राख्न सकेका थिएनन् । ‘राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट र समानुपातिकमा तीन प्रतिशत प्राप्त गर्नुपर्ने व्यवस्थामा सहमति भयो,’ उपसमिति सदस्य एमाले सांसद रामेश्वर फुँयालले भने, ‘राजनीतिक स्थायित्वका लागि यो कोशेढुङ्गा साबित हुनेछ ।’
नेकपा एमालेले पाँच प्रतिशत थ्रेसहोल्ड हुनुपर्ने अडान लिँदै आएको थियो । थ्रेसहोल्न नराख्दा व्यक्तिपिच्छे दल बन्ने, राजनीतिक अराजकता, गैरजिम्मेवारीपन र उत्तरदायित्व अभाव महसूस गरिएको थियो । विकसित देशहरूमा तीनदेखि पाँच प्रतिशत थ्रेसहोल्ड राख्ने गरिएको छ । थ्रेसहोल्ड राखिएपछि संसदमा थोरै दल हुने र अस्थिरता कम हुने अपेक्षा गरिएको छ ।










