नेकपा (एमाले) अध्यक्ष केपी ओलीले ०७४ साल एमालेको साल हुने दाबी गरेका छन् । राष्ट्रिय जनसांकृतिक महासंघको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले यस्तो दाबी गरेका हुन् ।
उनले मधेसका मसिहा ठान्ने दलका केही नेताले एमालेलाई आरोप लगाए राजनीति गर्न खोज्दा देश समस्यामा परेको पनि दाबी गरे । ‘मधेसका नाममा केही क्षेत्रीय र जातिय पार्टी खोलेर मधेसको महिसा हुँ भन्नेहरुले देशलाई वर्वातितिर लगेका छन्,’ ओलीले भने, ‘ओलीले मधेसीलाई बिहार जाऊ भनेर भन्यो भन्दै केही नेताले गोहीका आँशु चुहाएका छन् । तर, मैले अहिलेसम्म मधेसीलाई बिहार जाऊ भनेर कहिल्यै भनेको छैन ।’
उनले एमाले र मधेसको साइनो अत्यन्त गाँढा भएको र मधेसी जनतालाई आफुले सधैँ सम्मान गर्ने पनि बताए । कार्यक्रममा बोल्दै ओलीले देशमा बुद्धिजीवीहरुको संख्या ठूलो भएपनि उनीहरुले ठीक र बेठिक छुट्याउन नसकेकाले समस्या भएको दाबी पनि गरे ।
कार्यक्रममा सम्वोधन गर्दै उनले जनसास्कृतिक संघमा आबद्ध कलाकर्मीलाई स्थानीय चुनावमा होमिन निर्देशन पनि दिए ।



