काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बसेको सचिवालय बैठक सकिएको छ । राजनीतिक प्रतिवेदन दस्तावेज तयार पार्न र कार्यविभाजन लगायत पार्टी सञ्चालनको विभिन्न विषयमा छलफल गर्न बसेको बैठक विनानिष्कर्ष टुंगिएको हो ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आयोजित बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले युरोप भ्रमणका विषयमा सचिवालयमा जानकारी गराएको नेता बामदेव गोतमले जानकारी दिनुभयो ।
बैठकले राजनीतिक प्रतिवेदनलाई सम्पादनमा लैजाने, कार्यविभाजन, जिल्ला कमिटी इन्चार्ज र अन्य एजेन्डाहरुबारे अर्को सचिवालयको बैठकमा छलफल हुने नेताहरुको भनाइ छ ।
आन्तरिक भागबण्डा र सहमति जुट्न नसक्दा बैठकले कुनै निर्णय प्रस्तुत नगरेको नेताहरुको भनाइ छ । आगामी बैठक राजनीतिक दस्तावेज र जिल्ला इन्चार्ज, सहइन्चार्ज टुंग्ग्याउनेमा केन्द्रित रहनेछ । जनता समाचार बाट









