बिष्णुप्रसाद पोखरेल
दमक/ नेपाल सरकारले बिभिन्न रोगहरु बिरुद्ध राष्ट्रिय अभियान चलाउने गर्छ । यसैक्रममा झापामा बिगत ६ बर्षदेखि हात्तिपाइले रोग बिरुद्धको अभियान सञ्चालनमा रहेको छ । अभियानको क्रममा निशुल्क रुपमा हात्तीपाइले रोगको औषधि ख्वाउने गरिएको भएपनि झापाको दमकमा भने यसको प्रयोग लाजमर्दो अवस्थामा रहेको रहस्य खुलेको छ । दमक सहित झापामा छैठौ पटक आउदो चैत १७ देखि १९ गतेसम्म फेरी अभियान चलाइने लागेपछि फेरी दमकका मानिसहरुले औषधि सेवन नगर्ने हुनकी भन्ने चिन्ताले सरोकारवालाहरुलाइ सताएको पनि पाईएको छ ।
हात्ती पाइले(फालेरिया) रोग मानिसलाइ नराम्रो गरि शारिरीक असक्त, असमर्थ तथा अपाङ्ग तुल्याउने सरुवा रोग भएकाले यसमा आफै सचेत हुनु पर्नेमा सरकारले चलाएको अभियानमा नै दमकबासीको चासो नगएको पाईएको हो । मसिनो धागो आकारको परजिबिबाट संक्रमण भए पछि यो लाग्ने गर्दछ । क्यूलेक्सि जातको संक्रमित पोथी लामखुट्टेले यो सार्ने गर्दछ । यसैगरि दमक र शनिअर्जुन नगरपालिकामा पछिल्लो पटक गरिएको सर्वेक्षणमा हात्तीपाइले रोगको जोखिम यस क्षेत्रमा कायम छ । ३ सय १० जनामा गरिएको परिक्षणमा २५ जनामा यसको जिवाणु फेला परेको उनले बताए ।
जिल्ला जन स्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रलोर बेदप्रसाद घिमिरेका अनुसार झापामा गत बर्ष ७३ दशमलव ५ प्रतिशतले हात्तीपाइले रोग बिरुद्धको औषधिको सेवन गरेकोमा दमकमा सबैभन्दा कम ४१ प्रतिशतलेमात्र औषधिको प्रयोग गरेकाछन् । यो अवस्था देखेर आफूहरु पनि अचम्मित भएको र यसले हात्तीपाइले रोग नियण्त्रणका लागि चुनौती थपेको उनको भनाइ रहेको छ । यो बर्ष जिल्ला जनस्वास्थ्य कार्यालयको ध्यान नै दमकमा केन्द्रित गर्नु पर्ने अवस्था रहेको उनले जनाए ।
जानेबुझेका र पढेलेखेकाहरुले नै गलत प्रचारका कारण औषधि सेवन नगरेकाले यस्तो भएको बताईएको छ । कागले कान लग्यो भन्दा कान नछामि काग खेद्नु जस्तो नबुझि भ्रमहरुको पछि कुद्ने काम भएकाले दमकमा औषधि सेवन कम भएको पनि जनाइएको छ ।
जिल्ला जन स्वास्थ्य कार्यालय झापाका शाखा अधिकृत देवराज कार्कीले अघिल्लो बर्षजस्तो दमकमा लाजमर्दो अवस्था नहुनेमा आशाबादी रहेको बताए । यो बर्ष राष्ट्रिय अभियान अर्थात हात्तीपाइले बिरुद्धको औषधि ख्वाउनका लागि ३ सय जना स्वयंसेवक परिचालन गरिने जनाए । यसको सम्पूर्ण जिम्मेवारी सरकारी दमक अस्पताललाइ दिइएको पनि उनले बताएकाछन् । स्कूल, क्याम्पस, सरकारी कार्यालय जहाँ पनि औषधि खान पाउने उनले बताएकाछन् ।
दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले दमक बजार तथा मूख्य चोकमा भन्दा खोल्साखोल्सि, खोला किनार तथा ग्रामिण क्षेत्रमा धेरै बसोबास रहेकाले अभियान त्यहाँ केन्द्रित गर्दा पहिलाजस्तो ४१ प्रतिशतलेमात्र नभइ धेरैले यसको सेवन गर्न सक्ने बताएकाछन् । नगरपालिकाले यस अभियानलाइ आफ्नै अभियानको रुपमा सहयोग गर्ने बताउदै बिभिन्न भ्रमहरुका कारण बुज्रुक तथा पढेलेखेकाले नै औषधि सेवन नगरेको र परिवारका सदस्यलाइ गर्न नदिएको पनि पाइएको उनको भनाइ रहेको थियो ।
दमक अस्पतालका कार्यबाहक अध्यक्ष लिला गुरागाइले दमक अस्पतालले हात्तीपाइले रोग बिरुद्धको औषधि ख्वाउने अभियानमा साथ दिने जनाए । उनले अस्पताल नै रेफर सेन्टर समेत भएकाले यस बिषयमा सबैसंग छलफल गरेर यो अभियानलाइ सफल बनाइने बताए ।
औषधि किन खाने ?
सरकारी दमक अस्पतालका मेसु डा.बिपनि पाण्डेका अनुसार यो रोगको संक्रमण हुनबाट रोक्नका लागि कम्तिमा पनि ४ देखि ५ पटकसम्म लगातार हात्तीपाइले बिरुद्धको औषधि सेवन गर्नु पर्ने हुन्छ । त्यसपछि जीबनभर कहिल्यै पनि यो लाग्दैन । डाईथाइलकार्बामाजिन चक्की र अबलेन्डाजोेल चक्कीको सेवन नै हात्तीपाइले रोगबाट मुक्त हुने औषधि भएकाले यसको प्रयोग जरुरी रहेको छ । अभियानमा नखाएकाहरुले पनि प्रत्येक बर्ष यो किनेर खाँदा रोग लाग्नबाट बच्न सकिने उनले बताए । खालिपेट बाहेक अन्य जूनसुकै समयमा पनि यो औषधि खान सकिन्छ ।
डा.क्षमता घिमिरेका अनुसार दूइ बर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घरोगी, गर्भवती, छारे रोगी, एकहप्ता नपुगेका सुत्केरी र सिकिस्त बिरामीले यो औषधि सेवन गर्नु हुन्न । बढि उमेर भएका जेष्ठ नागरिकलाइ पनि यो औषधि ख्वाइदैन । यो औषधि अन्य रोगहरुमा पनि सिफारीस हुने भएकाले औषधि खान डराउनु पर्ने कुनै अवस्था नरहेको डा. घिमिरेले बताएकीछन् । उनले हात्तीपाइले रोग बिरुद्ध सेवन गर्ने डाईथाइलकार्बामाजिन औषधिप्यारासिटिक इन्फेक्सन हुदा पनि प्रयोग हुने गरेको औषधि हो । ढुक्का साथ खान उनले आग्रह गरिन् ।
के हुन्छ औषधि नखाँदा ?
हात्तिपाइलेको संक्रमण बढेपछि हात, खुट्टा, अण्डकोष लगायत शरीरका विभिन्न भागहरु मोटो हुने गर्छ । हात्तिपाइलेको संक्रमणले शारीरिक अपांगता हुने भएकाले यो रोग लाग्न नदिन लामखुट्टेको टोकाईबाट बच्ने र हात्तिपाइले रोग विरुद्धको औषधी सेवन गर्नु उपयुक्त उपाय भएको बताइन्छ । विश्वमा अपांगताको कारण दुर्घटनापछि दोश्रो ठूलो कारण हात्तिपाइले रहेको बताइएको छ । हात्तिपाइले रोग लागेको व्यक्तिलाई टोकेर हात्तिपाइलेको जीवाणु बोकेको लामखुट्टले अर्को व्यक्तिलाई टोकेमा यो रोग सर्ने गर्छ । स्वास्थ्यकर्मीहरुका अनुसार हात्तिपाइले लागेको व्यक्तिबाट अर्को व्यक्तिमा सिधै भने सर्दैन ।
प्रारम्भीक अवस्थामा औषधी खाए निको हुने भए पनि रोग फैलिसकेपछि भने यसको उपचार संभव नभएको चिकित्सकहरुको भनाइ छ । यो रोग लागेमा व्यक्तिको प्राय खुट्टा हात्तिकोजस्तै मोटो हुने भएकाले यस रोगलाई हात्तिपाइले भनिएको बताइन्छ । सरकारले सन् २०२० सम्म हात्तिपाइले रोगलाई देशभरबाट निवारण गर्ने लक्ष्यसहित औषधी खुवाउने अभियान संचालन गरिरहेको छ । झापा देशभरमा हात्तिपाइलेको सबैभन्दा बढी जोखीममा रहेका जिल्लामध्ये एक हो । देशभर ६१ जिल्ला हात्तिपाइलेको जोखीममा रहेका छन । लामखुट्टेको टोकाईबाट बच्ने, हात्तिपाइले विरुद्धको औषधी सेवन यो रोगबाट बच्ने प्रभावकारी उपाय हा् ।



