नेकपा (एमाले)ले यही २०७४ वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको सन्दर्भमा महत्वपूर्ण निर्णय गरेको छ । सोमबार बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा समिति निर्माण गरेको छ । उक्त समितिमा अष्टलक्ष्मी शाक्य, भीम रावल, विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, डा. पुष्प क“डेल, लालबाबु पण्डित, बिन्दा पाण्डे, रवीन्द्र अधिकारी, रघुवीर महासेठ र लालबाबु यादव सदस्य रहेका छन् । त्यसैगरी बैठकले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा स्थानीय तह निर्वाचन अनुगमन तथा समन्वय समिति गठन गरेको छ ।
उक्त समितिमा कमरेडहरु पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, योगेश भट्टराई, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, रघुजी पन्त, भानुभक्त ढकाल, अग्नि खरेल, वंशीधर मिश्र, राधा ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ र रामकुमारी झा“क्री सदस्य रहेका छन् । बैठकले यसअघि नै निर्णय गरेअनुरुप उम्मेदवारको सिफारिस पठाउनका लागि वडा कमिटीहरुले यही चैत ३० गतेसम्म, गाउ“पालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीहरुले २०७४ वैशाख ४ गतेसम्म, जिल्ला कमिटीहरुले ०७४ वैशाख ७ गतेसम्म र प्रदेश कमिटीहरुले ०७४ वैशाख १० गतेसम्म उम्मेदवारको सिफारिस तथा निर्णय गरिसक्नुपर्ने भनेको छ ।
पार्टी स्थायी समितिले ०७४ वैशाख १२ गते बैठक बसी उम्मेद्वारका सन्दर्भमा केन्द्रबाट गर्नुपर्ने निर्णय गर्ने बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । ‘वर्तमान संविधानअनुरुप हुन गइरहेको तीन तह (स्थानीय तह, प्रदेश सभा र केन्द्रीय संसद्) को निर्वाचनमध्ये एक व्यक्तिले एक तहको निर्वाचनमा मात्र उम्मेदवार बन्न पाउने निर्णय गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ । बैठकले ०७४ वैशाख ३१ गते हुने निर्वाचनमा नेकपा (एमाले)लाई विजयी बनाउन पार्टीका केन्द्रीय सदस्यहरु, केन्द्रीय निकाय तथा विभागका सदस्यहरु, सांसदहरुका साथै जनसंगठनका केन्द्रीय नेताहरुलाई सम्बन्धित प्रदेश समन्वय कमिटीस“ग समन्वय गरी आ–आफ्नो स्थानीय तह रहेको क्षेत्रमा तत्कालदेखि नै क्रियाशील हुन निर्देशन पनि दिएको छ । त्यसैगरी स्थानीय निर्वाचनको सम्पूर्ण तयारीको लागि केन्द्रीय कमिटीको बैठक २०७४ वैशाख ३ गते आयोजना गर्ने निर्णय सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



