खम्बुवान राष्ट्रिय मोर्चाका केन्द्रीय उपाध्यक्ष डीएस खम्बु, ११ जना केन्द्रीय सदस्यसहित एक हजार जनाभन्दा बढी नेता कार्यकर्ताले सो पार्टी परित्याग गरी आज सामुहिकरुपमा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
खम्बुवान मोर्चा पूर्वको क्षेत्रीय पार्टी हो । सो पार्टीबाट संसदमा एकजनाले प्रतिनिधित्व गरेका छन् । समानुपातिक कोटाबाट प्रतिनिधित्व गर्दै पार्टीका अध्यक्ष रामकुमार खम्बु सांसद बनेका हुन् ।
आज मोरङ्गको पथरीमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय उपाध्यक्ष डीएस, अर्का उपाध्यक्ष अमिता राई, केन्द्रीय सहसचिव सूर्य राई तथा केन्द्रीय सदस्यहरु डम्बर राई, थामसिंह राई, विकास खम्बु, राम राई, दिपक राई, मनकुमारी राई र राज राई रहेका छन् ।
उनीहरुले जारी गरेको विज्ञप्तिमा खम्बुवान राष्ट्रिय मोर्चा परित्याग गर्नेहरुमा मोरङ जिल्ल्ाा कमिटीका उपाध्यक्ष कमलराज राई, कोषाध्यक्ष दिपा राई, जिल्ला सदस्यहरु रेबिका राई, पूर्णधन राई र ऐतामाया राईलगायत रहेको जनाइएको छ ।
नेपालको संविधानले पहिचानको मुद्धा पूरा गरिसकेको हुँदा अब आन्दोलनको तुक नरहेको भन्दै पार्टी छाड्नु परेको खम्बुवानका उपाध्यक्ष डीएस खम्बुले पत्रकारसमक्ष प्रष्ट पारे । उनले भने, ‘सबैको माग पूरा भएको छ, भूमिको आधारमा राज्य माग्यो भने देशनै टुक्रन्छ, देशमा जातीय द्वन्द्व सृजना हुन्छ, त्यसैले हामी एमालेमा प्रवेश गरेका हौं ।’
‘संविधानले स्थापित गरेका अधिकारलाई संस्थागत गर्नका लागि पनि आफूहरु एमालेमा प्रवेश गरेको उनको भनाई छ । ‘संविधान निर्माणमा एमालेले ठूलो भूमिका खेलेको छ, संविधान कार्यान्वयन गर्न एमालेले मात्र सक्ने ठहर गर्दै हामी एमालेमा आएका हौँ, राष्ट्रियताको संरक्षण एमालेले मात्र गर्न सक्छ भन्ने हाम्रो ठहर हो’ खम्बुले स्पष्ट पारे ।
उनीहरुलाई एक विशेष कार्यक्रमका बीच नेकपा एमाले एक नम्बर प्रदेशका सल्लाहकार घनश्याम खतिवडा र प्रदेश सदस्य रामकुमार बस्नेत तथा मोरङ्ग जिल्ला सचिवालय सदस्य भुपेन्द्र राईले खादा ओढाएर, अविर टिका लगाएर पार्टीमा स्वागत गरेका हुन् । एकसाता भित्र लेटाङ्गमा अर्को विशेष कार्यक्रमको आयोजना गरी आज प्रवेश गरेको नाम लेखाउने तर अनुपस्थित नवप्रवेशी सबैलाई एमालेमा स्वागत गर्ने जनाइएको छ ।










