अखण्ड नेपाल पार्टीको पाल्पा जिल्ला समिति बिघटन गरी सो पार्टीका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य दिनेश रावल एमाले प्रवेश गरेका छन् । देश हित विपरित संविधान संशोधनको पक्षमा उभिंदै अखण्ड पार्टीका अध्यक्ष कुमार थापा मन्त्री भएपछि सो पार्टीमा विद्रोह देखा पर्दै आएको थियो ।

बिहीवार पाल्पा सदरमुकामा आयोजित समारोहमा अखण्ड नेपाल पार्टीका अध्यक्ष, जिल्ला समिति र सो मातहत रहेका सम्पूर्ण गाउँ इकाई समिति तथा भातृ संगठनहरु एमालेमा विलय भएको घोषणा गरिएको थियो । पाल्पामा उल्लेख्य उपस्थिति रहेको अखण्ड नेपाल पार्टीले संविधानसभाको गत चुनावमा ७ हजार भन्दा बढी भोट ल्याएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अखण्ड नेपाल पार्टी एमालेमा मिसिएपछि स्थानीय तहको चुनावी नतिजालाई प्रभाव पार्ने अनुमान गरिएको छ । यस्तै सोही समारोहमा तानसेन नगरपालिकामा गत स्थानीय चुनावमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित ३ जना वडाअध्यक्षहरु पनि एमाले प्रवेश गरेका थिए ।

२ नगर पालिका र ८ गाउँ पालिका रहेको पाल्पामा एमालेले ती सबै गाउँ नगर जित्ने दावी गर्दै आएको छ । ‘पाल्पाका १० वटै स्थानीय तहको निर्वाचनमा एमालेले जित्छ, मैले आधार सहित यो भनिरहेको छु’ एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले भने ।