विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागि हुने पक्का भएको छ । सोमबार (आजै) साँझ साढे ५ बजेपछि सपथ ग्रहण गराइने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
गच्छदार उपप्रधान तथा स्थानीय विकासमन्त्रीको सपथ ग्रहण गर्दै छन् । यस्तै, संस्कृति पर्यटन मन्त्रालय र भूमि–सुधार मन्त्रालय लोकतान्त्रिक फोरमको भागमा परेको छ । यस्तै, ३ राज्यमन्त्री समेत लोकतान्त्रिक फोरमले पाउँदैछ । यसअघि कमल थापा नेतृत्वको राप्रपाले पाएका मन्त्रालयहरु गच्दारले पाएका छन् ।
दुई मन्त्री र राज्यमन्त्री को बन्ने भन्ने विषय टुंगो लगाउन बैठक बसेको संसदीय दलका प्रमुख सचेतक योगेन्द्र चौधरीले जानकारी दिए ।
सरकारमा सहभागि हुने विषयमा विभिन्न चरणमा छलफल भएपछि बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले अध्यक्ष गच्छदारको नेतृत्वमा सरकारमा सहभागि हुने निर्णय गरेको प्रमुख सचेतक चौधरीले जानकारी दिए ।
कमल थापाको राप्रपा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको सनकमा सरकारबाट बाहिरिएको थियो ।



