सत्तारुढ काँग्रेस र माओवादी केन्द्रका २४९ सांसदले संसद सचिवालयमा महाअभियोग दर्ता गराएसँगै निलम्बनमा परेकी प्रधानन्यायाधीश सुशीला कार्कीका श्रीमान एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीले पहिलोपटक उक्त प्रकरणबारे मुख खोलेका छन् । सुदेवीले महाअभियोग लागेर निलम्बनमा परेकी श्रीमती कार्कीप्रति आफूले गर्व गरेको बताए । महाअभियोग दर्ता भएको तीन दिनसम्म मौन बसेका सुदेवीले मंगलबार काठमाण्डुटुडेसँग कुरा गर्दै ‘राम्रो कामको पुरस्कार’ स्वरुप कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता गरिएको टिप्पणी गरे । ‘न्यायालयमा उहाँले राम्रो काम गर्नुभएको थियो, कसैको डर र त्रासमा नपरी कानुन र संविधानका पक्षमा उभिनुभयो’, सुवेदीले भने, ‘मलाई दुःख छैन, गर्व लागेको छ ।’ सुवेदीले अकारण महाअभियोग प्रस्ताव दर्ता भएपछि समाजमा कार्कीको उचाई बढेको दाबी गरे ।
‘सामाजिक सञ्जाल (फेसबुक) र समाचारहरु, मानिसहरुको टिप्पणीहरु हेरिहेको छु’, उनले भने, ‘त्यसबाट समाजमा सम्माननीयको उचाई बढेको छ, केही नोक्सान भएको छैन ।’ सुदेवीले निलम्बित प्रधानन्यायाधीश कार्की पनि कुनै चिन्तामा नरहेको बताए । कार्कीले घरका काम, पूजापाठ र अध्ययनमा समय बिताउने गरेको उनले सुनाए ।
सुवेदीका अनुसार कार्कीले महाअभियोगको डटेर सामना गर्ने मनस्थिति बनाएकी छन् । ‘कुनै ‘स्टेस’ छैन, घरका दैनिक कामहरुमा व्यस्त हुनुहुन्छ, महाअभियोगको डटेर सामाना गर्छु भन्नुहुन्छ ।’
वर्षमानलाई एक्लै भेट्न नमानेकै हो
सुवेदीले महाअभियोग दर्ता गर्ने दिन (आइतबार) बिहानै माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन कार्की भेट्न आएको बताए । तर, कार्कीले भेट्न जरुरी नभएको भन्दै फर्काइदिएको उल्लेख गरे । पुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका दूतका रुपमा कार्की भेट्न बालुवाटारस्थित प्रधानन्यायाधीशको सरकारी निवास पुगेका थिए । तर, कार्कीले विचाराधीन मुद्धाबारे छलफल गर्न नमिल्ने भेट्न भेट्न इन्कार गरेकी थिइन् । ‘पुनजी आउनुभएको थियो, उहाँले एक्लाएक्लै भेट्न खोज्नुभयो’, सुवेदीले भने, ‘सम्मानीयले अदालतमा विचाराधीन मुद्धा प्रभावित हुने गरी राजनीतिक व्यक्तिसँग भेट्दिन भनेर पठाइदिनुभयो । कार्कीले भेट्न नमानेपछि पुन आफूसँगै चिया पिएर फर्केको सुवेदीले सुनाए ।



