#

युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दिए यस्तो अन्तरवार्ता

    २०७६ जेष्ठ २९, बुधबार १५:१० मा प्रकासित

अहिले प्रधानमन्त्रीकेपी शर्मा ओली युरोपका विभिन्न देशको भ्रमणमा छन् । सोही भ्रमणअन्तर्गत अहिले उनी बेलायत पुगेका छन् । बेलायतमा प्रधानमन्त्री ओलीले त्यहाँको प्रतिष्ठित सञ्चारमाध्यम बीबीसीलाई अन्तरवार्ता दिएका छन् । अन्तरवार्ता मुख्यतः सगरमाथाको शिखरमा आरोहीको भीडबारेमा केन्द्रित रहेको छ । त्यस अतिरिक्त अन्तरवार्ताले बीआरआईमा नेपालको सहभागिता र नेपालका पूर्वाधार विकासका वातावरणीय प्रभावका विषयलाई पनि छोएको छ । यहाँ सोही अन्तरवार्ताको पूर्णपाठ प्रस्तुत गरिएको छ :

(सगरमाथि आरोहणको लागि) यति धेरै पर्वतारोहीलाई अनुमति दिनु गल्ती थिएन ?
ठ्याक्कै भन्ने हो भने, त्यो हल्ला मात्र हो । त्यति धेरै अनुमति दिइएको छैन ।

३८१ अनुमती दिइएको छ, जुन एक वर्षमा दिइएको सबैभन्दा धेरै अनुमती होइन र ?
हो तर त्यति पनि धेरै होइन । पर्वतारोही राम्रो मौसमको लागि पर्खिरहेका थिए र त्यो स्वाभाविक पनि हो । सगरमाथा आरोहण आज, भोलि वा जतिखेरै गर्न सकिने कुरा होइन । उपयुक्त वातारण पर्खनुपर्छ । कहिलेकाहीँ तिनले धेरै दिन नै पर्खनुपर्छ ।

हामीलाई थाहा भएअनुसार दुई समय उपयुक्त हुन्छ, त्यसले पनि समस्या निम्त्यायो । तर ३८१ जनालाई आरोहण अनुमति दिनु चानचुने कुरा होइन । आरोहीसँग जाने गाइडसमेत जोड्दा ६ सयभन्दा बढी आरोही हिमालमा पुग्छन् । बाहिर आएको तस्बिरमा शिखरमाथि ट्राफिक जामको अवस्था देखिएको छ । शिखरमा मृतकको सङ्ख्याले यसबारे पुनरविचार गर्नुपर्ने जस्तो लाग्दैन ?

हो, पुनरविचार गर्नुपर्छ तर बाहिर सगरमाथामा भीडबारे प्रोपोगन्डा भयो । त्यहाँ एकदमै जटिल अवस्था छैन ।

तर आरोहणका लागि दिइएको स्वीकृति, शिखरमा आरोहीको सङ्ख्या र आरोहण गर्नेको मृत्युको कुरा गर्दा प्रोपोगन्डा हुँदैन । यसमा अर्को कुरा पनि जोड्न चाहेँ, सगरमाथाका ६० सम्पर्क अधिकारीमध्ये ५ जना मात्रै हिमालमा रहेको तथ्य आएको छ । यस तथ्यले तपाईंलाई स्तब्ध बनाएन ?
निश्चित रूपमा हिमाल आरोही अनुमती दिने कुरामा हामी होसियार हुनुपर्छ ।

सम्पर्क अधिकारी हिमालमा रहेर पर्वतारोहीलाई त्यसबारे सम्पूर्ण कुरामा मागदर्शन गर्न सघाउनुपर्ने हो । तपाईंलाई नेपालको पर्यटन मन्त्रालयको एउटा उद्धरण सुनाउँछु, ‘हाम्रा सम्पर्क अधिकारी लामो समय त्यहाँ बसेनन् । हामी यस समस्याबारे जानकार छौँ । हामी यसलाई सम्बोधन गर्नका लागि काम गरिरहेका छौँ ।’ त्यस्तै हिमालमा रहेका अर्का अधिकारीले बीबीसीसँगको कुराकानीमा भनेको कुरा पनि महत्त्वपूर्ण छ । उनले ‘सम्पर्क अधिकारी नहुँदा सीमित अधिकारीलाई ठूलो सङ्ख्याको आरोही सम्हाल्न गाह्रो भइरहेको छ ।’ कर्मचारी पैसा लिएर काममा नगई घरमै बसेको कुराले तपाईंलाई विछिप्त बनाउँदैन ?
हो, भावि दिनमा आरोहीको सङ्ख्या नियन्त्रण गर्ने कुरामा हामीले ध्यान दिनुपर्छ । तर आरोहीको मृत्यु ट्राफिक जाम वा क्युको कारणले भएको होइन । ती अलग कुरा हुन् ।

सम्भवतः ती सबै कुराको त्यसमा योगदान छ । सगरमाथाबारे अन्तिम प्रश्न, एउटा रिपोर्टअनुसार अर्को वर्ष २० लाख पर्यटक भित्र्याउने उद्देश्यअन्तर्गत थियो । तपाईंको सरकारले सगरमाथाको आरोहणलाई जसरी व्यवस्थापन गरिएको छ, त्यसमा पुनर्विचार गर्न चाहनुहुन्छ ?

हामीले केही नियमावली संशोधन गरेका छौँ । जस्तो कुनै व्यक्ति कति मानिसलाई गाइड गर्न सक्छ, कति अक्सिजन सिलिन्डर लिएर जान सक्छ ? भन्ने कुरा छन् । सगरमाथा चढ्नका लागि कुन उपयुक्त समय हो ? जस्ता कुरा पनि छन् ।

अब फरक प्रसङ्गमा मोडियौँ । तपाईंको देश चीनको ‘रोड एन्ड बेल्ट इनिसियटिभ’मा सहभागी छ । नेपालका लागि त्यो कत्ति महत्वपूर्ण हो ?

हामीले के बुझ्नुपर्छ भने नेपालले राजनीतिक परिवर्तन पूरा गरेको छ । हामीले हाम्रो राजनीतिलाई असल शासन र आर्थिक विकासमा केन्द्रित गरेका छौँ ।

मैले नेपालका केही प्रमुख पूर्वाधारको सूची नै ल्याएको छु : तीन एयरपोर्ट, फास्ट ट्र्याक सडक, रेलमार्ग । ती सबै केही वर्षभित्रै निर्माण गरिने भनिएको छ । तपाईंको देशले त्यो गर्नसक्छ भन्ने सुनिश्चित हुनुहुन्छ ? चीनको जुन खालको ऋण प्रणाली छ, त्यसका आधारमा श्रीलङ्का जहाँ पुग्यो, तपाईं पनि त्यहीँ पुग्ने हो कि भन्ने चिन्ता लाग्दैन ? किनकि त्यहाँ चिनियाँ ऋणमा बन्दरगाह बन्यो तर ऋण तिर्न नसकेपछि त्यसलाई चीनलाई नै लिजमा दियो नि ।
हामी विदेश लगानी स्वागत गर्छौं तर हामी आवश्यकता र प्राथमिकताका आधारमा ऋण स्वीकार गर्छौं । अन्धाधुन्द वा जुनसुकै प्रकारको ऋण लिदैनौँ ।

हामी अरूको अनुभवको कुरा गर्न सक्दैनौँ तर आजसम्मको अवस्थामा हामी यसलाई व्यवस्थापन गर्न सक्छौँ । लेखाजोखको आधारमा हामीले यो भनेका हौँ ।

अब अन्तिम विषयमा जान्छु, सूचीमा रहेको पूर्वाधारको वातावरणीय प्रभावका कुरा पनि आउँछ । तीमध्ये धेरै संरक्षित क्षेत्र हुँदै गएका छन् । वनभित्रबाट पनि जान्छन् । तपाईंले योजना बनाउनुभएको अन्तर्राष्ट्रिय विमानस्थलका लागि लाखौँ रुख काटिन लागेका छन् । के त्यसो गरिनु आवश्यक थियो ?
हामीले २५ लाख रुख काट्यौँ भने ५० लाख रूख लगाउनेछौँ । हाम्रो देशको कुल भू–भागको ४५ प्रतिशत भूभाग अहिले नै वनले ओगटेको छ । त्यो हिसाबमा हामीले धेरै वातावरणीय योगदान गरिरहेको छौँ । १७ प्रतिशत भूभाग हिउँले ढाकिएका छन् । त्यस्तै १३ प्रतिशत भूभाग बाह्रै महिना हिँउले ढाकिने गर्छ । त्यसले वातावरणलाई स्वच्छ र चिसो राख्न धेरै योगदान पुर्याइरहेको छ । यही वर्ष हामीले करौडौँ रुख बिरुवा रोप्ने अभियान ल्याउँदैछौँ ।

भनेपछि ती बिरुवा विकासका परियोजनाबाट पर्ने वातावरणीय प्रभावलाई न्यूनीकरण गर्ने प्रयासमा पर्छ ?
हो, जब हामी विकास प्रयासमा केन्द्रित हुन्छौँ तब वातारणीय क्षयको खतरा रहन्छ । तर हामी त्यसबारेमा सचेत छौँ ।रातोपाटी

फेसबुकमा तपाईको प्रतिक्रिया

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

सम्बन्धित शीर्षकहरु