काठमाडाैं/ अनिश्चत महाधिवेशन, सदस्यता वितरणमा समस्या, तदर्थ समिति गठनमा ढिलाइ, भद्रगोल केन्द्रीय कार्यालय र ठप्प पार्टी गतिविधि । देशको तेस्रो ठूलो दल राजपाको आन्तरिक जीवन कसरी चलेको छ भन्ने हेर्ने ऐना हो । मधेसका चर्चित र पाका अनुहारसमेत नेतृत्वमा रहेको राजपा बाहिरबाट हेर्दा शक्तिशाली पार्टी देखिन्छ । तर, उसको आन्तरिक जीवन भने निकै भद्रगोल र लथालिंग छ । पार्टीको विधान छ, विधिअनुसार पार्टी चलेको छैन । संगठन छ, कार्यकर्ता परिचालनको योजना छैन । केन्द्रमा त आलोपालो विधिले नेतृत्व चलेको छ, तर तल्ला कमिटीमा भाँडभैलो छ ।

आलोपालो नेतृत्व छ, तर स्पष्ट नीति छैन । कहिले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ, कहिले सत्तारुढ दलसँग राष्ट्रियसभा चुनाव र दीर्घकालीन महŒवका राष्ट्रिय मुद्दामा छलफल गर्ने गरी सहमति गर्छ । द्विविधामा रहेको नेतृत्व पंक्तिमै पनि एकरूपता छैन ।

यी सबै विषयले उठाएको प्रश्न हो, के राजपालाई अध्यक्ष मण्डल फापेन ? पार्टी जीवन यसरी लथालिंग हुनुमा राजपाको अध्यक्ष मण्डलले काम गर्न नसक्नुलाई पनि पार्टीकै नेताहरूले जिम्मेवार ठान्न थालेका छन् । राजपा सहअध्यक्ष लक्ष्मणलाल कर्ण पार्टी एकीकरणका वेला नेता व्यवस्थापनका लागि बनाएको अध्यक्ष मण्डलको व्यवस्था प्रभावकारी नभएको स्वीकार गर्छन् । ‘हाम्रो सन्दर्भमा अध्यक्ष मण्डल फाफेनभन्दा हुन्छ,’ कर्णले नयाँ पत्रिकासँग भने ।

एकतापछि एकपटक मात्रै पार्टी केन्द्रीय समितिको बैठक बसेको छ । यतिसम्म कि पार्टीका पदाधिकारी नै अध्यक्ष मण्डलको कार्यशैली र कामकारबाहीप्रति असन्तुष्ट देखिन्छन् । राजपामा ६ सदस्यीय अध्यक्ष मण्डलसहित एक सय ३५ पदाधिकारी छन् ।

त्यसवेला महन्थ ठाकुर नेतृत्वको ‘तराई मधेस लोकतान्त्रिक पार्टी’, राजेन्द्र महतो नेतृत्वको ‘सदभावना पार्टी’, महेन्द्र यादव नेतृत्वको ‘तराई–मधेस सदभावना पार्टी’, शरदसिंह भण्डारी नेतृत्वको ‘राष्ट्रिय मधेस समाजवादी पार्टी’, अनिल झा नेतृत्वको ‘नेपाल सदभावना पार्टी’ र राजकिशोर यादव नेतृत्वको ‘मधेसी जनअधिकार फोरम गणतान्त्रिक’ मिलेर राजपा बनेको थियो ।

गत वैशाखमा बसेको पदाधिकारी बैठकमा अध्यक्ष मण्डलीय व्यवस्थाबाट पार्टी चल्नै नसक्ने अवस्था आएको मुद्दा उठ्यो । नतिजा–महाधिवेशनपछि एकल नेतृत्वमा जाने निर्णय भयो । विधान संशोधन प्रस्तावका लागि सहअध्यक्ष लक्ष्मणलाल कर्ण नेतृत्वमा समिति बन्यो । समितिले एकल नेतृत्वको व्यावस्थासहितको नयाँ विधान बनाएर अध्यक्ष मण्डललाई बुझाइसकेको छ । विधान महाधिवेशनपछि लागू हुने भनिएको छ, तर महाधिवेशनको कुनै टुंगो छैन ।

राजपा महासचिव एसपी सिंहको बुझाइमा अध्यक्ष मण्डलबाहेक कसैले चाहेर पनि पार्टीमा केही हुने अवस्था छैन । सिंहले भने, ‘निर्णयसम्बन्धी सम्पूर्ण अधिकार अध्यक्ष मण्डलमा छ । सचिवालय सदस्यसमेत अन्य कसैको चाहनामा पार्टीमा केही हुने अवस्था नै छैन ।’ महाधिवेशनबाट पार्टी एकल नेतृत्वमा नचलेसम्म पार्टी भद्रगोल तरिकाले चल्ने सिंहको आँकलन छ । ‘त्यसैले छिटो महाधिवेशनमा जानुको विकल्प छैन,’ उनले भने । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय