गोरुसिङ्गे–सन्धिखर्क सडकअन्तर्गत साँघुरो सडककिनारमा अवस्थित रहे पनि सुपादेउराली मन्दिरको महिमा ठूलो छ । चारैतर्फ अग्लाअग्ला पहाड, हरियालीयुक्त शान्त र चिसो वातावरणमा रहेको यो मन्दिर सम्पूर्णका लागि धार्मिक स्थल बनेको छ । इतिहासमा उल्लेख भएअनुसार वि.स. १९१६ मा बाइसे–चौबीसे राज्यअन्तर्गत खाँचीकोटका राजकुमार र बलरामपुरको राजकुमारीबीच विवाह सम्पन्न भएको थियो।

 

यसरी विवाह सम्पन्न भएपछि अर्घाखाँची जिल्लाकै सीतापुर मसानदेवी भन्ने ठाउँमा विवाह भोज सम्पन्न हुने क्रममा दुवैतर्फका मान्छेहरू जुटेका थिए। कुराकानीको प्रसङ्गमा खाँचीकोटका राजाले बलरामपुरकी राजकुमारीलाई झुक्याएर विवाह गरेको र दुलहीलाई जात मिलेन भन्ने विवाद उत्पन्न भयो।

 

 

विवाद उत्पन्न भए पनि दुलहीलाई डोलीमा बोकेर राजकुमारको घरतर्फ लिएर जाने क्रममा यो स्थानमा एउटा रगतको थोपा चुहिएछ। के भयो भनी फर्केर हेर्दा दुलही अर्थात् राजकुमारी मृत अवस्थामा भेटिइन्। त्यसपछि खाँचीकोट राज्यमा रोगव्याधि व्यापक बन्दै गयो। यसै क्रममा एकजना खनाल थरका बाहुन आई धामीझाँक्री कवल्दा देवीको रूपमा राजकुमारी प्रकट भएको किम्बदन्ती छ ।

 

रगतको थोपा चुहिएको स्थानमा देवीको पूजाआजा सम्पन्न गरेपछि सम्पूर्ण रोगव्याध हट्यो र ठकुरी, कब्दार अनि खड्काले वैशाख पूर्णिमामा कुलपूजा र बलिदान सुरु गरे।

 

 

मुलुकी ऐनअनुसार, वैशाखेपूर्णिमा अर्थात् बुद्धजयन्तीका दिन बलिपूजा गर्न नपाइने भने पनि यसै दिन ठकुरी, कब्दार र खड्काको कुलपूजा पर्ने कारण उनीहरूलाई छुट दिएको कुरा मन्दिर समिति बुझिएको छ। उक्त दिन कम्तीमा ४० बोका चढ्छन्। सुरुका दिनहरूमा वर्षको १ पटक अर्थात् वैशाखेपूर्णिमाका दिन मात्रै पूजा गरिने यो स्थानमा २०४० सालमा जिल्लाकै बाबुराम रायमाझीले सामान्य मन्दिर निर्माण गर्नुभयो ।

 

 

 

त्यसपछि मन्दिर संरक्षणका लागि समिति बन्यो र दैनिक पूजा सुरु हुन लाग्यो। परम् पुजनीय गुरु श्री नरनारायण बाबा आश्रम सेवा संस्थाको सहयोगमा ०६४ मङ्सिर ८ गते यो मन्दिर पुनर्निर्माणका लागि शिलान्यास भई ०६५ भदौ २३ गते प्राचीन शैलीमा ऐतिहासिक मन्दिर सम्पन्न भएको थियो।

 

यसरी सम्पन्न गर्ने क्रममा परम् पुजनीय गुरु श्री नरनारायण बाबा आश्रम सेवा संस्थाले रु १ करोड २५ लाख र मन्दिरको तर्फबाट १५ लाख खर्च गरिएको थियो। सुरुवातदेखि नै दैनिक १ हजार भक्तजन यो मन्दिरमा दर्शन गर्न आउँछन् र दैनिक एक हजारदेखि पाँच हजारसम्म नगद आम्दानी हुने गर्दछ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय