नयाँ दिल्ली । कोरोनाभाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाल र भारतमा ‘लकडाउन’ गरिएको छ । दुवै मुलुकका नागरिक एक अर्काको देशमा रोजगारीका सिलसिलामा रहने गरेका कारण पनि ‘लकडाउन’ले त्यस्ता नागरिकलाई आफ्नो मुलुक तथा घर फर्कन असुविधा भएको छ ।
भारतीय समाचार च्यानल ‘एबीपी न्यूज’ का अनुसार लकडाउनका क्रममा केही नेपाली नयाँ दिल्लीमा फसेका छन् । मुम्बइमा काम गर्र्दैै आएका ती नेपाली नयाँ दिल्लीमा आइपुगेपछि ‘लकडाउन’ का कारण रोकिएका हुन् ।
दीपक नाम गरेका नेपालीले एबीपी न्यूजसँग भनेका छन्, ‘हामी मुम्बईबाट हिँड्दा सबै ठिकै थियो, रेल चलिरहेको थियो, पुग्छौँ होला भन्ने सोचेर हिँडियो, दिल्ली आइपुग्दा रेल, बस सबै रोकियो ।’
आफूहरुको समूहमा डेढ महिनाको एक बच्चासहित सुत्केरी महिला पनि रहेको उनले सुनाए । सुरुमा रानीबागस्थित एक होटलमा बसेका उनीहरुलाई होटलवालाले पनि निकालिदिएका छन् । ‘यस्तो अवस्थामा सडकमा बसेर पनि साध्य छैन,’ उनले भने ।
एबीपी न्यूज च्यानलका अनुसार उनीहरु दिल्लीबाट नेपाल जान भनेर पैदल नै हिँडेका छन् ।
एबीपी न्यूजले आफ्नो अनलाइन पोर्टलमा लेखेको छ, ‘हामी भारत सरकारलाई अपिल गर्दछौँ कि चाँडोभन्दा चाँडो यिनीहरुका लागि कुनै विकल्प खोजियोस्, उनीहरुलाई आफ्नो देश नेपाल सुरक्षित रुपमा फर्काइयोस्, यस्तो महामारीको अवस्थामा उनीहरु सडकमा हिँडेर आफ्नो ज्यान जोखिममा नपारुन् र अरुका लागि पनि खतरा नबनुन् ।’
https://www.facebook.com/153808061303123/videos/685093132301990









