सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपालको आधिकारिक नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ । राजधानीमा ५ दिनदेखि जारी केन्द्रीय कमिटी बैठकले देशको आधिकारिक नक्सा जारी गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो ।

कालापानी, लिपुलेक लगायतका नेपाली भू–भाग समेटेर भारतले नक्सा जारी गरेपछि नेपालले पनि आफ्नो नक्सा जारी गर्नुपर्ने भनेर चौतर्फी माग हुँदै आएको छ । यसका साथै केन्द्रीय कमिटीका सबै सदस्यको सम्पत्ति छानबिनको जिम्मा अनुशासन आयोगलाई दिने निर्णय पनि बैठकले गरेको छ ।

महाधिवेशन तोकिएकै समय (२०७७ चैत २५-३०) मा गर्ने निर्णय पनि बैठकबाट भएको छ । स्थानीय तह, प्रदेश र संघ तीनै तहका सरकार सञ्चालनका लागि संयन्त्र बनाउने निर्णय समेत बैठकले गरेको केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले जानकारी दिए ।

यसअघि केन्द्रीय सदस्यहरूले उठाएका सबालको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका थिए । प्रचण्ड करीब डेढ घण्टा बोले । प्रचण्डले जवाफ दिएसँगै अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जनसहित सर्वसम्मतिले पारित भएको नेकपा प्रचार विभागका उपप्रमुख समेत रहेका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।

यस्तै महासचिवले पेश गरेको विधान संशोधन र सांगठनिक प्रस्ताव पनि पारित भएको छ । यससँगै सचिवालय सदस्य वामदेव गौतम पार्टीको उपाध्यक्षमा चयन भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय