काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको ७० करोड सेटिङकाण्डमा प्रधानमन्त्रीको संलग्नताको आशंका व्यक्त गरेका छन्।
सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिशन मागेको अडियो टेप सार्वजनिक भएलगत्तै क्यानडा नेपालमार्फत प्रसारण हुने कार्यक्रम राष्ट्रको सवालमा गरिएको अन्तर्वार्तामा प्रवक्ता शर्माले बाँस्कोटाको सेटिङकाण्डमा प्रधानमन्त्री केपी ओलीको संलग्नता हुनसक्ने आशय प्रकट गरेका हुन्।
प्रवक्ता शर्माले ७० करोड सेटिङ प्रकरणमा प्रधानमन्त्रीको नियतमाथि पनि शंका गरेका छन्। ‘७० करोड मागिएको भनिएको त ‘डन’ (सम्पन्न) नभएको डिलको कुरा हो, यसमा त स्वीस एजेन्टसँग संवाद हुँदै रहेछ त्यो चाहिँ नभएर सरकार फ्रान्सतिर फ्रान्सबाट जर्मनीतिर गर्दै यो चाहिँ डन नभएको डिलको डायलग हो, टेलिफोनको संवाद त डेढ वर्ष अगाडिको रहेछ, तर डन हुने प्रोसेसमा अरु पनि केही संवादहरु त भएका होलान् जुन कुरा त आएको छैनन्,’ प्रवक्ता शर्माले भने।
शर्माले यो छानवीनको प्रक्रिया अन्त्य नभएर शुरुवात भएको धारणा राखे। ‘७० करोडवाला डायलग त सुनिएको भयो, नसुनिएको त अझै पनि रेकर्डहरु आउन बाँकी होला, अथवा कतै रेकर्ड नभएको तर नसुनिएको ढंगबाट डिल भएको होला,’ प्रवक्ता शर्माको आशंका छ।
बाँस्कोटाले कुनै आधार बिना यति ठूलो अनियमितताको ‘डिल’ गर्नै नसक्ने शर्माको टिप्पणी छ। ‘प्रश्न बाँस्कोटाजीको मात्रै होइन हामी भनेर उहाँले भन्दै गर्दा हामी भन्नेको पछाडितिरको बोस चाहिँ को हुन्?,’ उनले भने, ‘यस विषयमा खोजी पनि अब बाहिर आउनुपर्ने भएको छ।’
आशंकाको सुईं प्रधानमन्त्री केपी ओली र बालुवाटारतिरै जाने उल्लेख गर्दै प्रवक्ता शर्माले भने, ‘अडियो प्रकरण बाहिर आउनुअघि आफूले सुन्नुहुन्छ, सुनेपछि प्रक्रियामा जानुहुन्न तुलोमा जोख्नुहुन्छ, त्यसपछाडि सारा संसार स्वदेश र विदेशमा रहेका आमनेपालीले सुनिसक्छन्, अडियो सुनिसकेपछि पनि भ्रष्टाचारीको मुख हेर्दिनँ भन्नु हुने प्रधानमन्त्रीजीकै घरमा उहाँले बास पाइरहनुहुन्छ, अनि अख्तियारदेखि लिएर अरु छानवीन गर्ने निकायहरुलाई अलिकति शिवरात्रि लाग्छ, अलिकति शनिबार लाग्छ, अनुसन्धान प्रक्रियामा ढिलाई हुन्छ।’
बाँस्कोटामाथि अनुसन्धान प्रक्रिया थाल्नुपर्ने बताउँदै शर्माले प्रमाण नष्ट गर्नु अघि नै अनुसन्धान प्रक्रिया शुरू गर्न आग्रह गरे। ‘के प्रमाण नष्ट गर्नका लागि समय दिन खोजिएको हो? होइन भने ढिलाई किन र उहाँले भनेको हामी भन्ने भित्र को–को पर्छन्? सम्माननीय प्रधानमन्त्रीज्यूले राष्ट्रलाई स्पष्ट गर्नुपर्दैन र?,’ शर्माको प्रश्न छ।
प्रवक्ता शर्माले सञ्चारमन्त्रीले राजीनामा दिएर मात्रै नपुग्ने बताएका छन्। दृश्यमा आएका बाहेक यसका पछाडि अरू को–को थिए भन्ने विषयमा छानवीन हुनुपर्ने बताउँदै राजनीतिक आग्रह, पूर्वाग्रह नराखी छानवीन गरिनुपर्नेमा जोड दिए।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद यो सरकारले रद्द गरेको भनिए पनि यसमा ठूलो रकमको घोटाला हुनसक्ने भन्ने गहिरो अनुसन्धान गर्नु जरुरी रहेको शर्माले बताए।
नेपथ्यमा को–को छन्, छानवीन होस्ः कांग्रेस
नेपाली कांग्रेसले यस प्रकरणमा सञ्चारमन्त्रीको मात्र संलग्नता थियो कि अन्य पनि यसमा संलग्न थिए भन्दै प्रश्न उठाएको छ। पार्टीले यसमा सञ्चारमन्त्रीको व्यक्तिगत सम्बन्ध रहेको वा संस्थागत संलग्नता रहेको टिप्पणी गर्दै प्रश्न उठाएको हो।
‘प्रधानमन्त्रीय प्रणालीमा भएका सबै कुरा अन्तिममा पुग्ने प्रधानमन्त्रीको टेबलमा नै हो, यसमा अन्य क–कसको संलग्नता थियो त्यसबारे छानवीन हुन जरुरी छ,’ प्रवक्ता शमाले भने, ‘दृश्यमा आएको बाहेक पछाडिमा को–को संलग्न थिए, यसबारे निष्पक्ष छानवीन गरिनुपर्छ।’
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मासँग क्यानडा नेपालको कार्यक्रम राष्ट्रको सवालका लागि ऋषि थपलियाले गरेको अन्तर्वार्ताः क्यानेडा नेपाल बाट साभार
https://youtu.be/_Zgl-RYiaSY









