प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक धुम्बाराहीमा शुरू भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा शुरू भएको बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओली भने सहभागी छैनन् ।

सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाएपछि ओलीको सहभागिताविनै बसेको यो दोस्रो सचिवालय बैठक हो ।

अघिल्लोपटक मंसिर १८ गते सचिवालय बैठक बस्दा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली अस्पतालमा उपचाररत थिए । ओली अस्पतालबाट डिस्चार्ज भइसकेपनि निवासमै आराम गरिरहेका छन् । ओलीले बालुवाटारमा आजै मन्त्रिपरिषद् बैठक भने बोलाएका छन् ।

सचिवालयले गरेको कार्यविभाजनअनुसार अब ओलीले सरकार र प्रचण्डले पार्टी चलाउने छन् । सचिवालयको अघिल्लो बैठकले तल्ला कमिटीहरूसँग उपनिर्वाचन परिणामको समीक्षा प्रतिवेदन मागेको थियो ।

आजको बैठकमा उपनिर्वाचनको नतिजाबारे समीक्षाका साथै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे पनि छलफल हुने बताइएको छ । साथै बैठकमा अध्यक्ष प्रचण्डले पार्टी सञ्चालनका सन्दर्भमा आफूले तयार पारेको ६ महिने कार्ययोजना समेत प्रस्तुत गर्ने कार्यसूची रहेको स्रोतले बतायो ।

पार्टीको कार्यकारी अधिकार प्राप्त गरेका अध्यक्ष प्रचण्ड केही दिनयता राजनीतिकरूपमा सक्रिय बनेका छन् ।

आइतवार बिहान र साँझ आफ्नै निवास खुमलटारमा नेताहरूलाई बोलाएर पार्टीको आगामी कार्ययोजनाका बारेमा छलफल गरेका थिए ।

प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल, प्रस्तावित उपाध्यक्ष तथा संगठन विभाग प्रमुख वामदेव गौतम लगायतका शीर्ष नेताहरूलाई आफ्नै निवासमा बोलाएर पार्टीलाई थप गति कसरी दिने भन्ने विषयमा छलफल गरेका थिए । सोमवार बिहान पनि प्रचण्ड नेताहरूसँग छलफलमै व्यस्त रहे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय