बिष्णुप्रसाद पोखरेल
दमक/झापामा स्थानीय तहको निर्वाचनमा मनखुसि उम्मेद्वारी घोषणा र भोट माग्नेसम्मका काम हुन थालेपछि यहाँका प्रमुख राजनीतिक दलहरुलाइ उम्मेद्वारी छनौटमा सकस शुरु भएको छ । सञ्चारमाध्यामहरुमा सम्भावित उम्मेदवारको लिस्टहरु आउन थालेपछि नेता कार्यकर्ता सम्हाल्नका लागि जिल्ला नेतृत्वलाइ हम्मेहम्मे पर्ने अवस्था आइलागेको पाईएको छ ।
लामो समयपछि स्थानीय तहको निर्वाचन र नयाँ संरचना अनुसार नगरपालिका तथा गाँउपालिकाको वडा समायोजनहरु हुने क्रममा उम्मेदवारी घोषणा र मत माग्नेसम्म काम शुरु भएपछि राजनीतिक दलका नेताहरुलाइ यो रोक्नका लागि कदम् चाल्न मुश्किल परेको पाइन्छ । अझ सञ्चारमाध्यमममा नाम आएकाहरुले त फोन गरेर नै नेतृत्वलाइ दबाब दिन थालेपछि पार्टीहरुमा उम्मेदवारी चयन सर्वसम्मत हुने संकेत कम हुन थालेको छ ।
नेपाली काँग्रेसका एक जिल्ला नेताका अनुसार आफूखुसि उम्मेदवारी घोषणा नगर्न र गरेमा कार्वाही गर्नेसम्मका सर्कुलर गरेपनि अहिले त्यस्तो कार्य नरोकिदा समस्या भएको छ । वडासदस्य देखि लिएर नगरपालिका तथा गाँउपालिका प्रमुखसम्म बिबाद हुने देखिन थालेको ति काँग्रेस नेताले बताए । उनका अनुसार पार्टीको निर्णय बिपरित उम्मेदवारी घोषणा भएमा अनुशासनको कार्वाही सम्म गर्ने सर्कुलर गरिएको छ ।
नेकपा एमालेमा पनि आँकाक्षिहरु धेरै रहेकाले समस्या उब्जेको छ । नेकपा एमालेको एकसाता अघि भएको जिल्ला कमिटीको बैठकले निर्णय गरेर नै कसैलाइ पनि उम्मेद्वारी घोषणा नगर्न र गरेको पाइए उम्मेदवारका लागि अयोग्य
हुनेसम्मको चेतावनी दिइएको थियो । तर यसको पालना भएको छैन । वडा तथा गाँउ समायोजनमा उम्मेदवारी घोषणा हुन थालेको छ ।
माओबादी केन्द्र र राप्रपामा भने त्यति धेरै यो समस्या छैन । यद्यपि दमकमा गगन थापाले मेयरको उम्मेदवारी घोषणा गरेपछि गोपाल किरातीले प्रेस बक्तब्य नै निकालेर आफूखुसि उम्मेदवार घोषणा नगर्न भन्दै ध्यानकर्षण
गराएका थिए । त्यपछि माओबादी केन्द्रको दमक नगरपालिका बाहेक अन्यत्र उम्मेद्वारी घोषणा भएको छैन । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा इच्छा प्रकट गर्न नपाइने बताइएको भन्दै आफूहरुको अधिकारको हनन् भएको पनि कतिपयले बताउन थालेकाछन् ।



