प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएकामा सत्तारुढ काँग्रेसभित्र तीव्र असन्तुष्टि देखिएको छ । महाअभियोगमा असन्तुष्टि जनाउँदै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आइतबारै पदबाट राजीनामा दिएका छन् । यसैबीच नेतृ सुजाता कोइरालाले महाअभियोगको निर्णयमा आपत्ति जनाउँदै अरु नै प्रयोजनका लागि लिइएको हस्ताक्षर दुरुपयोग गरिएको बताएकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा दुई फरक स्टाटस पोस्ट गर्दै सुजाताले कार्कीविरुद्धको महाअभियोग काँग्रेसको हुन नसक्ने उल्लेख गरेकी हुन् । उनले काँग्रेस स्थापनाकालदेखि नै स्वतन्त्र न्यायपालिकाको पक्षमा वकालत गर्दै आएको पार्टी भएको भन्दै काँग्रेसले प्रजातन्त्र र विधिको शासनमा विश्वास गर्ने उल्लेख गरिन् । ‘सर्वोच्च अदालतको प्रधानन्यायधीशमाथि लगाइएको महाअभियोगको निर्णय नेपाली काँग्रेसको निर्णय हुन सक्दैन । काँग्रेस स्थापनाकालदेखि नै स्वतन्त्र न्यायपालिकाको पक्षमा वकालत गर्दै आएको पार्टी हो । नेपाली काँग्रेस प्रजातन्त्र र विधिको शासनमा विश्वास गर्ने पार्टी हो । काँग्रेस न्यायपालिका प्रजातन्त्रको मुख्य आधारस्तम्भ भएकाले यसको सम्मान गर्दछ’, सुजाताले भनेकी छन् ।
पहिलो स्टाटस पोस्ट गरेको उक घण्टापछि दोश्रो पोस्ट गर्दै उनले अरु कुनै प्रयोजनका लागि लिइएको आफ्नो हस्ताक्षरको दुरुपयोग गरेको आरोप लगाएकी छन् । सुजाताले भनेकी छन्, ‘अरु कुनै प्रयोजनका लागि लिइएको मेरो हस्ताक्षरको आज संसदमा यसरी दुरुपयोग भएकोमा मेरो घोर आपत्ति छ । आज नेपाली कांग्रेस र नेपालको लोकतन्त्रमाथि नै ठूलो हमला भएको मलाई लागेको छ ।’



