
दमक, १४ बैशाख–झापाको दमकमा कोरोना सङ्क्रमित भेटिएको दुई दिन नबित्दै बाह्रदशीमा अर्को कोरोना सङ्क्रमित फेला परेका छन् । झापाको बाह्रदशीमा मुस्लिम समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको हो । झापामा भेटिएको यो दोस्रो केस हो । गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसिरहेका उनी पुरुष हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ५० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा उनी कोरोना सङ्क्रमित भएको पुष्टि भएको छ । कोरोना संक्रमण भएका व्यक्ति अहिले अस्पतालको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए ।
यी नयाँ संक्रमित झापाको राजगढ निवासी जमाती हुन् । उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि, १२ वैशाखमा दमकका ६२ वर्षीय पुरुषमा सङ्क्रमण भेटिएको थियो । झापामा थप एक जनालाई कोरोना संक्रमण देखिएसँगै नेपालमा कूल संक्रमितको संख्या ५२ पुगेको छ ।
नेपालमा कोरोना संक्रमण पुष्टि भएकामध्ये १६ जना उपचारपछि घर फर्किएका छन् । आइतबार मात्रै पर्साको वीरगञ्जमा २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।



