डा. समिर लामा

जिन्दगी एउटा युद्ध हो, हरसमय मृत्‍युसँग युद्ध चलिरहेकै हुन्छ। चिकित्सक भएका नाताले हामीले बिरामीका यस्ता युद्धहरु नजिकबाट नियाल्नुपर्ने हुन्छ। कति समय जीवनले युद्ध जित्छन् भने कति समय मृत्‍युले। जीवनले निकै अफ्ठ्यारो गरी युद्ध जितेका कथा म कहिल्यै बिर्सन्न।

उनी प्युठानको दुर्गम ठाउँ अर्खाबाट आएकी थिइन्। नाकमा ठूलो बुलाकी लगाएकी कविता सुनारको बोली पनि भिन्नै पाराको थियो। पेटमा जुम्ल्याहा बच्चा बोकेकी उनी सुत्केरी हुने मिती कटेकाले जिल्ला अस्पताल आएकी थिइन्। उनको प्रेसर पनि बढी थियो। पिसाबमा थोरै प्रोटिन देखिएको थियो। मेडिकल भाषामा यसलाई प्रि-एक्लाम्प्सिया भनिन्छ। यो प्रसूतिको एउटा जटिल अवस्था हो। समस्या बढ्दै गएमा गर्भवतीलाई कम्पन हुने, बेहोस हुने अवस्था अर्थात् एक्लाम्प्सिया हुन सक्छ र आमा र बच्चा दुवैको ज्यानलाई खतरा हुन्छ। श्रीमान् खाडी मुलुकमा भएकाले उनी भाई र नन्दसँग अस्पताल आएकी थिइन्। हामीले उनलाई र उनको भाइलाई स्वास्थ्य अवस्था, आइपर्न सक्ने जटिलता, उपचार विधि र सम्भावित शल्यक्रियाबारे सबैकुरा बतायौँ। तर, उनीहरुले सकेसम्म अप्रेसन नगर्ने भने।

गाँउघरतिर अझै पनि धेरैको के विश्वास छ भने अप्रेसन गरेपछि जिन्दगीभरलाई कमजोरी हुन्छ, काम गर्न, घाँसदाउरा गर्न सकिँदैन। जुन एकदमै गलत कुरा हो। तर, दुर्गमका मान्छेलाई यसबारे कसले बताइदिने र। पर्याप्त चेतना र शिक्षाको अभावका कारण आवश्यक पर्दा पनि अप्रेसन गर्न मन्जुरी दिँदैनन्। सानोभन्दा सानो अप्रेसन गरेको वर्षौंपछि पनि दुखाइ वा अन्य कुनै स्वास्थ्य समस्या भएमा त्यही अप्रेसनलाई दोष दिन्छन्। ‘मेरो १० वर्षअघि मिनिल्याप गरेको थ्यो, त्यो घाऊ बिग्रियो होला’ यस्तैयस्तै।

उनले अप्रेसन गर्न नमानेपछि हामीले अर्को दिन बिहानबाट व्यथा लगाउने औषधि ‘मिसोप्रोस्टोल’ राख्ने निधो गर्यौं। तर, औषधि प्रयोग गर्नुअघि नै उनको व्यथा सुरु भएछ। हामीलाई बिहान खबर आयो, उनको व्यथा धेरै बढेको छ र सास फेर्न गाह्रो भइरहेको छ। जाँचेर हेर्दा पाठेघरको मुख ८ सेमी खुलिसकेको थियो। सास फेर्न गाह्रो भएकाले बच्चा छिटो निकाल्नका लागि सलाइनबाट अक्सिटोसिन औषधि प्रयोग गर्यौं। ‘अप्रेसन गर्नुपर्ने हुनसक्छ’ भन्दा अझै पनि उनले मानिनन्।

डा. समिर लामा


२ दशमलब ५ युनिट सकेर ५ युनिट औषधि चलाउँदा पनि बच्चा जन्मिएन। उनको सास बढ्दै गएपछि अक्सिजनको मात्रा घट्दै गएकाले अप्रेसनबाहेक अरु विकल्प रहेन। हामीले यसबारे उनका भाइलाई जानकारी गरायौँ। भाइ जसोतसो अप्रेसन गराउन राजी भए तर उनी फुलेको सासले भन्दै थिइन्, ‘नाइ, म अप्रेसन चैं नगर्ने, कमजोरी हुन्छ।’

मेडिकल फिल्डमा यो एउटा गाह्रो र द्वीविधाको अवस्था हो। उपचार गराउने/नगराउने अन्तिम निर्णय बिरामीले लिन पाउँछ। त्यसलाई बिरामीको स्वनिर्णयको अधिकार भनिन्छ। कुनै पनि वयस्क बिरामीले सबै कुरा बुझेर, सोचेर आफ्नो उपचार गराउँदिन भन्छ भने स्वास्थ्यकर्मीले जबर्जस्ती गर्न पाउँदैन। अब यहाँ उनले सबै कुरा बुझेर ‘अप्रेसन गराउन्न’ भनिरहेकी थिइन् कि नबुझिकन? उनले जुन कारण र विश्वासले अप्रेसन नगर्ने भनिरहेकी थिइन्, के त्यो जायज थियो र? फेरि यहाँ उनको मात्र ज्यानको सवाल थिएन, पेटमा दुईटा बच्चा पनि थिए। उनीहरुका लागि के राम्रो हुन्थ्यो होला त? मेडिकल इथिक्समा उपचार पद्दतिले बिरामीको फाइदा गर्छ/गर्दैन, बिरामीलाई हानी गर्छ/गर्दैन भन्ने कुरा पनि हुन्छ। उनको मञ्जुरीबिना अप्रेसन गर्दा ठिक कि उनको निर्णय गर्ने अधिकारलाई स्वीकार गर्दै ‘ज्यानै गए पनि अप्रेसन गर्न राजी छैन’ भन्ने आधारमा चुपचाप बस्नु ठिक? यो प्रश्नको जवाफ यही नै सही हो भन्न सकिँदैन।

अन्ततः कविताका भाइसँगको सल्लाहअनुसार हामीले उनको मन्जुरीबिना नै अप्रेसन गर्ने निधो गर्यौं। ‘ज्यान बचाउनका लागि बिरामीको मन्जुरीबिना अप्रेसन गर्न लागिएको र पछि केही प्रश्न उठेमा आफूले उत्तरदायी लिनेछु’ भन्ने मञ्जुरिनामा भाइलाई गराएर अप्रेसन कक्षमा लग्यौँ। सिजेरियन अप्रेसनका लागि आधा जिउ बेहोस बनाउनलाई ढाडबाट सुइ दिनेबेला उनलाई ‘दुखाइ कम मात्र गर्ने हो’ भनेर औषधि दियौँ। हुन त उनी बढ्दो सास र घट्दो अक्सिजनका कारण धेरै कुरा गर्न सक्ने अवस्थामा थिइनन्। पहिलो बच्चा छोरी रहेछ, पेटभित्रै मरिसकेको। दोस्रो बच्चा छोरा, बाहिर निकाल्ने बित्तिकै ‘च्याँ च्याँ’ गरेर रोयो। एउटा भए पनि ज्यान बाँच्यो, हामी केही हद ढुक्क भयौँ। अप्रेसन त सकियो तर आमाको अवस्था भने नाजुक। सासको दर प्रतिमिनेट ४० भन्दा बढी थियो, रगतमा अक्सिजनको मात्रा ६०-७० प्रतिशत।

उनलाई आइसियूमा राखेर उपचार गर्नुपर्ने थियो, जसका लागि नजिकै भनेको बुटवल र भैरहवा पुग्नुपर्थ्यो। त्यहाँसम्म पुग्नका लागि धेरै अवरोध थिए। बिरामीको अवस्था यति नाजुक थियो कि अक्सिजनको भरमा मात्र एम्बुलेन्समा हालेर पठाउँदा ३-४ घण्टाको बाटोमा जे पनि हुनसक्थ्यो। अर्को रिफर नै गरिए पनि तुरुन्त आइसियूमा बेड पाइन्छ वा आइसियूको उपचार सुरु भइहाल्छ भन्न सकिन्नथ्यो। अर्को समस्या थियो पैसाको। आर्थिक रुपले विपन्न उनको प्युठानबाट निस्कने बित्तिकै ७-८ हजार एम्बुलेन्सको, इमर्जेन्सी, आइसियूको डिपोजिट, औषधि आदि गरेर एकैपटक २५-३० हजार खर्च हुनेवाला थियो। अझ सरकारी अस्पताल वा मेडिकल कलेजमा बेड नपाएर प्राइभेट अस्पताल लैजानु पर्‍यो भने त यो खर्च लाखौँमा नपुग्ला भन्न सकिँदैन थियो।

तपाईं जंगलमा हुनुहुन्छ, बाघ आयो, भाग्नलाई खोला तर्नुपर्छ, पौडी खेल्न आउँदैन, डुंगा छैन, खोलामा बाढी आएको छ। अब तपाईं के गर्नुहुन्छ? हो हामी त्यस्तै अवस्थामा थियौँ। उनको बिराम यति बढेको थियो कि, न ‘साधारण’ जिल्ला अस्पतालले उनलाई धान्न सक्थ्यो, न उनलाई रिफर गरेर अक्सिजनको एउटा सिलिन्डर मात्र भएका हाम्रा एम्बुलेन्सहरुबाट सुविधा सम्पन्न आइसियू भएका अस्पतालमा पुर्‍याउन सकिन्थ्यो। न उनीहरुसँग भएको केही हजार खर्चले त्यो उपचार किन्न सक्थ्यो। अत: हामीले बाघसँग जुध्ने निर्णय लियौँ।

उनका भाइलाई उनको अवस्थाबारे, आउन सक्ने जटिलताबारे, आइसियू के हो, त्यहाँ लगियो भने उनलाई कस्तो उपचार गरिन्छ, कति खर्च लाग्न सक्छ, हामीले यहाँ केसम्म गर्न खोजिरहेका छौँ, किन गर्न खोजेका छौँ जस्ता सबै आयामबारे पटक-पटक बुझायौँ। किन कि मृत्युसँगको यो युद्धमा सबैको साथ जरुरी थियो।

धेरैलाई लाग्ला आइसियूमा जादु हुन्छ, सिकिस्त बिरामी आइसियू छिरेपछि केही दिनमा तंग्रेर खुसी हुँदै बाहिर निस्किन्छन्। वास्तवमा त्यो गलत बुझाइ हो। आइसियूमा जादु हुँदैन बिरामीको अवस्थाको राम्रो, लगातार र सूक्ष्म निरीक्षण हुन्छ। जसबाट जटिल रोगको उपचार सम्भव हुन्छ र सिकिस्त बिरामीले चाहिने सेवा पाउँछ। हामी कतिपय स्वास्थ्यकर्मीले पनि यो कुरालाई गलत तरिकाले बुझेका हुन्छौँ। अनि बिरामी र उनका आफन्तलाई गलत तरिकाले नै बुझाइरहेका हुन्छौँ। ठूलो अस्पताल लगेपछि सबै रोग निको हुन्छ, आइसियू छिराएपछि सब ठिक हुन्छ, पैसा खर्चेपछि सबै उपचार पाइन्छ, यस्तैयस्तै।

हुन त हिजोआज बिरामी जोखिममा परेपछि हुने अस्पताल तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपातका घटनाका कारण ‘सकेसम्म रिफर गरेर आफ्नो टाउको बचाऊँ’ भन्ने सोच हावी भएको छ। बिरामीको अवस्था अलिकति जटिल हुनेबित्तिकै, अलिकति बढी प्रश्न आउनेबित्तिकै रिफर गरेर ‘डिफेन्सिभ मेडिसिन’ प्राक्टिस गर्ने चलन बढ्दो छ हामीकहाँ। खासमा स्वास्थ्यकर्मीले आफूलाई बिरामी वा उनका आफन्तको ठाउँमा राखेर हेरिदिए हुने। तिनको गोजीलाई आफ्नो मानेर, तिनको समस्यालाई आफ्नो ठानेर सोचिदिए हुने। स्वास्थ्यकर्मीले आफ्नो दक्षता, अस्पतालमा पाइने सेवा, एम्बुलेन्समा हुने सेवा, लाग्ने खर्च आदिबारे मन्थन गरेर बिरामीलाई सुझाव दिए सही हुने थियो। हुनेखाने बिरामीका लागि त सिधै काठमाडौँ वा विदेश पुग्न केही गाह्रो नहोला। तर जसलाई बिहान-बेलुका हातमुख जोड्न धौधौ छ, तिनलाई के गर्ने नि? तिनको सकेजति राम्रो, सही उपचार पाउने अधिकार हुँदैन? तिनको बाँच्ने अधिकार हुँदैन? यी प्रश्नमाथि कहिले घोत्लिने हामी?

अब मुख्य घटनातिरै जाऊँ। हामीले उनीहरुको सहमतिमा यो युद्ध लड्ने निर्णय लियौँ। हामीले जिल्ला अस्पतालको बेडलाई नै आइसियूको बेडझैँ बनायौँ। उनलाई टाउकोपट्टिको भाग उठ्ने खाले बेडमा सार्‍यौँ, अप्रेसन कक्षमा भएको सानो मनिटर उनका लागि प्रयोग गर्‍यौँ। २४सै घण्टा उनको हेरचाह गर्न भ्याएसम्म नर्स, नभए ओजेटीमा आएका विद्यार्थीलाई खटायौँ। बिरामीको नाडीको चाल, प्रेसर, अक्सिजनको मात्रा, इनपुट, आउटपुट सबैको मनिटरिङ गर्‍यौँ। जिल्लामै नपाइने कडा र महँगाखाले औषधि (सेफ्टाजिडिम, लेभोफ्लोक्सासिन, डोब्युटामिन आदि) चलायौँ। सामान्यतया यी औषधि जिल्लास्तरका अस्पतालमा पाइँदैन। मैले ‘मेडिकेसन फर नेपाल’को सहयोगबाट आवश्यक पर्दा चलाउने भनेर डोनेसनमा ल्याएको थिएँ। एकजना नर्सले उनलाई छातीको फिजियोथेरापी दिइन्। जिल्ला अस्पतालमा फिजियोथेरापी दिइएको सायद यो पहिलोपटक थियो। धेरै नर्सलाई यसबारे थाहा पनि थिएन।

बेडमै ल्याएर उनको भिडियो एक्सरे गरेका थियौँ। पूर्ण नभए पनि त्यही मेसिनबाट मुटुको सामान्य जाँच पनि गर्‍यौँ। हामीले यस्ता केसबारे जर्नल, पेपरहरु अध्ययन गरेर छलफल गरिरह्यौँ। उनलाई सकेसम्म ‘इभिडेन्स बेस्ड मेडिकल केयर’ दिने हाम्रो प्रयत्न जारी राख्यौँ। संक्षेपमा भन्नुपर्दा, आइसियू चाहिने तर जान नसकेकी कविताका लागि हामीले जिल्ला अस्पतालमा नै आइसियू ल्यायौँ। मात्र हामीसँग भेन्टिलेटर थिएन, नत्र हामीले आफ्नो स्तरभन्दा दुई-तीन कदम अघि बढेर यो युद्ध भिडिरहेका थियौँ।

अप्रेसन पछि २४ देखि ४८ घण्टाको समय अति नै संवेदनशील हुन्छ। उनको केसमा यो अति नै गाह्रो र कष्टपूर्ण थियो। आजको रात नै अन्तिम रात पो हुने हो कि भन्नेसम्मका विचार हाम्रो मनमा नआएका होइनन्। ‘विपन्न बिरामी सहयोग कोष’मा भएको सबै पैसा दिएर उनलाई आइसियू नै पठाउनुपर्छ कि भन्ने सोचाइ पनि नआएको होइन। तर, हरेक समयमा पैसा मात्र सबै थोक हुँदैन रहेछ। आइसियू नभए नि हामीले लगभग सेमी-आइसियूस्तरको सेवा त दिइरहेकै थियौँ। अब त प्रतीक्षा मात्र बाँकी थियो। अनिँदा र कष्टकर दुई रात कटेपछि भने हामीलाई लगभग लागिसकेको थियो अब युद्ध हामीले जित्छौँ। जीवनले मृत्युलाई पछार्नेछ। उनको सासको गति केही बढी भए पनि, छातीमा घ्यार-घ्यार भए पनि उनको अवस्थामा सुधार आउन थालेको थियो।

एक दिन राउन्डमा जाँदा मृत्‍युको सँधारबाट फर्किएकी उनी बच्चालाई काखमा लिएर बसिरहेकी देखेँ। मन भरिएर आयो। यही खुसीको क्षणका लागि हामी लडेका थियौँ। यो जीवनका लागि हामी लडेका थियौँ। त्यसपछिका दिनमा उनको अवस्थामा क्रमिक सुधार हुँदै गयो। उनको जिउ सुन्निएको थियो भने बेलाबेलामा सास फेर्न गाह्रो हुने अवस्था चाहिँ छँदैथियो। तर, औषधिको प्रयोगबाट ती पनि बिस्तारै कम भए। बिस्तारै उनी लट्ठी टेकेर हिँड्न सक्ने भइन्। बोल्न सक्ने भइन्। आफ्नो बच्चाको आफैँ स्याहार गर्न सक्ने भइन्।

उनको अस्पताल बसाइ लामो भइरहेको थियो। तर, हामी उनलाई छिटो घर पठाउन पनि डराइरहेका थियौँ। कच्ची बाटो हुँदै गाडी पुग्ने ठाउँबाट पनि एक बिहान उकाको चढेपछि मात्र् उनी घर पुग्थिन्। डिस्चार्ज गरेर छिट्टै फर्कन सक्ने अवस्था थिएन। केही गाह्रो भएर फेरि अस्पताल ल्याउनु परे उत्तिकै माहाभारत हुनेवाला थियो। यी सब कुरा सोचेर उनीहरुले घर जाने भने पनि हामीले केही दिन अझै राख्यौँ।

उनको स्वास्थ्यमा धेरै सुधार आएपछि, जिउ सुन्निएको घटेपछि, सासको गति सामान्य भएपछि, छातीको घ्यारघ्यार हराएपछि र अप्रेसनको घाउ निको भएपछि अन्ततः उनलाई हामीले अस्पतालबाट बिदा दियौँ। यति सब गर्दा २६ दिन बितेको थियो। एक महिनामा फर्केर आउने बाचा गराएर हामीले उनलाई डिस्चार्ज गरेका थियौँ। यो जीवनका लागि मृत्‍युसँगको युद्ध हामीले दुई तिहाइले जितेका थियौँ अर्थात् तीन जीवनमध्ये दुई जीवनले मृत्‍युलाई पछारेका थिए।

इकोकार्डियोग्राफी गर्न नसकिए पनि उनको लक्षण, समस्या, भएका जाँचहरुका आधारमा उनलाई ‘पेरिपार्टम कार्डियोमायोप्याथी अर्थात् गर्भवती र सुत्केरी अवधिमा देखिने मुटुको समस्या भएको निर्क्यौल निकाल्यौँ हामीले। कुनै पनि जिल्ला अस्पतालमा यस किसिमको जटिल बिरामीको उपचार सायदै भएको छ। अप्रेसनको हिसाबले यो त्यति जटिल नभए पनि अप्रेसनपछिको पोस्टअप केयर र मेडिकल मेनेजमेन्टका हिसाबले चुनौतीपूर्ण नै थियो।

यो जित मेरो एक्लो प्रयासले सम्भव भएको होइन। युद्ध मिलेर लडिन्छ र मिलेरै जितिन्छ। यो युद्ध लड्न र जित्न साथ दिनुहुने प्युठान जिल्ला अस्पतालका सम्पूर्ण टिमलाई धन्यवाद। विशेषगरी मेडिकल अधिकृत डा. दिक्षा कँडेलले कवितालाई निको पार्न दिनरात नभनी खटेर कर्तव्य निभाएकोमा आभारी छु। हाम्रो प्रयासलाई बिरामी र आफन्तले विश्वास गरिदिएर हामीमा आत्मविश्वास जगाउने काम गरेकाले उनीहरु पनि धन्यवादका पात्र हुन्। यो घटना मिलेर, नहडबडाई, इमान्दारी पूर्वक खट्यो भने सीमित स्रोत-साधनबाट पनि राम्रो नतिजा निकाल्न सकिन्छ भन्ने उदाहरण हो।

(डा. लामा प्युठान जिल्ला अस्पतालमा कार्यरत छन्)

स्वास्थ्यखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय